सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सुदिन पौडेल हो। म मोरङ जिल्लाको बुढीगंगामा बस्छु। मेरो विद्यालयको नाम बाल कल्याण विद्या मन्दिर हो। कक्षा ७ मा पढ्छु।
चैतमा म परीक्षा सकेर मामाघर ओखलढुंगा आएको थिएँ। तर, कोरोनाको कारण देशभर लकडाउन सुरू भइहाल्यो। म पनि मामाघरमा नै छु। यति लामो समयसम्म गाउँमा कहिल्यै पनि बसेको थिइनँ। मानिसहरू घरबाट बाहिर निस्किन पाएका छैनन्। खै के हुने हो? कोरोना संक्रमित एकदम धेरै भइसके। २ महिनादेखि विद्यालय पनि लागेको छैन। साथीभाइसँग भेट भएको छैन। मलाई त धेरै डर लागेको छ।
अहिले म भएको ठाउँ पूरै गाउँ हो। मामाघरको वरिपरि मकैका बोटहरू र ठूला ठूला रूखहरू छन्। मलाई त सहरभन्दा गाउँका मानिस राम्रो लाग्न थालेको छ। उनीहरू मीठोसँग बोल्छन्। एकअर्कालाई देख्ने बित्तिकै कुरा गर्छन्। दुःखसुख साटासाट गर्छन्। परेको बेला सहयोग गर्छन्। यहाँ तरकारी किन्न पसल जानु पर्दैन।
यहाँ त विराटनगरमा जस्तो मानिसहरू बसेर चिया चुरोट खाने ठाउँ पनि छैन। थोरै मात्र गाडी चल्छन्। पसलमा भीडभाड पनि हुँदैन।
लकडाउनमा मामाघरमा बसेर मैले धेरै कुरा सिक्ने मौका पाएँ। अचेल म हजुरआमा, आमा, मामामाइजुसँग घाँस काट्न जान्छु। कचिँयाले घाँस काट्दा हातमा अलिअलि घाउ पनि भयो। वनमाराको पात निचोरेर लाउँदा निको भयो। गाउँमा धेरै जडीबुटी हुने रहेछन्। सबै उपचारको लागि औषधी पसलकै औषधि नचाहिने रहेछ। मैले घाँसलाई डोरीले बाँधेर मुठा पार्न र त्यसलाई नाम्लोमा लाएर ढाडमा बोक्न सिकेँ। सुरूसुरूमा त भारी बोकेर कान्लामा जाँदा लडेँ पनि। तर अहिले बानी पर्न थालेको छ।
म हलो जोत्न पनि सिक्दैछु। मलाई हलो समाउन त कत्ति गाह्रो भयो। झन् त्यो हलो तान्ने गोरूलाई कत्ति दुख्छ होला। मलाई नरमाइलो पनि लाग्यो। हलीले हलो चलाउँदै गर्दा मैले पछि पछि हिँडेर मकै रोप्न सिकेँ। बारीमा रोपेको मकै त केही दिनमा टुसा पलायो। अहिले बिस्तारै ठूलो हुँदैछ। मैले मकै गोड्न पनि सिकेँ। भैँसीको दूधबाट दही र मोही बनेको देखेँ। मदानीबाट मोही पनि जानी नजानी पारेँ। गोठकै छेउमा खाल्डो खनेर मल बनाएको देखेँ।
मैले पानी राख्ने घैला पनि बनाउन सिकेको छु। हिलो माटोमा धान रोप्न पनि सिकेँ। मैले वरिपरि भएका अन्नबालीको हेरविचार गर्न सिकेको छु। मेरो एउटा सानो भाइ छ। भाइलाई हुर्काउन बाबाआमाले हरेक दिन कति धेरै मिहेनेत गर्नु पर्छ। त्यस्तैगरी अन्न फलाउन पनि किसानले त्यस्तै गरी परिश्रम गर्नु पर्ने रहेछ।
अचेल बारीमा खेलेर, उफ्रेर, खेतबारी र घरमा काम गरेर मैले धेरै कुरा सिकेको छु। यी कुरा मैले विद्यालयमा सिक्न पाएको थिइन। नेपाल कृषि प्रधान देश भनेर पढेको त थिएँ तर गाउँमा कृषि कसरी हुँदो रहेछ भनेर बल्ल थाहा पाएँ। मलाई त यस्तो लाग्न थालेको छ, हरेक वर्ष यसैगरी केही समय गाउँमा बसेर खेल्न र काम गर्न पाए कति रमाइलो हुन्थ्यो होला र कति धेरै सिकिन्थ्यो होला।
(सुदिन पौडेल बाल कल्याण विद्या मन्दिर, मोरङमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)