सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हरेक वर्ष चैतमा हाम्रो स्कुलमा लामो छुट्टी हुन्छ। म सधैँझैं यस छुट्टीमा घुम्ने र केही सिक्ने सोचमा थिएँ। घाम लागेको दिनमा फुटबल खेल्ने रहर थियो। कता जाने र के गर्ने भन्ने विषयबारे योजना बनाउँदै जाँदा कोभिड १९ को महामारीले गर्दा लकडाउन सुरू भयो। यस छुट्टीको बेलाका रहरका कुराहरू रहरमै सीमित रहेँ।
इमानदारीका साथ बोल्ने हो भने यो भाइरस र लकडाउनबारे पहिलो पटक सुन्दा र सोच्दाखेरि मभित्र एउटा अनौठो जिज्ञासा आएको थियो। यो अवस्था मेरा लागि नौलो र नयाँ अनुभव थियो। म लकडाउन कस्तो हुन्छ भन्नेबारे अझै गहिरिएर बुझ्न उत्साहित थिएँ। त्यसपछि मैले इन्टरनेटबाट विस्तारमा कोभिड १९ का बारेका वैज्ञानिक तथ्य र डाटाहरू खोजेँ। मसँग भएको जति जानकारी राम्ररी विश्लेषण गर्दा मृत्युदर द्रुत गतिमा बढिरहेको तथ्य पत्ता लगाएँ। यस भाइरसको जोखिम कति घातक छ भन्ने कुरा बुझेपछि उत्साहले भरिएको मेरो मनलाई डरले चसक्क छोयो।
कोभिड १९ लाई विश्वव्यापी महामारी भनेर घोषणा गरिेएको थियो। मैले अरू रोगहरूबारे पनि अध्ययन गरेँ। यस्ता महामारीहरू लगभग सय वर्षको अन्तरालमा आएका रहेछन्। चौधौं शताब्दीमा ‘ब्ल्याक प्लेग’ नाम गरेको महामारीले बीस करोड मानिसको ज्यान लियो। सत्रौं शताब्दीमा अर्को एउटा महामारीले गर्दा तीस लाखजति मानिसको मृत्यु भयो। बीसौं शताब्दीमा ‘स्पानिस फ्लु’ ले करिब पाँच करोड मानिस मरे। तुलनात्मक हिसाबले हेर्दा कोरोना कम खतरनाक छ।
मलाई डर लागेको भनेको चाहिँ के हो भन्दा सत्रौं वा बीसौं शताब्दीमा अस्पतालहरू धेरै थिएनन्। चिकित्सासेवा र सुविधाहरू त्यति राम्रा थिएनन् र उपचार तथा औषधीहरू अहिलेको जति उन्नत थिएनन्। हामीले वर्तमान कालमा विज्ञानका क्षेत्रमा अत्यन्त धेरै प्रगति गरेका छौँ। अनुसन्धान गरेर नयाँ ज्ञान र प्रविधि यस विश्वमा प्रयोग गर्न सफल भएका छौँ तर हामीसित यति धेरै सुविधाहरू हुँदाहुँदै पनि हामीले कोरोनालाई परास्त गर्न सकेका छैनौँ। यस कुरामा हामीले चिन्ता लिनुपर्छ।
हामी मानवजातिलाई आफूले गरेको उन्नतिबारे यति धेरै घमन्ड छ तापनि कोरोना जस्तो भाइरसले मानव जातिको पूरै घमन्ड, अहंकार र हिम्मतलाई थिचिदियो। यस स्थितिले मानिसले पनि प्रकृतिलाई जोड लगाउन वा जित्न सक्दैन। मानवशक्तिको पनि सीमा हुन्छ भन्ने कुरा प्रमाणित गर्यो।
