सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत ४ गते मेरो वार्षिक परीक्षा सकियो। मेरी आमा र बहिनी मलाई लिन मेरो विद्यालयमा आउनुभयो। हामी साथीहरूले चैत ५ गते सिनेमा हेर्न जाने योजना बनाएका थियाैं। आमाले कोरोना महामारीको समयमा सिनेमा हेर्न जान नहुने कुरा गर्नुभयो।
केही महिनाअघि बुबा अफसबाट सरूवा भएर तनहु जानुभएको थियो। बुबा र मेरो भेट नभएको पनि ३/४ महिना भएको थियो। म बुबालाई भेट्न आतुर थिएँ।
मैले चैत ५ गते नै बुबा भएको ठाउँमा जाने निर्णय गरेँ। बुबाले हवाइजहाजको टिकट पनि काटिदिनुभएकाे थियो। म, मेरी आमा र बहिनी हवाइजहाजमार्फत पोखरा आयाैं। बुबालाई भेटेर म धेरै खुसी भएँ।
यहाँबाट मेरो पहाड घर र मामाघर नजिकै पर्छ। हामी केही दिन बुबासँग बसेर मामाघर जाने तयारी गर्थ्याैं। एक्कासि नेपालमा कोरोनाको संक्रमण देखाएर नेपाल सरकारले देश नै लकडाउन गर्न निर्णय गर्यो।
सूचनाको सुविधाले गर्दा राजधानीदेखि केही टाढा भए पनि टाढा भएको महशुस गरेको छैन। विद्यालयले अनलाइन संचालन गरेर हामी शिक्षाबाट बन्चित हुनु परेको छैन। मेरा आदरणीय सरम्याम र साथीहरूसँग दैनिक भेट हुन्छ। परिवारसँग रमाइलो दिन बिताइरहेको छु।
यतिकैमा बस्दाबस्दै घरको झ्यालबाट एउटा दृश्य देखे। यहाँ मानिसहरूको भीडभाड थियो। मानिसहरू तँछाडमछाड गरिरहेका थिए। केही मानिस लाइनमा उभिइरहेको थिए। मैले बाहिर निस्केर बालकोनीबाट हेरेँ। यहाँ सरकारले राहत सामग्री वितरण गरिरहेको रहेछ।
अचम्मको कुरा के भने राहत पाउने भनेको त दुःखी, गरिब, असहाय र मजदुरले पो हो। यहाँ त घर भएका, जागिर, पेशा भएका मानिसहरू पनि लाइनमा तँछाडमछाड गर्दै लाइनमा उभिइरहेको देखेर मलाई धिक्कार लाग्यो। मानव भएर पनि मानवीयता देखाएनन्। कमाइ भएकालाई एक बोरा चामलले कति समय टर्याे होला र? नहुनेले पाउँथ्यो नि त्यो। हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना अझै जागेको रहेनछ।
टेलिभिजनमा त देखेको थिएँ तर अहिले यसरी आफ्नो आँखाले देख्दा मलाई अचम्म लाग्यो। एउटा कमिलाको ताती हेर। एउटा मौरीको घार हेर। यहाँ कति ठूलो मेलमलाप छ। तर मानिसमा खै मानवीयता? म यस कोरोनाले सिकाएको पाठमार्फत के भन्न चाहन्छु भने पुराना पुस्ताले जे जस्तो गरे पनि हामी नयाँ पुस्ता नयाँ साथका साथ आउनुपर्छ।
हामीमा मानवीयता हुनुपर्छ। एक आपसमा मलेर काम गर्नुपर्छ। दुःखमा परेको मानिसलाई जति सक्छ त्यति सहयोग गर्नुपर्छ। मिलेर काम गर्यो भने देशको विकास हुन्छ। देश विकास भनेको आफ्नो विकास हो।
हामीले जीवनमा जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि त्यसलाई सरलताका साथ समाधान गर्नुपर्छ। भन्छन् नि, 'सुखमा नमात्तिनू। दुःखमा नआत्तिनू।'
यसैगरी हामीले पनि अहिलेको जटिल परिस्थितिलाई सजिलै समाधान गर्नुपर्छ। नेपाल सरकारको आदेशलाई हामी सबैले आआफ्नो ठाउँबाट पालना गर्दै सकेसम्म सहयोग गर्ने बानी बसालाैं।
(आयुष पौडेल बुढानीलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)