सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम पुर्णिमा राई र बहिनीको नाम पुजना राई। हामीले यही साल कक्षा ८ र कक्षा ६ उत्तीर्ण गरेका हौं। हाम्रो विद्यालयको नाम श्री शंखेश्वरी आधारभूत विद्यालय हो। भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका-८ मा पर्छ।
सहर बस्ने दिदीको सल्लाहअनुसार हामीले आफ्नो दैनिक जीवनको बारेमा यो लेख लेखेका हौं। लकडाउनको समयमा विद्यालय जान नपाएका हामीजस्ता केटाकेटीका लेख रचना प्रकाशित हुने थाहा पाएपछि हामीले पनि उत्साहित हुँदै आफ्नो गाउँतिरको विद्यार्थी जीवनका बारेमा लेख्ने जमर्को गरेका हौं।
गाउँमा पत्रपत्रिका पढ्न नपाए पनि आमाबाबा धेरै रेडियो सुन्ने भएकाले हामी पनि सँगै बसेर देश विदेशको खबर सुन्ने गर्छौं। अस्ति मात्र चीनको वुहानबाट कोरोना भाइरसको महामारी सुरू भयो भनेर रेडियोमा सुनेका थियौं। हुँदाहुँदा आजभोलि त नेपालमा पनि धेरै फैलिँदैछ भनेर रेडियोमा सुनिरहेका छौं। त्यसैले नराम्रो पनि लागिरहेको छ।
लकडाउन भएको दुई महिना बढी पुग्न लाग्यो। त्यही पनि हाम्रो गाउँमा भने लकडाउनले त्यति असर गरेको छैन जस्तो लाग्छ। किनकी हामीले सधैं गर्ने खेतबारीको काम पहिलेको जस्तै चलिरहेको छ। विद्यालय भने जान पाएका छैनौं। रेडियोमा सुनेअनुसार सहरतिर त अनलाइन कक्षाहरू संचालन भइरहेको छ रे। हाम्रोतिर इन्टरनेट नभएकाले त्यस्तो कक्षाहरू पनि लिन पाएका छैनौं। हामी घरमा भएको पुरानो पुस्तकहरू नै पढ्ने गर्छौं। कहिलेकाहीँ भने एउटै किताब पढ्दा पढ्दै दिक्क लागेर आउँछ।
हिजोआज लकडाउनको दिनहरूमा हामी प्रायःजसो बिहान ५ बजे उठ्छौं। म घर बढार्न थाल्छु। अनि बहिनीचाहिँ परेवा र कुखुराहरूलाई चारो दिन्छिन्। दुवै जनाले हातमुख धुन्छौं अनि आमाले बनाउनुभएको खाजा खान्छौं। त्यसपछि दुवैजना बारीमा घाँस काट्न जान्छौं। भारी पुगेपछि घर फर्कन्छौं अनि खाना खान्छौंं। १० देखि १२ बजेको समयमा भने हामी मिलेर गट्टा, चुङ्गि, रिङ जस्तो खेलहरू खेल्छौं। कहिलेकाहीँ भने चित्र पनि कोर्छौं।
दिउँसोको १ बजेतिर फेरि छिमेकको अरू साथीहरूसँग मिलेर जंगलमा घाँस दाउरा काट्न जान्छौं। करिब २-३ घण्टामा भारी पुर्याएपछि हामी बाटोकै छेउमा बसेर आराम गर्दै गट्टा खेल्छौं। गीत गाउछौं अनि कथा सुनाउछौं। त्यसपछि हामी लगभग ४ बजेतिर घर फर्कन्छौं। गोठमा भारी बिसाएर राम्ररी हातमुख धुन्छौं र खाजा खान्छौं। त्यसपछि दुवै जना बुबाको अगाडि बसेर दुई घण्टा जति पढ्छौं। रातिको खाना खाने समय भएपछि खाना खान्छौं। एकछिन सबै बसेर गफगाफ गर्छौं अनि सुत्छौं।
घाँस दाउरा गर्ने कामबाहेक पनि हाम्रो गाउँमा समय र मौसमअनुसार विभिन्न कामहरू हुन्छन्। अस्ति चैत महिनामा मकै, फर्सी र दाल रोप्यौं। त्यसपछि वैशाखमा मकैलाई पहिलोपटक गोड्यौं, त्यसलाई 'एकोहोरी' भनिन्छ। अब केही समयपछि मकैको बोटहरू अलि ठूलो हुन्छन् र फेरि गोड्नुपर्छ जसलाई 'दोहोरी' खन्ने भनिन्छ। यसरी नै लगभग एउटै रूटिनमा हाम्रो दिनहरू बितिरहेका छन्।
