सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
बिहान धेरै घाम लागेको थियो। म र भाई धेरै उत्साहित थियाैं। बाबाले हामीलाई आज जंगल घुमाउन जाने भन्नु भएको थियो। हामीले आमासँग भनेर चाउचाउ, चिउरा, भुजिया, पानीको बोतल सबै ठीक पार्याैं।
१० बजेतिर घाम अलि कडा भएर आयो। हामी निस्कने तरखर गर्दै गर्दा आमाले हामीलाई सम्झाउनु भयो, 'जंगलमा खतरा पनि हुन्छ अलि जोगिएर ध्यान दिएर हिँड्नु है।'
बाबासँग जाने हामीलाई केही डर नै थिएन। हामी धेरै ढुक्क थियाैं। हामी उत्साहित हुँदै दिदीभाइ हात समातेर बाबाको पछिपछि लाग्याैं। जंगलभित्र छिर्दै जाँदा बाबाले हामीलाई धेरै नयाँ कुरा देखाउनु भयो। रूख बिरूवा देख्दा कक्षामा गुरूआमाले पढाएको याद आयो। परेनियल प्लान्ट, एनुअल प्लान्ट भन्दै पढाउनु हुन्थ्यो।
जंगलमा साइन बोर्ड पनि राखिएको थियो। त्यो देख्दा सामजिक विषय पढेको याद आयो। जति भित्र गयो त्यति नयाँ रहस्यमय दुनियाँ लाग्थ्यो। बाहिर घुम्न पाएर हामी धेरै खुसी थियाैं। हामीभन्दा अलि अगाडि एक जना आन्टी सानो भर्खरै जन्मेको बच्चा लिएर हिँड्दै हुनुहुन्थ्यो। अरू मानिस पनि घुम्न आएका रहेछन् यो रहस्यको दुनियाँमा।
जंगलमा हामी यसरी खुसी भएर रमाएर हिँडिराखेका बेला एउटा खोइ के हो के, कहिले नदेखेको, नाम नि थाहा नभएको कुरा हामीले देख्याैं। त्यो हामीतिरै आउँदै थियो। हामीमा अलिअलि डर पस्यो। पसिना आयो। हामीले घरबाट ल्याएको पानीले हात र मुख धोयाैं। हात र मुख धुने बित्तिकै त्यो चिज अलि पर गयो। एकछिनमा फेरि हामीतिरै आउन थाल्यो। हामी डरले कुद्दै एउटा ओडारमा पस्याैं।
मैले सोधे, 'बाबा यो कस्तो चिज हो हामीलाई कहिले भन्नु भएको थिएन त? गुरू-गुरूआमाले नि कुनै विषयमा भन्नुभएको थिएन।'
बाबाले भन्नुभयाे, 'नानी यसकाे नाम त कोरोना हाे। यो पहिला थिएन। भर्खर देखा परेको हो सबैतिर। त्यही भएर थाहा नभएको।'
'भोक लग्यो बाबा घरबाट ल्याएको खाजा खाउँ न।'
'हुन्छ। खाउँ।'
हामीले घरबाट लिएर आएको कुरा खान थाल्याै। भोक नि मेटियो। केही बेर त ओडारमा बस्न मज्जा लाग्यो। तर केही बेर बितेपछि त वाक्क लाग्न थाल्यो। म भन्दा नि धेरै भाइ छटपटिन्छ। कतिखेर बाहिर जाने भनेर तर त्यो कोरोना भन्ने हाम्रै ओडारकै आगाडि आएर बसेको छ रे बाबाले भन्नुभएको। अनि बाबाले भन्नुभएको त्याे बच्चा बोकेर हिँड्ने आन्टीलाई त त्यो चिजले खाइसक्यो रे। हामी यो ओडारबाट बाहिर निस्कियाैं भने हामीलाई नि खान्छ रे। हामी यहाँ बसेको धेरै दिन भयो। अब त चाउचाउ, चिउरा, भुजिया नि सिद्धियाे।
बाबा कोरोना छल्दै बिहान बेलुका के-के लिएर आउनुहुन्छ। त्यसैमा चित्त बुझाएको छु। मलाई मन पर्ने पिज्जा, अन्य खानेकुरा खान, साथीहरूसँग भेट्न जान पाएको छैन। त्यो चिज नगएसम्म बाहिर निस्किन मिल्दैन रे।
लौ न तपाईंहरू कोही बाहिर हुनहुन्छ भने त्यो चिजलाई मर्ने औषधि निकालेर मारिदिनु न। अनि हामी पनि बाहिर निस्कन्छौं।
...
म स्यारोन भुर्तेल, कक्षा ५ मा युनाइटेड स्कुलमा पढछु। म धेरै कथा हेर्छु र पढ्छु। स्कुलमा किताब समीक्षा गर्ने गतिविधमा सधैं छानिन्छु। काल्पनिक कथा र यथार्थमा आधारित दुवै कथा लेख्न मन पराउँछु। मैले नेपाली टाइपको लागि र कथाको केही शब्दका लागि आमाको सहयोग लिएकी छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)