सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा पाँचको वार्षिक परीक्षाको तयारीमा जुटेका हामी सबै विद्यार्थी अचानक कोरोना भाइरस फैलिएको समाचार सुनेर अलि भयभित भयौं।
हुन त हामी साना विद्यार्थीलाई कोरोना भनेको के हो थाहा थिएन। विद्यालयले चिकित्सकलाई बोलाएर हामीलाई यसको बारेमा जानकारी दिँदै सतर्कताका उपाय बारेमा पनि जानकारी प्रदान गर्यो। तोकिएको समयभन्दा केही दिन अगाडिबाटै परीक्षा सुरू गरेर सबैलाई छिट्टै घर पठाउने विद्यालयले गरेको निर्णयअनुसार मलाई लिन मेरो अभिभावक पनि काठमाडौं आइपुग्नुभयो।
घर फर्कन पाएकोमा म धेरै खुसी थिएँ। इमान्दारीका साथ भन्नुपर्दा मलाई सबैभन्दा आनन्दित बनाएको कुराचाहिँ घर गएर छिट्टै उठेर हतार-हतारमा आफ्नो काम अनि कक्षाका लागि समय मिलाउनबाट केही दिन भए पनि मुक्ति मिल्ने छ भन्ने थियो। तर लामो यात्राको एक-दुई दिनको थकाइ मेटिएपछि मलाई ढिलोसम्म सुत्न मनै लागेन। सबेरै उठेर होस्टल बस्दाका दिनमा जस्तै आफ्ना दैनिक क्रियाकलाप नगरेसम्म आफैंलाई पनि सन्तुष्टि मिलेन।
विद्यार्थी भएकाले दैनिक समय तालिकाअनुसार सबेरै उठ्नु, नुहाउनु, पढ्नु, खानु, खेल्नु, घरको काममा मद्दत गर्नु नै हाम्रा नित्य कर्म रहेछन्। यी कुरा होस्टल बस्न थालेपछि मेरो बानी जस्तै भइसकेको रहेछ। यो बानीले हामीलाई आत्मनिर्भर बन्न सिकाउँदो रहेछ।
होस्टल बस्दाको अर्को फाइदाचाहिँ देशका विभिन्न ठाउँबाट नाम निकालेर पढ्न आएका साथीहरूबाट उनीहरूको जिल्लाको विशेषता, रहनसहन र भाषाका बारेमा पनि धेरै कुरा बुझ्न पाइँदो रहेछ। आफू असल, सहयोगी, मिलनसार र नम्र भएमा जस्तो ठाउँमा गएर पनि बस्न सजिलो हुँदो रहेछ। साथी पनि सहयोगी नै भेटिँदा रहेछन्।
अहिलेको युगमा शिक्षालाई आधारभूत आवश्यकता मानिने हुँदा गुणस्तरीय शिक्षा आफ्ना सन्तानलाई प्रदान गर्ने सबै अभिभावको इच्छा हुन्छ। मेरो बुवाआमाको सोही सपना पूरा गर्न र आफ्नो भविष्य उज्वल बनाउन परिवार छोडेर टाढा बसिरहँदा सुरूसुरूमा गाह्रो भए पनि अब बानी बसिसकेको छ।
घर आएको दुई महिना बितिसक्दा पनि कोरोनाको त्रास भने सकिएको छैन। बरू दिनदिनै बढ्ने क्रममा छ जसले गर्दा विभिन्न किसिमका समस्याहरू त छँदैछन्। त्यसमा पनि हामी विद्यार्थीहरूको पढाइमा बाधा भइरहेको छ। यस्तो लकडाउनको अवस्थामा पनि आफ्ना विद्यार्थीहरूको पढाइको चिन्ता गर्दै मेरो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ। घरमै बसेर प्यारा साथीहरूको आवाज सुन्दै आदरणीय शिक्षकहरूले पढाइरहँदा धेरै कुरा सिक्ने अवसर मिलेको छ।
मेरो चाहना विश्वमा फैलिएको यो महामारी छिट्टै हराएर जाओस् र हामी सबै फेरि पुरानै तरिकाले कुनै डर-त्रास र संकोचबिनै स्वतन्त्र रूपले हिँड्न, घुम्न पाउँ। छिट्टै मेरो प्यारो विद्यालयमा गई कक्षा ६ मा पढ्न पाऊँ भन्ने हो।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)