यस छुट्टीमा अरू देशमा घुम्न जान नपाए पनि अब मसित आफ्नै दुनियाँमा घुम्ने र आफ्नै धुनमा चल्ने मौका र समय छ। जस्तो तपाईं सबैलाई थाहा छ, हामी पछिल्लो केही हप्तादेखि लकडाउनमा छौं। धेरै व्यक्तिहरूमा दुःख, उदास र निराशाले घेरेको अनुभूति छ। जबकी म आफूलाई धेरै भाग्यशाली ठान्छु किनकि म यस परिस्थितिलाई केही उत्पादक काम गर्ने र धेरै क्षेत्रमा परिपक्क हुने उत्तम अवसरको रूपमा देख्छु।
मैले आफूलाई यस मानसिकतामा ल्याउन केही समय चिन्तन गर्नुपर्यो। यसमा पूर्ण प्रतिबद्ध हुनुपर्यो। जब म यस मानसिकतालाई पूर्ण रूपले स्वीकार गर्न कोसिस गर्दै थिएँ, तब केही कुराले मेरो दिमागलाई छोयो। परिस्थिति जतिसुकै अप्ठ्यारो भए पनि वा प्रतिकूल अवस्थामा आए पनि हामीले सधैँ आशावादी पक्ष हेर्नुपर्छ भन्ने कुरामा म जहिले पनि विश्वास गर्छु।
त्यतिखेर मैले सोफामा विश्राम गर्दै चलचित्रहरू हेर्नुभन्दा गर्नुपर्ने अझ राम्रा कामहरू छन् भन्ने सोचेँ। यी प्रतिक्रियात्मक कार्यहरू गर्नु भनेको मैले खोजिरहेको आशाको सानो झिल्को थिएन।
मैले अन्ततः लकडाउनको सुरूमा मेरो जीवन र एउटा चुइङगम बीच कुनै भिन्नता छुट्याउन सकिनँ। सुरूमा एकदम मीठो, रसिलो र स्वादिष्ट हुन्छ। बिस्तारै यसको स्वाद हराउन थाल्छ। स्वादहीन, सुस्त र सुख्खा हुन्छ।
मेरो बहुमूल्य समय खेर फालेको देखेर मेरा दाइले मलाई तीन हप्ताका लागि इन्टर्नका रूपमा उहाँको कम्पनीमा भर्ती हुने प्रस्ताव गर्नुभयो। मलाई विश्वास गरी र म कति सक्षम छु भन्ने कुरा संसारलाई देखाउने मौका दिनु भएकामा उहाँ प्रति म धेरै आभारी छु। जब म काम गर्दै थिएँ र दाइको कम्पनीमा सक्दो योगदान पुर्याइरहेको थिएँ, तब मैले पनि आइटीमा नयाँ ज्ञान प्राप्त गरेँ। यस लकडाउनको क्रममा हामी यस तथ्यबाट पनि सचेत हुन्छौँ कि यो आफ्ना प्रियजनहरूसँग सामाजिक बनेर समयको उपयोग गर्ने उत्तम क्षण हो।
जब हामी चौबिसै घण्टा इन्टरनेटको प्रयोगबाट दिक्क मान्छौँ, तब हामी परिवारका सदस्यसँगै बस्छौं। आफ्ना पुराना फोटा र भिडिओहरू हेर्छौं। प्रिय सम्झनाहरू आदान प्रदान गर्छौं। मलाई आशा छ, यी क्षणहरू मेरो सम्झनामा सुरक्षित हुनेछन्। हामी आफ्नै काम पूरा गर्छौं र हाम्रो जिम्मेवारी पूरा गर्छौं। हामी सबै आफ्नो कर्तव्य प्रदर्शन गरेर एकअर्कालाई मदत गर्न पर्याप्त सफल भएका छौँ।
मैले वास्तवमै नयाँ सीप सिकेको त छैन तर आफ्ना पुराना सीपहरूमा सुधार गर्ने प्रयास गरेको छु। मैले आफ्नो सीपलाई अझ फलदायी बनाउनका लागि नयाँ र परिष्कृत तरिकाहरू अपनाएको छु। तर यसको विपरीत, आफैंलाई व्यस्त राखेको छु। मेरो लेखनकला र संरचना सुधार गर्न निबन्ध र लेख लेखेर मनोरन्जन गरेको छु। जर्ज ओर्वेलको ‘१९८४’ शीर्षकको एउटा क्लासिक उपन्यास पनि पढ्न सुरू गरेको छु।
