सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
संसारभर अहिले इन्टरनेटको प्रयोग तीव्र गतिमा बढिरहेको छ। यसले हाम्रो जीवन सरल त बनाएकै छ। धेरै मानिसहरूमा निरशा र यसप्रति लत पनि सिर्जना गरेको छ।
सन २०११ मा गरिएको खोजअनुसार नेपालको जनसंख्याको ९५ मानिसले मात्र इन्टरनेट प्रयोग गर्थे। वर्तमान समयमा नेपालभर २ करोड इन्टरनेट प्रयोगकर्ता छन्। यसरी नेपालमा इन्टरनेटको प्रयोग तीव्र गतिमा बढिरहेको छ भन्ने थाहा पाइन्छ।
अहिले इन्टरनेटको प्रयोग यति विशाल छ कि हरेक घरमा बच्चादेखि वृद्धसमेत इन्टरनेट चलाउँछन्। इन्टरनेटको विशाल प्रयोग भएकाले यसले अधिकांश प्रयोगकर्ताहरूकाे जीवनमा विभिन्न प्रभाव पारेको छ। मुख्यगरी, युवा र विद्यार्थीमा बढी प्रभाव पारेको देखिन्छ। ती प्रभाव नकरात्मक हुन कि सकरात्मक त?
सिक्काका दुई पाटाझैं इन्टरनेटको नकरात्मक र सकरात्मक प्रभाव दुवै छन्। तुलनात्मक रूपले हेर्दा यसले युवाहरूमा बढी नकरात्मक प्रभाव परेको देखिन्छ। शिक्षात्मक आवश्यकताका कारण विद्यार्थीहरूले इन्टरनेटको प्रयोग गर्न अत्यन्त महत्वपूर्ण छ तर यसको दिन प्रतिदिन बढिरहेको प्रयोगले विद्यार्थीहरूलाई यसप्रति लत त लागेकै छ, गलत बाटोमा पनि लगिरहेकाे छ।
इन्टरनेटको लतले विद्यार्थीको शैक्षिक सामर्थ्य पनि कमजोर हुन्छ। त्यसैगरी, इन्टरनेट चलाउन थालेपछि न उनीहरूलाई समय बितेको पत्तो हुन्छ, न भोक र तिर्खा लाग्छ। अहिले त ४, ५ वर्षका बच्चालाई पनि इन्टरनेटको यति लत लगेको छ कि उनीहरू इन्टरनेट चलाउन अत्यन्त राम्राे छन्।
तर उनीहरूलाई आफ्नो विदेश बस्ने बाबाको नाम समेत थाहा छैन। धेरै अभिभावकहरू आफ्नो छोराछोरी दिनभरी इन्टरनेट चलाएर व्यस्त रहने र केही काममा हात नबढाउने भन्ने बारेमा गुनासो गर्छन्। यसले इन्टरनेटको लतले सामाजिक प्रतिक्रिया र सामाजिक नैतिकताको कमी विकास गर्छ भन्ने प्रमाणित गर्छ।
अहिलेका युवाहरू बाहिरबाट फूर्तिला र जाँगरिला देखियता पनि भित्रबाट खोक्रा छन्। उनीहरूले ॠषिमुनिहरूलाई जोगी भन्दै उनीहरूको जीवन उपयोगी सन्देशलाई अर्थहिन ठान्छन् तर जीवनका स-साना समस्या सुल्झाउन गुगलको प्रयोग गर्छन्। किन? किनभने अहिलेका युवाहरूसँग आफैं समस्या सुल्झाउने आत्मबल छैन।
अहिले लकडाउनको समयमा लाखौं विद्यार्थी घरमा थुनिएका छन्। कतिपय विद्यार्थीहरू विभिन्न रचनात्मक काम गर्दै छन्। धेरै विद्यार्थीहरू झ्याउ लाग्यो भन्दै दिनभरी इन्टरनेट चलाएर बस्ने गरेका छन्। शिक्षात्मक आवश्यकताका लागि मात्र होइन मनोरन्जनका लागि पनि इन्टरनेटको प्रयोग गरिन्छ। तर मनोरन्जनका लागि भन्दै दिनभर मोबाइल लिएर नबसौं। बरू गीत गाऔं, भाइबहिनीसँग खेलौं अथवा चित्र बनाऔं। यी पनि मनोरन्जनका श्रोत त हुन् नि।
एउटा भनाइ छ - जबसम्म जँड्यालाई रक्सीबाट टाढा राखिँदैन, तबसम्म उसले म जँड्या हुँ भनेर स्वीकार गर्दैन। त्यसैगरी, तपाईं पनि केही दिनका लागि इन्टरनेटको प्रयोग नगर्नुहोस्। त्यसपछि मात्र तपाईंले आफू इन्टरनेटमा कति अल्झिँदो रहेछु भन्ने थाहा पाउनु हुन्छ।
केही दिनका लागि बिहान चाडैं उठेर मोबाइलको स्क्रिन होइन, उदाउन लागेको सूर्य हेर्नुहोस्। केही समय ध्यान गर्नुहोस्। परिवारका सदस्यहरूसँग समय बिताउनुहोस्। अनुभव बाँड्नुहोस्। यस्ता कृयाकलापले पक्कै पनि तपाईंलाई युट्युबका कमेडी भिडिओभन्दा बढी खुसी दिनेछ।
बेलुकाको समयमा एउटा शान्त ठाउँमा पैदल हिँड्न जानुहोस्। वरिपरिको हावा र आफैंलाई महशुस गर्नुहोस्।
(आशुतोष ढुङ्गाना गण्डकी आवासिय विद्यालय, पोखरामा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)