सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनभन्दा केही समयअघि स्कुल बिदा भएको बेला गोरखा जाने मौका पाइयो। गोरखाबाट फर्केर आउँदा बाबाममीसँग चितवन जाने सल्लाह थियो। अहिलेको जस्तो कोरोनाको हल्ला पनि थिएन।
चीनमा कोरोना देखिएको छ र फैलँदैछ भनेर समाचारमा चाहिं आउन थालेको थियो। गोरखाबाट फर्केर मुगलिन आएपछि चितवनको बाटो छुट्टिने रहेछ। सुन्तला अलिकति किनेर हामी चितवनतिर लाग्यौं। देवघाट पनि गयौं। त्यहाँ खोलाहरू मिल्ने रहेछन्। मन्दिर पनि रहेछ। धेरै मानिसहरू त्यहाँ जाने रहेछन्। बेलुका बस्न भने सौराहाको मोनालिसा होटल पुग्यौं। यो होटल पनि मज्जाकै रहेछ।
सौराहा मैले इन्टरनेटमा मात्र हेरेको थिएँ। आफ्नै आँखाले हेर्दा फरक लाग्याे। राति सौराहा पुग्दा झिलिमिली बत्ती बलिरहेको थियो। काठमाडौंको ठमेल बजार जाँदा जस्तै लाग्यो। विभिन्न पसल,गिफ्टसप, र रेष्टुरेण्टहरू बाटैभरी थिए। हामी खाना खाएर होटलमा बस्यौं। होटलमा रात कटाएर बिहानै चितवन राष्ट्रिय निकुञ्जतिर लाग्यौं।
चितवनमा हात्ती चढ्न ज्यादै मन थियो। बिहान ७ बजेको समय मिल्यो। अलिअलि शितलहर पनि थियो। म फुच्चे मान्छे, एउटा सानो उमेरको हात्ती फेला पर्यो। अरू सबै हात्तीमा चार जना चढ्थे, यसमा भने तीनजना मात्रै। तर हात्ती बलियो रहेछ।
हात्ती चढेर हिँड्नासाथ हात्ती चलाउने माउते दाइसँग कुरा पनि भयो। उनी थारू जातिका मानिस थिए। हात्तीको नाम पनि उनैले राखेका रहेछन्। उनी राम्रा मान्छे थिए। हात्तीको नाम सेल्फी थियो। माउतेले भने अनुसार नेपालमा सेल्फी स्टीक भर्खर आएको थियो। त्यसैका नाममा हात्तीको नाम पनि राखिएको हो। सेल्फीको उमेर १४ वर्षको थियो। यसरी मानिस बोक्न थालेको चार वर्ष जति मात्र भयो रे।
माउते दाइका परिवार यहाँबाट टाढा बस्थे। उनी महिनाको दस हजार जति कमाउने रहेछन्। कसै कसैले टिप्स पनि दिन्छन् रे। हात्ती सवारी एउटा खोला तरेर सुरू हुने रहेछ। बच्चा हात्ती भए पनि यो छिटो हिँडन खोज्ने रहेछ। दाम्लाको लौराले कतिबेर माउते दाइले तर्साउने पनि रहेछन्। जंगलमा माउते दाइसँग हिँड्दा रमाइलो भयो। जनावर देखेपछि माउते दाइ औंला देखाइहाल्थे। वनजंगल आफैं रमाइलो थियो। काठमाडौंमा गाडीका लस्कर देख्दा दिक्क लागेको थियो। जंगल देख्दा रमाइलो त हुने नै भयो।
त्यसमाथि यो जंगलमा त मयुर, मृग, बाँदर, बँदेल, ढेडु, स्याल, हरिणसमेत देखिएका थिए। माउते दाइले जंगलका धेरै ठाउँमा गैंडा देखाउने प्रयास गरे। उनको प्रयास सफल हुन भने सकेन। मनमनै सोचेँ, अर्को पटक गैंडा हेर्न भनेर फेरि चितवन आउनुपर्ला।
चितवनबाट फर्केको निकै समय भयो । तर, यो ठाउँको आनन्द भुलेको छैन। लकडाउनको बेला माउते दाइ, सेल्फी हात्तीको पनि याद आइरहेको छ। सेल्फी हात्तीसँगको एक घण्टा एकदमै रमाइलो रह्यो।
अहिले त होटलहरू पनि बन्द नै छन् होला। हात्तीहरू पनि आराम नै गरेर बसेका होलान्। अर्कोपटक मौका मिल्यो भने माउते दाइ र सेल्फी हात्तीलाई भेट्न पाए हुन्थ्यो।
(अनन्य खड्का राजर्षि गुरूकुल सल्लाघारी, भक्तपुरमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)