सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम गीत पछाई हो। अहिले म कक्षा ५ मा अक्षरा स्कुल काँडाघारीमा पढ्छु। मेरो कथा संग्रह 'द ट्रेजर हन्ट' दुई वर्ष अगाडि प्रकाशित भएको थियो। अहिले अर्को किताब निकाल्ने तयारी गर्दैछु। आठ वर्षमा पहिलो किताब निकालेकी थिएँ। त्यसपछि धेरै कथा लेखहरू विभिन्न बाल पत्रिकामा पनि छापियो।
अहिले म दश वर्षकी भएँ। त्यसैले, किताब पनि पहिलाको भन्दा अझ राम्रो निकाल्ने प्रयासमा छु। अहिले नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि घरबाहिर कतै पनि निस्कन नमिल्ने भएकाले घरमै बसेकी छु। लकडाउन विश्वभरि फैलिएको कोरोना भाइरसको कारणले भएको हाे। हामी घरभित्र बसेको पनि लामो समय भइसकेको छ।
कोरोना एउटा डरलाग्दो भाइरस हो यसले धेरैको जीवन लिइसकेको छ। अझै लिइरहेको छ। नेपालमा पनि आजको दिनसम्म ३ जनाको मृत्यु भइसकेको छ। कतिले यो भाइरसलाई हल्का रूपमा लिएको पनि सुनेको छु तर यसलाई हल्का लिनु हुँदैन। यसले पछि हाम्रो ज्यान लिन पनि सक्छ। त्यसैले, अहिलेको अवस्थामा घरभित्रै बस्नु, साबुनपानी या स्यानिटाइजरले हात पटकपटक सफा गर्नु। नाक, मुख, आँखा सकेसम्म नछुनु। तातो पानी पिउनु। राम्रो सँग सुत्नु। ननभेजिटेरियन चिजहरूलाई राम्रोसँग पकाएर मात्र खानु।
अरू मान्छेको सम्पर्कमा नबस्नु, बाहिर निस्कन अति जरूरी भए मास्क लगाएर, हातमा पन्जा लगाएर मात्रै जानु। बाहिरबाट आउँदा लगाएको कपडा सबै धोइहाल्नु र आफू पनि मन तातो पानीले नुहाउनु उचित हुन्छ। यो बेलामा हामीले डाक्टरहरूको कुरा मान्नु पर्छ सरकारले गरेको कामलाई सहयोग गर्नुपर्छ।
चीनको वुहानबाट फैलिएको कोरोनाले इटाली, स्पेन, अमेरिका, दक्षिण कोरिया, भारत, ब्राजिल लगायतका धेरै देशमा थुप्रै मानिसको मृत्यु भयो। नेपालमा पनि छ सयभन्दा बढीमा कोरोना भाइरस देखिएको छ। देशभरिका विद्यालय बन्द भएकाले हामी विधार्थीलाई घरमा पनि गाह्रो हुनु स्वभाविक हो। कतिपय स्कुलले यो समयमा अनलाइन कक्षा सञ्चालन गरेर सिक्ने अवसर दिइरहनुभएको छ। यो सबैको पहुँचमा भने छैन। म पनि त्यो भाग्यमानीमा पर्छु।
अक्षरा स्कुलले पनि अनलाइन सञ्चालन गरेको छ। त्यसैले, शनिबार र आइतबारबाहेक अरू दिन नौ बजेदेखि साढे तीन बजेसम्म कक्षामा पढेर, होमवर्क गरेर बिताउँछु। मैले यो समयलाई सिक्ने अवसरको रूपमा लिएको छु। अरू बेला सधैं व्यस्त हुने ममीबाबा पनि घरमा बस्नु भएको छ। त्यसैले, उहाँहरूसँग राम्रो समय बिताउने अवसर पनि हो।
अहिले मेरो दोस्रो किताब लेखेर भर्खरै सकेँ। अब यसको सम्पादन गर्दैछु। बाबासँग संगीत पनि सिक्दैछु। युट्युबमा हेरेर आर्ट गर्न पनि सिक्दैछु। घरमा ममीसँग मिलेर किचनको काम गर्दा रमाइलो लाग्छ। झापामा रहनुभएको हजुरआमा, हजुरबुबासँग दिनहुँ भिडियो च्याट गर्छु। मामाको छोरी (बहिनी), ठूलो ममीको छोराछोरी (दादादिदी) सँग पनि भिडियो च्याट गर्छु। यसो गर्दा रमाइलो लाग्छ। त्यहाँ के भइरहेको छ सबै थाहा हुन्छ।
विदेशमा रहेका साथीहरूसँग पनि कुराकानी गर्छु भिडिओ मार्फत। यो व्यावहारिक ज्ञान हो हामीलाई सधैं काम लाग्छ। ममीले भन्नुहुन्छ, 'यो अवसरलाई सदुपयोग गर्नुपर्छ। आफूलाई मनपर्ने काम गर्नुपर्छ।' त्यसैले, म सकेसम्म धरै कुरा सिक्ने कोशिस गरिरहेकी छु। तपाईंहरू पनि लकडाउनको समयमा घरमै बसेर सिक्न मिल्ने कुरा सिक्नुहोस्।
हाम्रो परिवारमा हजुरबा हजुरआमा हुनुुहुन्छ। उहाँहरूबाट पनि धेरै कुरा जान्न पाइन्छ। त्यसैले, उहाँहरूसँग समय बिताउने कोशिश गर्नुहोस्। यही बेलामा सिलाई, बुनाई, चित्रकला, नाच, कुकिङ, संगीत, योग आदि पनि सिक्न सक्नुहुन्छ। आफूले अभिभावकबाट होमवर्क मागेर पनि गर्न सक्छौं। प्रविधीको सदुपयोग गरेर युट्युबमार्फत पनि धेरै कुराहरू सिक्न सकिन्छ। यसलाई अल्छिलाग्दो समय होइन राम्रो अवसरको रूपमा लिएर रमाउनुहोस्, म जस्तै।
संसारभरिका विधार्थीले पनि हामीले जस्तै समयको सामना गर्नु परेको छ अहिले। यसलाई सही सदुपयोग गर्नुहोस् जसले दिमाग, शरीर स्वास्थ्य रहन्छ। अनि हामी भविष्यमा अहिले सिकेको कुरालाई हाम्रो जीवनमा प्रयोग गर्न सक्छौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)