सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोनाको संक्रमण बढेको बढ्यै छ। के हुने होला? मलाई त साह्रै डर लागिरहेको छ। अनलाइन पढाइ पनि धेरै हुँदैन। गृहकार्य गरेपछि धेरै समय बाँकी रहन्छ।
एक दिन फुर्सदको बेला के गरौं, के गरौं भन्ने लाग्यो। मेरो मनमा चंगा बनाउने विचार आयो। चंगा कसरी बनाउने थाहा भएन। त्यसैले युट्युबमा खोजेँ। यसबाट धेरै कुरा जानेँ र बनाउने तयारीमा लागेँ। भोलिपल्ट दिउँसो खाजा खाएर बनाउन सुरू गरेँ।
अरूले चंगा उडाएको मात्र देखेको थिएँ। एउटा कागजको त बनाउने हो, सजिलै होला भन्ने लागेको थियो। मैले पनि कागज, कैँची, टेप, धागो, चक्कु र बाँसका सिन्का ठीक पारेँ। सबैभन्दा सुरूमा त कागजलाई १०.५ इन्चको चौडाइ र ११.५ इन्चको लम्बाई बनाएर काटेँ। अनि एक छेउको र त्यसको उल्टो सिन्का पनि बराबर बनाएर काटेँ।
त्यस सिन्कालाई एक छेउबाट अर्को छेउमा लगेर टेपले टासेँ। अर्कोतिरको सिन्कालाई नि त्यस्तै गरी अलिकति बांगाे बनाएर टासेँ। त्यसपछि मैले १ इन्च लामो र ७ इन्च लामो पुच्छर बनाएर गमले टासेँ। चंगालाई उडाउन मैले कपडा सिलाउने धागो प्रयोग गरेँ। यति गरेपछि मेरो चङ्गा तयार भयो।
म घर छेउको बारीमा गएँ। बारीमा धुलैधुलो थियो। अनि आलीमा उभिएर चंगा उडाउने कोसिस गरेँ तर उडेन। उडाउन खोज्दाखोज्दै चंगा त भुइँमा पो झर्यो। मलाई दिक्क लाग्यो। अनि मैले बाबालाई आएर सोधेँ, 'किन चङ्गा उडेन?'
बाबाले फोटोकपी पेपर प्रयोग गर्न र पुच्छर अलिक छोटो गर्न सल्लाह दिनुभयो। मैले त्यसैगरी बनाएँ। डर लागिरहेको थियो चङ्गा उड्दैन कि भनेर। म फेरि बारीमा गएँ। अब त चङ्गा उड्यो। मलाई धागो बेर्न कठिन भयो। मैले धागो बेरेको चीज पातलो र सानो भएकाले धागो ढिलो बेरियो। यसले गाह्रो भयो। यो दुःख देखेर बाबाले मलाई लट्टाई बनाउने सल्लाह दिनुभयो।
लकडाउनमा सबै पसल बन्द भएकाले घरमै बनाउन थालेँ। यसमा चाहिँ बाबाले ठूलो सहयोग गर्नुभयो। थोत्रो चप्पलबाट दुइटा गोला बनाइदिनु भयो। अनि त्यसको बीचमा प्वाल पारिदिनुभयो।
त्यो गोलोको बीचमा घुम्न मिल्ने गरी लामो कप्टेरो बनाइदिनुभयो। यसमा धागो बेरेँ र फेरि उडाउन गएँ। लट्टाइ बनाएपछि धागो बेर्न सजिलो भयो। अनि हात पनि नदुख्ने रहेछ।
यसरी लकडाउनमा युट्युबको सहायताले चंगा बनाउन र उडाउन सिकेँ। अब अरू सिप पनि सिक्दै जानेछु।
(शेमन्तक भन्डारी जेभियर्स स्कुल बुढीगंगा, मोरङमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)