सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनले मेरो दैनिकी नै फेरियो। सधैंजसो म ६ः३० बजे उठिसक्नु पर्थ्यो। अहिले १० बजेसम्म सुत्छु। अहिले स्कुल जानु नपर्ने भएकाले मलाई बाबाममीले पनि किन ढिला उठेको भनेर भन्नुहुन्न। अहिले मेरो अनलाइन कक्षा पनि सुरू भएको छ। ११ बजेदेखि १ बजेसम्म सरम्याडमले पढाउनुहुन्छ।
पहिला मलाई स्कुल जान पनि हतार हुन्थ्यो। ममीले हतार–हतारमा खाजा बनाएर टिफिन बनाइदिनुहुन्थ्यो। अहिले घरमा बसेर हामी सबैजना मिलेर मःम, जेरी, पिज्जा र अरू धेरै परिकार पकाउँछौं र खान्छौं। म पनि पकाउनमा सहयोग गर्छु। एकपटक त म आफैंले पनि जेरी पकाउन सिकेँ र लकडाउनकाे समयमा धेरै कुरा सिकिसकेको छु। यसो गर्दा मलाई धेरै रमाइलो लाग्छ। मेरो दिदीले पनि धेरै माया गर्नुहुन्छ, मलाई थाहै नदिई पसलबाट खाने कुराहरू ल्याइदिनुहुन्छ।
म भर्खरै ४ कक्षाबाट ५ कक्षामा गएको हुँ। त्यसैले मसँग ५ कक्षाको किताब छैन। धेरैजसो मोबाइल हेर्छु, गेम खेल्छु र युटुबमा नयाँ कुराहरू हेरेर ममीबाबा र दिदीलाई देखाउँछु। मलाई लुडो खेल्न असाध्यै मन पर्छ। बल्लतल्ल घरमा सबैजनालाई सहभागी गराएर लुडो खेल्न पाउँदा ठूलो कुरा जिते जस्तो लाग्छ।
म धेरै टिकटक पनि बनाउँछु। मेरो टिकटकमा पहिलेभन्दा अहिले धेरै लाइक आउँछ। लकडाउनको सुरूमा त ब्याडमिन्टन पनि धेरै खेलेँ। केही दिनमा ब्याडमिन्टन भाँचिएपछि म दुःखी पनि भएँ। पसलहरू बन्द भएकाले नयाँ किन्न पनि पाइएन।
अहिले म निकै खुसी छु किनकी सरम्यामले जुम एपबाट पढाउनुहुन्छ। मेरो नयाँ कक्षा शिक्षकको नाम पुष्पा अर्याल हो। पुष्पा अर्याल र पुष्पा शाह म्याम निकै दयालु तर कडा हुनुहुन्छ। अनलाइनबाट पढ्न र होमवर्क गर्न पाए पनि स्कुलमै गएर म्याम र साथीहरूलाई भेट्न नपाउँदा धेरै दुःख लागेको छ।
मेरा साथीहरू जोए र र्यान्सलाई भेट्न धेरै मन लागेको छ। अब छिट्टै लकडाउन खुलेर स्कुल जान पाए साथीलाई भेट्न पाए हुन्थ्याे जस्तो लाग्छ।
(प्रबन्ध पौडेल मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटार, काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)