सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आजभोलि मलाई विद्यालयको याद आइरहन्छ। पोहोर नयाँ विद्यालयका सुरूआती दिनहरूमा मलाई नयाँ वातावरण थियो। साथीहरूसँग चिनजान थिएन। गुरू एवम् गुरूआमा मलाई नयाँ थिए। तराइको गर्मी पनि उत्तिकै बढी थियो। मलाई गाह्रो लागि रहन्थ्यो। तर अब मलाई राम्रो लाग्न थालेको छ।
मेरो विद्यालयमा नर्सरीदेखि कलेजसम्म पढाइ हुन्छ। विद्यालयको अलग्गै पर्खाल र भवन छ। हाम्रो त चौर पनि ठूलो छ। ब्रेकमा रमाएर खेल्न पाइन्छ। हाम्रो विद्यालयको पठनपाठन पनि राम्रो छ। बुझ्नेगरी पढाइन्छ। उत्कृष्ट नतिजा ल्याउने र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उचित छात्रवृत्ति व्यवस्था छ। हाम्रो विद्यालयमा समय पालना र अनुशासनमा ध्यान दिइन्छ।
आजभोलि पुरानो विद्यालयको पनि याद आउन थालेको छ।
मेरो पुरानो विद्यालय बिहान नौ बजे सुरू हुन्थ्यो। मलाई विद्यालय पुग्न जम्माजम्मी पाँच मिनेट समय लाग्थ्यो। विद्यालयको गेट भित्र छिर्दा गेटका दाइदिदीहरूले 'गुड मर्निङ बाबु' भन्नुहुन्थ्यो। गेट भित्र पसिसकेपछि अंग्रेजीमा बाेल्ने चलन थियो। गृहकार्य डायरीमा कक्षा शिक्षक र अभिभावकको हस्ताक्षर सधैं हेरिन्थ्यो। कक्षाका विषयहरूका अतिरिक्त अन्य विषयहरू पनि पढाइ हुन्थ्याे। युसिमासको पढाएले मलाई दिमागमै गणना गर्ने क्षमता दिलायो। युसिमासको परीक्षामा उत्कृष्ट भएर पाएको मेडल कोठामा सजाएर राखेको छु।
हप्तामा एक घण्टी योग कक्षा हुन्थ्यो। पियानो बजाउन र गीत गाउन पनि सिकाइन्थ्यो। पियानाेभन्दा पनि हामीले पियानिका सिक्थ्यौं। हामीलाई गर र सिक भन्नु हुन्थ्यो। गाह्रो प्रश्नको उत्तर मात्र सेतो पाटीमा लेखिदिनु हुन्थ्यो। साथीहरूसँग राम्रो घुलमिल थियो। अहिले पनि मेरा पुराना विद्यालयका साथीहरूसँग कुरा भइरहन्छ।
आजभोलि लकडाउनमा मेरो बढी समय इन्टरनेटमै बित्न थालेको छ। नेटमा गेम पनि खेल्छु। नेपालको सीमा अतिक्रमणका कुराहरू आजभोलि धेरै आइरहेका छन्। भारतले नेपालको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीको करिब ३७२ वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरेको बुझिएको छ। त्यो कुराले मेरो मनमा गम्भीर चोट पुर्याएको छ।
मेरो घर दार्चुला जिल्लाको गोकुलेश्वर नायल हो। आजभोलि शैल्यशिखर नगरपालिकामा पर्छ। मेरा पुर्खाहरू त्यहाँका जमिन्दार हुन्। मेरो गाउँमा भएका चार वटा घरमध्ये एउटा सानोघर (खर्क) थामुमा छ। आजभोलि त्यो घरमा एउटा गाउँले आन्टीको परिवार बस्छ। कहिलेकाहीँ त्यो घरमा पुग्दा प्रेमपूर्वक स्वागत पाइन्छ।
मेरो भारतप्रति मित्र भाव नै छ। छिमेकीसँग मित्रता कायम गरिराख्नु असल कार्य हो। नेपाल र भारतमा धार्मिक, सांस्कृतिक समानता पनि छ। कहिलेकाहीँ मामा घर जाँदा भारतको बाटो भएर जाने गरेको छु। मेरो कपाल काट्ने भारतीय नै हुन्छन् प्रायः। हामीले फलफूल र तरकारी किन्ने कतिपय पसलेहरू भारतीय नै हुन्छन्। मैले पार्टीमा लगाउने लुगा पनि भारतीय नै हो। हुदाँ हुदाँ मैले लेख्ने कलम पनि भारतमै बनेको छ। तर जुन सामान भए पनि त्यसको मूल्य मैले तिरेको छु।
नेपाल र भारत असल छिमेकी हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आध्यात्मिक नेता हुनुहुन्छ। नेपालमा पनि उनलाई असल मित्र मान्थे। मित्रवत उच्च सम्मान गर्थे। वि.स. २०७२ को नाकाबन्दी पछि नेपालमा उहाँको सम्मानमा गिरावट आएको छ। अहिले फेरि भारतले नेपालको मेरो जिल्लाको भू–भाग अतिक्रमण गरेको छ। त्यो माटो हाम्रो पिता पूर्खाको हो। मलाई त्यो भूमी प्रति अपार माया छ।
सम्मानीय मोदी जी ! हमारा अतिक्रमित भू–भाग वापस कर्दो ना...
(मनोज्ञ विष्ट ऐश्वर्य विद्यानिकेतन धनगढी, कैलालीमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)