सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
एकादेशमा एउटा फर्सी थियो। उसको साथी बिरालो थियो। एक पटक बिरालो केही दिन घुम्न गएको थियो। त्यही मौका छोपेर एक मुसा फर्सी नजिक आएर भन्यो, 'ए फर्सी भाइ मलाई भोक लागेको छ। म तिमीलाई खान्छु।'
अनि फर्सीले भन्यो, 'म अहिले साह्रै सानो छु। त्यही भएर अहिले नखाऊ।'
तर मुसाले भन्याे, 'होइन मलाई त धेरै नै भोक लागेको छ। केही न केही त खानै पर्छ। त्यही भएर तिमीलाई मैले जसरी पनि खान्छु।'
अनि फर्सीले जुक्ति निकाल्यो र भन्यो, 'मलाई अहिले नखाऊ म सानो छु। ठूलो भएपछि खाउला। अहिले तिमी मलाई खाएर पनि अघाउन्नाै। दुई हप्तापछि आऊ, अनि मलाई खाउला।'
मुसा 'हुन्छ' भनेर दुलाभित्र पस्यो।
फर्सीको मनमा भने कुरा खेल्न थाल्यो। अब के गर्ने होला भनेर मनमनै सोचेर बस्यो। दुई हप्तापछि मुसा आयो। त्यतिखेर फर्सी ठूलो भएको थियो।
अनि मुसाले फर्सीलाई ठूलो भएको देखेर भन्यो, 'ए फर्सी दाइ म त अस्ति नै सल्लाह भएअनुसार तपाईंलाई खान आएको हो। म अब खान्छु।'
फर्सीले भन्याे, 'तिमी मलाई खाने मुसा होइन। मलाई खाने मुसाले फर्सी भाइ भनेको थियो। तिमीले मलाई दाइ भन्यौ। त्यसैले मलाई तिमीले खाने होइन। म त त्यही पहिलेको मुसा दाइलाई खान दिने हो।'
यो कुरा सुनेर मुसाले रिसाउँदै भन्याे, 'म त जसरी पनि खान्छु। म त्याे बेलादेखि भोकै छु। म त्यही मुसा हो।' यसो भनेर फर्सीलाई टोक्न थाल्याे। ठ्याक्कै फर्सीको साथी बिरालो आइपुग्यो अनि मुसा तर्सियो।
बिरालोले सोध्यो, 'के नाटक हाे? के भयो फर्सी साथी तिमीलाई भन मलाई।'
अनि फर्सीले सबै कुरा बतायो। मुसा भाग्यो। बिरालो दौडेर मुसा समात्यो र फर्सीको अगाडि ल्याएर खाइदियो।
फर्सी खुसी भयो र बिरालाेलाई धन्यवाद दियो।
बिरालोले पनि मुसाबाट बच्न फर्सीले लगाएको जुक्तिको लागि धन्यवाद दियो।
(रूबस पराजुली जि.एस निकेतन स्कुल हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)