सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम रचना वि.क. हो। म ११ वषर्की भएँ। अहिले चार कक्षा पास गरेँ। म हार्भेष्टमुन सेकेन्डरी बोर्डिङ स्कुल तातापानी, सुर्खेतमा पढ्छु।
कोरोना भाइरसले गर्दा लकडाउन भएको कारण विद्यालय नखुलेकाले पाँच कक्षामा भर्ना हुन पाएको छैन। मेरो घर बारेकोट गाँउपलिका वडा नं ८, सेपुखोला जाजरकाेट हो। अहिले म, बाबा, ममी र बहिनीसँग वीरेन्द्रनगर नगरपालिका वडा नं ३, तातापानी सुर्खेतमा बस्छु।
मेरो बाबाको नाम हृदयमान हो। बाबा अफिसमा काम गर्नुहुन्छ। लकडाउन भएदेखि बाबाले घरमै बसेर अफिसको काम गरिरहनुभएको छ। मम्मीको नाम कमला। ममी गृहिणी हुनुहुन्छ। उहाँले घरको काम गर्नुहुन्छ। बहिनीको नाम गरिमा। मेरो बहिनी ८ वर्षकी भइन्। बहिनीले अहिले एक कक्षा पास गरिन्। लकडाउनको कारण बहिनीले पनि दुई कक्षामा भर्ना हुन पाएकी छैनन्।
लकडाउनको समयमा म र मेरो बहिनी घरमै बसेर इन्टरनेट चलाउने, चित्र बनाउने, कागजका सामग्रीहरू बनाउने, खेल्ने, पढ्ने, लेख्ने आदि गर्छौं। यो समयमा मैले इमेल खाता खोल्न, इमेल पठाउन र पाउन सिकेकी छु। यसमा मलाई बाबाले सहयोग गर्नुभयो। मलाई चित्र बनाउन र कागजका सामग्रीहरू बनाउन साह्रै मन पर्छ। मैले लकडाउनको समयमा कागजका फोटो फ्रेम, फूलहरू, नयाँ वर्षको शुभकामना पोस्टर, बर्थ-डे कार्ड र विभिन्न चित्रहरू बनाएको छु।
लकडाउनको समयमा मैले अन्य घरायसी कामहरू पनि सिक्ने अवसर पाएँ। यो समयमा मैले खाना पकाउन, कपडा धुन, भाँडा माझ्न, कोठा सफा गर्न सिकेँ। यसमा मलाई ममीले सहयोग गर्नुभयो। अचेल म ममीलाई यी घरायसी काममा सघाउँछु। लकडाउनको समयमा मैले घरमा विभिन्न खाजाका परिकारहरू पनि पकाउन सिकेँ। त्यसको लागि युट्युबको सहयोग लिएँ। युट्युबमा हेर्दै सबै जना मिलेर मःम, रसबरी, जेरी, अलुचिप्स, चाउमिन लगायत पकाएर खायाैं।
लकडाउनको समयमा मैले गमलामा खेती गर्न पनि सिकेँ। हामीले पुराना प्लाष्टिकका भाँडा र बोरामा माटो भरेर गमला खेती गरिरहेका छाैं। त्यसमा हामीले सिमी, भिन्डी, साँग, खुर्सानी, भेन्टा लगाएका छाैं। म बेलाबेला तरकारीका विरूवामा पानी हाल्छु र गोडमेल गर्छु।
लकडाउनको सुरूसुरूको समयमा त रमाइलै लागेको थियो। अहिले दुई महिनापछि पनि लकडाउन नखुल्दा नरमाइलो र अत्यास लागेको छ। हामी बस्ने ठाउँ सहर भएकाले बाहिर जान मिल्दैन। त्यसैले धेरै समय घरभित्रै बस्दा उकुसमुकुस हुन थालेको छ। यति लामो समय लकडाउन हुने थाहा भए पहिले नै गाँउको घरमा गएको भए पनि हुन्थ्यो भन्ने लागेको छ।
हाम्रो गाँउको घरमा हजुरबुवा, ठूलोबुवा, ठूलीआमा, अंकल, अन्टी, दाइदिदी, भाइहरू हुनुहुन्छ। उहाँहरू फोन गरेर घरमा आइहाल भन्नुहुन्छ। अहिले घर जान सम्भव छैन। मलाई कहिले लकडाउन खुल्ला र विद्यालय जाउँला जस्तो भएको छ। विद्यालयमा गएर साथीहरूलाई भेट्न, सँगै पढ्न, लेख्न, खेल्न पाए हुन्थ्यो जस्तो लागिरहेको छ। कक्षाका साथीहरू र टिचरहरूको साह्रै याद अइरहेको छ। यो कोरोना भाइरस छिट्टै हटोस् र लकडाउन खुलोस् भन्ने कामना गर्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)