सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्रकृति मानवलाई दिइएको ज्यादै मूल्यवान् उपहार हो। प्रकृति र मानव एकअर्काका परिपूरक हुन्। तर आजको समयमा मानिसले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्ने दुस्प्रयास गरिरहेको छ।
विकासको नाममा विश्वले जल, थल, आकाश मात्रै नभएर चन्द्रमा पनि कब्जा जमाएर नक्कली सूर्य समेत बनाइसक्यो भन्ने कहावतहरू सुन्न पाइन्छ। यसमा मानिस केही हदसम्म सफल त भएको देखिन्छ। तर कुनै एउटा सानो परिघटनाले मानवको त्यो सैयौं वर्षको सफलतालाई क्षणभरमै चकनाचुर बनाइदिँदो रहेछ।
प्रकृतिसँग पौठेजोरी खेलेर गरिने विकास कुनै समय विनासमा परिणत हुने सम्भावना त्यतिकै प्रबल छ। प्रकृतिसँग पराजित हुँदा मानिस कहिले घरभित्र बस्नै नसक्ने त कहिले घरबाहिर निस्कनै नसक्ने अवस्थामा पुग्दो रहेछ।
समयको रफ्तारसँग प्रकृतिले कहिले कता त कहिले कता आफ्नो प्राकृतिक शक्ति प्रर्दशन गर्ने गर्छ। कहिले भूकम्प, कहिले सुनामी, कहिले बाढीपहिरो त कहिले हावाहुरीको रूपमा गरिरहेको थियो। सन् १९१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोरोना नामक भाइसरले संसारलाई यो अवस्थामा पुर्याउछ भन्ने सायद कसैले सोचेका थिएनन् होलान्।
संयोग भन्ने कि के इतिहास हेर्दै जाँदा हरेक १०० वर्षको अवधिमा प्रकृतिले मानवलाई यस्तै हैरानी बनाएको रहेछ। सन १७२० मा प्लेग, १८२० मा कोलेरा, १९२० मा स्पेनीस फ्लूले विश्वलाई नै अस्तव्यस्त बनाएको रहेछ। अहिले २०२० मा कोरोना भाइरसले विश्वलाई अस्तव्यस्त बनाउँदैछ।
आजभन्दा पाँच वर्षअघि नेपालमा भूकम्पले मच्चाएको विध्वंशबाट भर्खर उठ्ने जमर्कोमा छौं हामी। अब यो कोरोना कहिले हराएर जाने हो? त्यसको कुनै संकेत देखिरहेको छैन। यसले हाम्रो जनजिवनमा पार्ने क्षतिको मूल्यांकन लगभग असम्भव नै होला। केही दिनकै लकडाउनले हाम्रा खाने सामग्रीहरू सकिइसकेका छन्। हामी हरेक कुरामा परनिर्भर बन्दै छौं। अब महंगीको मार क्रमशः बढ्दै जानेछ।
महामारीले केवल विध्वंश मात्रै ल्याउँदैन। यस पछिको समयलाई सही रूपमा प्रयोग गर्न सकियो भने त्यो समय हामीलाई अवसर पनि हुन सक्छ। अहिल्यै पनि हामीले यस महामारीबाट विभिन्न शिक्षा लिइरहेका छौं। भौतिक विकासले प्रकृतिमाथि कहिल्यै विजय नपाइने रहेछ भन्ने ठूलो शिक्षा हामीले पायौं। नत्र त अमेरिका र युरोप जस्ता शक्तिशाली र विकसित देशमा यी भाइरसहरूले यस्तो वितन्डा पक्कै नमच्चाउनु पर्ने हो।
आणविक शक्ति सम्पन्न राष्ट्रहरू अहिले यति सानो भाइरससँग लड्न सारा शक्ति लगाउँदा पनि सक्षम भइरहेका छैनन्। रोगीको संख्या दिनानुदिन घट्नुको साटो बढिरहेको छ। लाखौंको संख्यामा मानिसहरू मरिरहेका छन्। यो क्रम निरन्तर जारी छ। त्यसमा पनि शक्तिशाली भनिएका देशहरूमा यसको असर व्यापक छ।
यो महामारीले हामीलाई हाम्रो संस्कार सम्झायो। हामीलाई सफा भई बस्न सिकायाे। खानपान सिकायो। पारिवारिक महत्व सिकायो। भौतिक सुखमा लोभिएर सहर पसेकाहरू हतास भएर गाँउ फर्किएर वर्षाैदेखि बाझिँएका जग्गाहरू केही मात्रामा भए पनि खनिएका छन्। भागदौडको यो जमानामा यस किसिमको पारिवारिक सामिप्यता सायद अबको पुस्ताले उपभोग गर्न पाउला या नपाउला।
यसले प्रकृतिभन्दा शक्तिशाली मान्छे हुन सक्दैन भन्ने शिक्षा मात्रै दिलाएन कि विकासको नाममा मानिसबाट उसमाथि भएको वर्षौंदेखिको अतिक्रमणबाट केही समयलाई भए पनि मुक्ति दिलायो। त्यसैले त होला आजभोलि देशभरको मौसम अघिल्ला वर्षजस्तो लाग्दैन। यसरी हेर्दा लाग्छ कोरोना भाइरस प्रकृतिले मानवलाई सचेतनाको लागि पोखेको आक्रोश मात्र हो।
(स्वर्णिम रायमाझी बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)