सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आफू जन्मेको देश सबैलाई प्यारो लाग्छ। आफ्नो जन्मस्थल अरूभन्दा विशेष लाग्छ। मलाई म जन्मेको रूकुम औधी मन पर्छ। वरिपरि हरिया पहाडले घेरिएको छ रुकुम मुसिकोट।
मुसिकोट नजिकै पर्छ मेरो गाउँ। अति सुन्दर छ मेरो गाउँ। धूलोधुँवा र फोहोरभन्दा टाढा छ मेरो ठाउँ। बेसीमा सानीभेरी सुसाउँदै बगिरहेकी छन्। बांगोटिंगो, नागबेली भएर बगेकी सानी भेरी टाढाबाट हेर्दा पनि सुन्दर देखिन्छिन्।
माथि डाँडाको शिरमा डिग्रे मन्दिर छ। डाँडापाखा हाम्रै लागि मुस्कुराए जस्तो लाग्छ। कलकल बगिरहने घर नजिकैका खोलाको आवाज मिठो लाग्छ। आजभोलि त गाडीबाट नै घरमा पुग्न सकिन्छ। एयरपोर्ट पनि नजिकै छ। स्वच्छ हावामा आफ्नो कपाल उडाउँदै दौडन मलाई मजा लाग्छ। साँझपख चराहरूको चिरबिर आवाज सुन्न आनन्द आउँछ।
म गाउँ पुग्दा हजुरबा हजुरमा कति खुसी देखिनुहुन्छ। उहाँहरूको मायाले झन् खुसी बढ्छ। खुरूरू दौडेर वल्लो घरबाट पल्लो घर जानुको मजा नै छुट्टै हुन्छ। घरमा भैंसी लगायत वस्तुभाउ छन्। मेरो गाउँका प्रायः सबै घरमा भैंसी, बाख्रा, गोरू छन्। ठूलो बाबाको घरमा त तीसवटा भन्दा बढी गाईभैंसी छन्। हजुरमाले बनाउनु भएको दही र मोही साह्रै मीठो लाग्छ।
दसैंमा हामी जाँदा धान झुलिरहेका हुन्छन्। धानका बालाहरू हावामा हल्लिँदा म आएको खुसीमा नाचे जस्तो लाग्छ। धानबारीमा जान मन लाग्छ तर धानको पातहरूले हातहरू कोर्ने। गाउँका मान्छेहरू मलाई साह्रै सहयोगी लाग्छ। सबै सँगसँगै मिलेर काम गरिरहनु भएको हुन्छ। बिहान उठेर घाँस काट्न सँगै जानु हुन्छ। गाउँघरमा केही समस्या भए पनि सबै मिलेर समाधान गर्नुहुन्छ। एक अर्काको सुख दुःखमा साथ दिइरहनुभएको हुन्छ।
गाउँघर ममता र सहयोगको खानी जस्तो लाग्छ। सबैतिर खुसी छाएको हुन्छ। सहर बन्द कोठा जस्तो लाग्छ र सासै फेर्न गाह्रो भए जस्तो हुन्छ। गाउँको त्यो खुला वातावरण साँच्चिकै लोभलाग्दो छ। गाउँमा खाद्यान्न आफैं उत्पादन गर्नुहुन्छ। दूध, दही, तरकारी, खाद्यान्न केही किन्न पर्दैन। गाउँबाट कति मान्छे त बिहान आफ्नो उत्पादन बेच्न बजार जानुहुन्छ।
गाउँमा खनजोत धान रोपाई गर्दा एकअर्कालाई सहयोग गर्ने चलन छ। म अलि सानो हुँदा धान रोप्न गएकी थिएँ। हिलो फाल्दै रोप्न मजा लागेको थियो। हजुरमाले मलाई सानो हसिँया बनाइदिनु भएको थियो र सानो डोको पनि। ति सबैको याद आइरहन्छ। भाइबहिनीसँग खेल्दा समय गएको थाहै हुँदैन। गाली पनि कसैले नगर्ने। बाबाममीले गाली गरे हजुरबा हजुरमा मेरो पक्ष लिनुहुन्छ। नुहाउन नजिकै रहेका पानीका मुहानमा जाने हो। मुहानको पानी तातो हुन्छ। पानी किन्नु पनि नपर्ने। पानी लगातार बगिरहेको छ।
सानीभेरी नदीमा झोलुंगे फलामको पुलमा उभिन मन लाग्छ। पुलको बीचमा उभिएर बगिरहेको निलो पानी हेर्न मजा आउने। निलो पानीमा सेता छाल दौडिरहने। बालुवामा टेकेर आफ्नो खुट्टाको चिह्न बनाउन सकिने। सानीभेरीमा जाल हानेर माछा पनि मार्छन्। माछिमीको फाँट अझ सुन्दर देखिन्छ। गाउँबाट फर्किदा चाहिँ नरमाइलो लाग्छ। हजुरबा हजुरमाका आँखामा आँशु हुन्छ। अंगालाे राख्नुहुन्छ। छिटो आउनु है भनिरहनु हुन्छ।
आँखा वरिपरि आइरहन्छ यति धेरै माया गर्ने मान्छे र प्यारो ठाउँ। मेरो गाउँ अनि ठाउँ सम्झिँदा पनि मन साह्रै खुसी हुन्छ। मेरो गाउँ विकास गर्न योगदान पुर्याउने सपना छ मेरो। गाउँकाे मुहारमा मुस्कान ल्याउन थोरै भए पनि केही गर्न सक्ने सपना छ मेरो।
सबै सुविधा गाउँमा भए सहर आउने रहर कसैको हुँदैन होला। म स्कुलमा हुँदा पनि गाउँ सम्झिरहेकी हुन्छु। म पढिरहेको स्कुलमा खोला जंगल मन्दिर उकालो ओरालो सबै छ। हामी विभिन्न जिल्लाका गाउँबाट आएका पनि धेरै छौं। साथीहरू बीच गाउँको कुरा भइहरहन्छ।
कहिलेकाहीँ गाउँकै लवजमा कुरा हुन्छ। नाचगानहरू गाउँको जस्तै हुन्छ। मेरो स्कुलले गाउँको सम्झना अझ नजिक गराइदिए जस्तो लाग्छ।
(सनम के.सी बुढानिलकण्ठ स्कुल नारायणथान, काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)