सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वमा कोरोना भाइरस फैलिएका कारण अधिकांश सहरमा लकडाउन छ। एक ठाउँबाट अर्को ठाउँ नजाने, कलकारखाना बन्द गर्ने आदिलाई लकडाउन भनिएको छ। लकडाउनका कारण मानिसहरू घरभित्र बसिरहेका छन्। मानिसहरूले आ-आफ्नो काम गर्न पाएका छैनन्। ज्याला मजदुरी गर्नेले काम पाएका छैनन्।
हामी जस्ता बालबच्चाले स्कुल गएर पढ्न पाएका छैनौं। स्वतन्त्र रूपले हिँडडुल गर्न र छिमेकका साथीहरूसँग पनि खेल्न पाएका छैनौं।
काठमाडाैंमा बस्ने मेरी ठूलीआमाका छोराछोरीले लकडाउनका बेला भए पनि अनलाइनबाट पाठ पढ्न थालेका छन् रे। म पोखराको लामाचौरमा बस्छु। हाम्रो गण्डकी बोर्डिङ स्कुले अहिलेसम्म अनलाइन कक्षा सुरू गरेको छैन। त्यसैले छ कक्षाको जाँच दिएर बसेको साढे दुई महिनाजति भए पनि स्कुल पढ्न जान पाइएको छैन। घर कम्पाउण्डभित्रै बस्नुपरिरहेको छ।
यस्तो बेला मलाई पनि इन्टरनेट साथी जस्तो भएको छ। आजभोलि धेरैको घरमा इन्टरनेटको सुविधा छ। मानिसहरूले घर बस्दा इन्टरनेटको प्रयोग गरिरहेका छन्। विद्यालय जान नपाए पनि इन्टरनेटका कारण अनलाइन कक्षाद्वारा पढ्न पाएका छन्।
छ कक्षाको जाँच दिनेबेलासम्म मैले आमाको फेसबुक कहिलेकहिले हेर्थेँ। अहिले लकडाउनका कारण अलि बढी हेर्न थालेकी छु। इन्टरनेटमा गीत पनि सुन्न पाइन्छ। भिडिओ पनि हेर्न पाइन्छ। समाचार पनि सुन्न र पढ्न पाइन्छ। इन्टरनेटमा नयाँ कुरा खोज्न या अनुसन्धान गर्न पाइन्छ। एकै ठाउँमा बसेर विश्वभरिको हाल बुझ्न देख्न र सुन्न पाइन्छ।
बाबा भन्नुहुन्छ, 'इन्टरनेटको सदुपयोग गर्न आवश्यक छ। यसको दुरूपयोग गर्यो भने मानिसहरू कुलतमा लाग्न सक्छन्। मानिसहरूले नचाहिने कुरा हेर्यो भने समय व्यर्थ जान्छ। नराम्रा साइट हेर्यो भने त्यस्ता मान्छेको जीवनमा अन्धकार छाउन सक्छ।' हामीजस्ता केटाकेटीलाई जोगाउने जिम्मा पनि त बाबाआमाकै हो।
बाबाआमा हिजोआज आ-आफ्नो स्कुल पढाउन जान पाउनुभएको छैन। दुवै जनाले म र भाइलाई पढाउन खोज्नुहुन्छ। तर साथीभाइसँग स्कुलमा गफ गर्दै पढ्न कति रमाइलो हुन्थ्यो। बाबाआमा आफैं शिक्षकशिक्षिका भए पनि घरमा जतिखेर पनि उहाँहरूसँग पढ्ने काम भने स्कुलको जस्तो हुँदो रहेनछ।
बाबाआमा इन्टरनेटको फाइदाबारे पनि सम्झाइरहनुहुन्छ। खासमा इन्टरनेटको सदुपयोग गर्न सबैले जान्नुपर्छ। फेरि इन्टरनेटमा किताब पढ्ने र विज्ञान, अंग्रेजी, गणित पढ्न राम्ररी सिकाउने साइट पनि हुँदा रहेछ। स्कुल जान नपाए पनि अनलाइनमा स्कुलले नपढाए पनि आफैं पढ्न पाइने रहेछ। बाबाले भनेझैं पढ्न, लेख्न र मनोरन्जन गर्न उपयोग गर्न सकियो भने इन्टरनेट लकडाउनका बेला साथी बन्न सक्छ।
(श्रीयङ्का अधिकारी गण्डकी बोर्डिङ स्कुल लामाचौर, पोखरामा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)