कोरोनाले हामीलाई मौलिक हुन पनि सिकाएको छ। हामीले आफ्ना कामहरू वा पढाइ जारी राख्न नयाँ र परिष्कृत तरिका तथा उपायहरू निकाल्न सकेका छौँ। स्कुलहरूले अन्लाइन कक्षाहरू सुरू गरेका छन्। लकडाउनमा भए पनि यसले हामीलाई धेरै नयाँ र सिर्जनात्मक विचारहरू र उपायहरू ‘अनलक’ गर्न सहयोग पुर्याएको छ।
मेरो पनि अस्ति पहिलो जुम कक्षा थियो। सबैको अनुहार हँसिलो देख्दा मलाई अत्यन्त खुसी लाग्यो। यस्तो गम्भीर अवस्थामा पनि आफ्ना प्रिय मित्रहरू र शिक्षकहरूको स्थिति सबै स्वच्छ र राम्रो हुँदा मलाई ढुक्क र आत्मसन्तुष्टि भयो। हामी सबै एकअर्कासित टाढा भए पनि जुम जस्तो एउटा सानदार सफ्टवेयरले गर्दा हामी सबैका लागि एउटा सुखद र रमाइलो वातावरण उपलब्ध भयो। जुमको सहयोगको कारणले हाम्रो पढाइ र शिक्षा सजिलैसित अघि बढिरहेको छ। शिक्षक र विद्यार्थी दुवैको जीवन सरल बनाइदिएको छ र कोरोना पनि हामीलाई आफ्नो शिक्षा र लक्ष्य प्राप्त गर्नबाट रोक्न असफल भएको छ।
आफूलाई संकटको भुमरीमा फेला पारे पनि हामीले सधैं आशावादी पक्षतिर हेर्नुपर्छ भन्ने मेरो जीवनदर्शन छ। जीवन भनेको सफलता र विफलताको संगम हो। त्यसैले हाम्राे जीवन सम्झौताले भरिएको छ भन्ने वास्तविकता बुझ्नुपर्छ। यस्ता कुराहरू हामीले विचार गर्यौ भने हामीलाई पछि गएर पछुतो हुँदैन। धैर्य राखी आफ्नो कर्तव्य र जिम्मेवारी निभाउनुपर्छ भन्ने मेरो विश्वास छ। हामी मानवजातिले आफ्नो जीवन राम्ररी निरन्तर गर्न सकेको हुनाले हामी सबै आज जुमद्वारा एकअर्कासँग आफ्ना विचार र सोचहरू आदान प्रदान गर्न सफल भएका छौ।
एउटा कक्षाकोठामै बसेर पढेको जस्तो अनुभव मभित्र जागेको थियो। बिहान उठ्दा म अत्यन्त उत्साहित थिएँ र जुम कक्षामा पनि हामीहरू सबैको भावना र सोचहरू जोडिएका थिए। सबै जना एकअर्कासगँ अन्तर्क्रिया गरिरहेका थिए र हामी सबै आफ्नो नयाँ कक्षामा रमाएका थियौँ। य़स कक्षाको परिणाम एउटा साधारण कक्षा जतिकै प्रभावकारी भयो।
अन्त्यमा, लकडाउनले हामीलाई उदास र बेचैन महशुस गराए पनि आफ्ना प्रियजनहरूसँग समय बिताउनका लागि, आफ्नो जीवनमा ध्यान दिनका लागि, महत्वपूर्ण निर्णयहरू लिनका लागि तथा एउटा उज्यालो भविष्य बनाउनका लागि यो एउटा उत्तम क्षण हो भन्ने सोच्छु।
(सन्दिप आचार्य रातो बङ्गला स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)