लकडाउनले हामीलाई फाइदा र बेफाइदा दुवै भएको छ। विद्यालय छुट्टी नभएको बेला हामी आमाबाबालाई घरको काममा त्यति सघाउन पाउँदैनौं। ९ बजेदेखि ४ बजेसम्म विद्यालयमै बिताउने गर्छौं। आजभोलि भने धेरै समय आमाबाबाको साथमै बिताउन पाइरहेका छौं। हामीलाई साथीहरूसँग मिलेर जंगलमा घाँस दाउरा गर्न धेरै मनपर्छ। जंगलको हरियाली वातावरण, चराचुरूंगीहरूको चिरबिर र खोलामा खेल्न मनपर्छ।
समयअनुसार कटुस, ऐंसेलु, अमला, भक्किअमिलो जस्तो विभिन्न फलहरू पनि खान पाउछौं। हामी घाँस दाउरा बोकेर घर फर्कने बेला बाटोभर जानेका कथाहरू सुन्छौं र सुनाउछौं। हाम्रो गाउँ नजिकैको जंगलमा सल्ला, चिलाउने, लालीगुराँस, उत्तिस जस्तो रूख पाइन्छन्। त्यस्तै चराहरूमा ढुकुर, जुरेली, चिल, वन कुखुरा, र लाटाेकोशेरो पाइन्छन्। सधै जंगल जाने भएर होला सानो सानो रूख र भिरहरूमा पनि चढ्न मन पराउँछौं।
हामी जंगल गएको बेला कहिलेकाहीँ भने खराब मौसमले पनि दुःख दिन्छ। हिजोअस्तिको कुरा हो, हामी दुई-चार जना साथीहरू घाँस काट्न दुःख घन्टा हिँडेर पुगिने जंगल गएका थियौं। घाँस धेरै थियो। त्यही भएर हामी रमाउँदै घाँस काटिरहेका थियौं। अचानक आकाश गड्याङगुडुङ गर्दै पानी पर्न थाल्यो। चारैतिर अँध्यारो र तुवाँलोले ढाक्यो। हामीसँग ठूलो मान्छे नभएकाले डराउन थाल्यौं।
गाउँघरमा सुनेको कथाअनुसार यस्तो बेला 'चुडेल'हरू हिँड्छन् भन्ने सोच्यौं। अनि डोकोमा अलिअलि घाँस बोकेर घरको बाटो दगुर्न थाल्यौं। होस् उडुन्जेल दौडेकाले होला त्यो दिन दुई घन्टाको उकालो बाटो कसरी काट्यौं थाहा नै भएन। घरमा पुगेपछि आमाबाबालाई यस घटनाबारे सुनायौं। उहाँहरूले यस्तो बेला ओडारमा वा ठूलो रूखमुनि नडराईकन घैर्य गरेर बस्नुपर्छ भन्नुभयो। अहिले त्यो घटना सम्झेर हाँसो लागिरहेको छ।
अनि अर्को कुरा, कोरोनाले गर्दा हामीले नयाँनयाँ कुराहरू पनि सिकिरहेका छौं। अस्ति मात्र सहरदेखि गाउँ फर्किनुभएको दाइदिदीहरू १४ दिन नजिकैको एउटा भवनमा सुरक्षितसाथ बसेर घर फर्किनुभयो। यस्तो कामलाई 'क्वारेन्टाइन' भनिँदो रहेछ। यस्तै गरेर के-के खाँदा स्वस्थ र सक्रिय भइन्छ भन्ने कुरा पनि सिकिरहेका छौं। हामी हात धुने जस्तो सामान्य कुरामा पनि बढी सचेत भएको छौं।
लकडाउनको बेफाइदा, हाम्राे मुख्य चाड उधौली र उभौली मनाउन पाएनाैं। त्यहाँ हामी गुन्यूचोली लगाएर नाच्थ्याैं। यो प्रायःजसो वैशाख र मंसिर महिनामा मनाइन्छ। यसपालि लकडाउनले गर्दा हामीले मनाउन पाएनौं। त्यस्तै, हाम्रो अर्को चाड बुढाहाङ्ग पूजा हो। यो पनि वर्षमा एकचोटी मनाउने गर्छौं। कोरोनाले गर्दा यो पूजा पनि रोकिएको छ। जसले गर्दा हामीलाई नरमाइलो लागेको छ।
कहिलेकाहीँ हामी आवश्यक सामान किन्न शनिबारे बजार जाने गर्थ्यौं तर अहिले जानलाई अनुमति छैन।
आमाबाबाले भनेअनुसार हामी मान्छेको भीडमा पनि जादैनौं।
हाम्रो बाबाले भन्नुहुन्छ- लकडाउन नखुलेसम्म हाम्रो विद्यालय पनि खुल्दैन रे। हामी भने अर्को कक्षा ९ र कक्षा ७ पढ्न धेरै उत्साहित छौं। साथीहरूलाई भेट्न पनि मन लागेको छ। त्यसैले कोरोनाको छिट्टै अन्त्य भई लकडाउन खुलोस् जस्तो लागेको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)