सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
विश्वभरी फैलिएको कोराेना भाइरसले संसारै त्रसित बनाएको छ। विश्वका ठूला र विकसित भनिएका मुलुक झन् धेरै पीडामा छट्पटिएका छन्। ठूलो संख्यामा मानवीय क्षतिको सामना गरिरहेका छन्।
मानिस एक सामाजिक प्राणी हो। मानिसबाट मानिस अलग रहन सक्दैन। कोरोना विरूद्ध लड्न सामाजिक दुरी कायम राख्नु नै उपयुक्त विकल्प हो। सरकारको नियमलाई होस्टेमा हैंसे गर्दै हाम्रो परिवार पनि घरभित्रै बसिरहेका छौं। अहिले विश्वका धेरै देश लकडाउनमा रहेका बेला हामी आफ्नो घरमा बस्दा आत्तिने र तनाव लिने काम गर्नु हुँदैन। यो हामी नागरिकको कर्तव्य पनि हो।
कोरोनाको महामारी सकिने बित्तिकै मलाई सर्वप्रथम मेरो मन मस्तिष्कमा ठाउँ ओगट्न सफल सुन्दर स्वर्ग जस्तो ठाउँ पोखरा हुँदै पर्वत जाने मन छ। त्यहाँ प्रकृतिले दिएको अनुपम उपहार पाउन सकिन्छ। मलाई आफ्नो साथीजस्तो लाग्ने गर्छ प्रकृति र यसले दिएका बहुमूल्य उपहारहरू।
पर्वत, पोखरा जाँदा मलाई आफ्नोपनको आभाष हुन्छ। सबैलाई डुल्न र घुम्न मन त लागिहाल्छ नि। तर के गर्नु यहाँ आफ्नो ज्यान जोगाउनै गाह्रो भइरहेको छ।
मलाई वार्षिक परीक्षा सकिने बित्तिकै पोखरा जान मन लागेको थियो। विश्वमा यति ठूलो विपत आइपरेको अवस्थामा आफू सुरक्षित रहँदा अरू पनि सुरक्षित हुने भएकाले सरकारको नियमलाई मानेर म घर भित्रै बस्न बाध्य छु।
त्यहाँको सौन्दर्यताले मलाई डाकिरहेको जस्तो लाग्छ। पोखरामा रहेका ताल, तलैयाहरू, तालबाट देखिने माछापुच्छ्रे, अन्नपूर्ण जस्ता हिमालको दृश्य अवलोकन गर्न मन छ। गुफाहरू र मन्दिरहरूले पनि पोखराको सौन्दर्यता बढाएका छन्।
पोखरामा म मेरा फुपूहरू लगायत धेरै आफन्तलाई पनि भेट्नेछु। त्यसपश्चात म पर्वत जिल्लामा रहेको एसियाकै अग्ला पुल, अलपेश्वर र गुप्तेश्वर गुफाको अवलोकन गर्न तथा त्यहाँका छनछन बग्ने नदीहरू र हरियाली वन पाखामा कोइलीको मीठो धुन सुन्न मन छ। त्यहाँ सबभन्दा अग्लो बन्जी जम्प बनाएको कुरा पत्रपत्रिका र आफन्तबाट सुन्दै आएको थिएँ। ती सुनेका कुरालाई आफ्नै आँखा अगाडि राखेर नियाल्न मन छ।
यी सबै कुरा नियाल्दै म मेरो घर, मामाघरमा जानेछु किनभने मलाई मेरो वृद्ध हजुरआमा र हजुरबुबाको मायाले औधी सताइरहेको छ। मेरो हजुरआमाले भुटेको मकै र ठेकीबाट सारेको मोही खान असाध्यै मन छ। म सानो छँदा मेरो बाल्यकालमा हजुरबुबासँग खुब खेल्ने गर्थेँ।
सानो छँदा हजुरबुबाले सुनाएको कथा मलाई अझै पनि याद छ। उहाँ एक बौद्धिक व्यक्तित्व हुनुहुन्छ। उहाँसँग राजनैतिक, साहित्यिक, धार्मिक र अन्य चौतर्फी ज्ञान भएकाले उहाँसँग ज्ञानगुनका कुरा सुन्न साह्रै मन छ। २,४ दिन उता सबै जनासँग भेटघाट गरेर र प्रकृतिको दृश्य अवलोकन गरी मन आनन्दित बनाइसकेपछि म काठमाडौं फर्किनेछु। मेरो विद्यालयमा गुरूआमा र साथीहरूसँग बसेर अध्ययन अध्ययन सुरू गर्नेछु।
यो कामना गर्छु कि कोरोना महामारीको अन्त्य छिटो होस्। लकडाउन सकिनासाथ म यी मेरा रहरहरू पूरा गर्न पाउँ।
(आँचल अधिकारी लिभरपुल माध्यमिक विद्यालय शंकमुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)