सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नेपाली कथा र उपन्यास पढ्ने रूचि र रहरले धेरै पुस्तकहरू साथी बने। कोरोनाका कारण भएको बन्दले घरमा बस्दा किताब पढ्ने रहर पूरा गर्न गाउँमा सजिलो छैन। नयाँ पुस्तकहरू त पाइँदैनन्, पुराना पुस्तक लिन पनि विद्यालय बन्द भएकाले असम्भव छ। यस्तो बेलामा घरमै भएका किताबहरूमध्ये कुनै किताब छान्नु नै एउटा मात्र विकल्प हुन्छ।
बन्दको समय सदुपयोग गर्न मैले २ वर्ष अगाडि पढिसकेको अमर न्यौपानेको 'करोडौं कस्तुरी' रोजेँ। यो उपन्यास पिएचडी गरेका डा. हरिवंशको कथा हो जो आफ्नो रंगमञ्चमा जिउने इच्छा मारेर डाक्टर बनेका थिए। पृथ्वीलोकको हरिवंशको बाल्यकालमा थोरै चकचके बानीले गर्दा मनोलोकको हरिवंशको पूरा तस्बिर तयार हुन्छ।
परिवेश उस्तै मात्र नभई एउटै थियो डाक्टर हरिवंश र कलाकार हरिवंशको बाल्यकालमा। तर आफ्नो विशेष गुण र क्षमता बुझ्न सक्नु र नसक्नुले उनीहरूलाई जीवनमा असफल डाक्टर र सफल कलाकारमा छुट्याइदियो। मनोलोकमा त्यही हरिवंशले जति नै पशुत्व देखाए पनि आफ्नो बुवाको डाक्टर बनाउने सपना पूरा गर्यो र ऊ आफूलाई पशुत्वबाट महानतातर्फ रूपान्तरण गरेको सम्झियो।
सत्य भने अर्कै थियो। सत्य यस्तो थियो कि उसलाई लागेको पशुत्व पशुत्व थिएन। त्यो त सामान्य मानवजन्य गुण र विशेषता थियो। अहिले उसले सोचेको महानता आफ्ना इच्छाहरूको अवसान थियो। रहरहरूको अन्त्य थियो। ऊ त्यही करौडौं कस्तुरीहरूमध्ये एक थियो जो आफ्नै नाभीबाट आएको सुगन्ध थाहा नपाएर सुगन्धको स्रोतको खोजीमा भौंतारिइरहेको थियो।
न त उसले बाल्यावस्थामा आमाबुवाको भरोसा जित्न सक्यो, न किशोरावस्थामा पारूको माया चिन्न सक्यो। न जवानीमा रूपालाई सहारा दिन सक्यो, न बुढेसकालमा पत्नी र सन्तानलाई खुसी नै दिन सक्यो। रंगमञ्चमा जिउन जन्मेको मान्छेले रंगमञ्चमा जाने वातावरण नपाएपछि उसको जीन्दगी नै रंगमञ्च भन्दा हास्यास्पद निस्क्यो। यो मात्र एक हरिवंशको कथा होइन्। यस्ता कैयौं हरिवंशहरू छन्, जो आफ्नो सीप र क्षमता पहिचान गर्न नसकेकाले जीवनको परीक्षामा असफल भएका छन्।
त्यति मात्र होइन, अहिलेको समयमा सम्पूर्ण बालबालिकाहरू विद्यालय जान्छन् र उनीहरूको क्षमता पहिचान गर्ने जिम्मेवारी विद्यालय एवं अभिभावकको हुन्छ। कुनै कारणवश उनीहरूको क्षमता भएन भने उनीहरूको जीवन पनि त्यही कस्तुरीहरू बराबर हुन्छ।
त्यसकारण जिउनका लागि आफ्नो सुगन्धको स्रोत आफैं हुँ भन्ने कुराको पहिचान अत्यावश्यक हुन्छ भन्ने कुरा यस उपन्यासले हामीलाई सिकाउँछ। त्यसैले यो उपन्यासमा रमाइलै ढंगले हाम्रो शिक्षा प्रणालीको तितो सत्यलाई प्रस्तुत गरिएको छ।
यो उपन्यासका उपन्यासकारलाई हार्दिक धन्यवाद दिँदै सबैलाई एक पटक पढ्नसमेत अनुरोध गर्छु।
(संकल्प भट्ट सेक्रेड हार्ट मा.वि तारकेश्वर, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)