सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम कृतिका पोखरेल हो । मेरो घर भद्रपुर-७ मा पर्छ। कोरोनाको महामारीको कारण लगभग दुई महिनादेखि हाम्रो विद्यालय पनि बन्द भएको छ।
लकडाउनको समयमा म मेरी सानी बहिनीसँग खेल्छु। उसलाई नाच्न अनि अन्य विभिन्न क्रियाकलाप गर्न सिकाउँछु। फुर्सदमा आमाबाबालाई आफूले गर्न सक्ने काममा मद्दत गर्छु। कहिलेकाही मोबाइलमा गेम खेलेर मनोरञ्जन लिने गर्छु।
कहिलेकाहीँ त लकडाउनको अवधि धेरै भएर मलाई दिक्क पनि लाग्छ। याे समयमा कुनै साथीहरूको घरमा गएर उनीहरूसँग खेल्न, रमाइलो गर्न पनि पाइँदैन। सधैं घरभित्र थुनिएर रहनुपर्दा वाक्क लाग्दो रहेछ। यदि यो लकडाउन नभएको भए, साथीहरूसँग रमाइलो गरिन्थ्यो। खेल्न तथा घुम्न गइन्थ्याे होला।
मेरो जन्मदिन पनि लकडाउनकै समयमा परेको हुनाले धुमधामसँग मनाउन पाइएन। बिहानै उठेर नुहाएर भगवानसँग प्रार्थना गरी आमाबाबा, हजुरआमाको आशिर्वाद लिएर रमाइलो गरियो। म कहिलेकाहीँ जाँगर चलेको बेलामा कथा तथा कविता पनि लेख्छु।
लामो समयदेखि विद्यालय बन्द भइरहेकाले अहिले घरमै बसेर अनलाइन कक्षाबाट अध्ययन गरिरहेकी छु।
अनलाइन कक्षामा मोबाइलबाट गुरूबा र गुरूआमाले पाठ सिकाउनुहुन्छ। म अनलाइनबाटै मेरो गृहकार्य गर्छु। मेरो पढाइमा पनि रूचि बढेको छ। धेरै समयदेखि भेटघाट नभएका साथीहरूसँग अनलाइनमा कुराकानी गर्न पाउदा रमाइलो पनि लाग्छ। आफूले नबुझेको कुराहरू र साथीहरूले नबुझेको कुराहरू आपसमा साटासाट गर्ने गर्छौं।
अहिलेको यो महामारीबाट बच्न दिनहुँ मास्कको प्रयोग गर्ने अनि पटकपटक साबुनपानीले मिचिमिची हात धुने गर्छु। हाम्रो टोलमा स्वास्थ्यकर्मीहरूले सही तरिकाले हात धुने र मास्क लगाउने विधि सिकाउनुभएको छ।
लकडाउनले बजार बन्द भए पनि सागसब्जी तथा फलफूल व्यापारीहरूले घरघरमा ठेलागाडीमा ल्याएर उपलब्ध गराउँछन्। जसले गर्दा दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएको छैन। हाम्रो घर वरिपरि एउटा सानो बारी छ। त्यहाँ पनि अर्गानिक सागसब्जी फलाएका छौं। फूलबारीमा फूलहरू रोप्ने र गोडमेल गर्ने गर्छु।
यसरी नै मेरा दिनहरू बित्छन्। यस्तो लकडाउनको अनुभव पहिलो पटक हो। सुरूसुरूको दिन घरभित्रै बसिराख्दा अनौठो लाग्थ्यो। बिस्तारै बानी भएको छ। तर, म चाहन्छु यो सबै छिट्टै सकियोस्। धेरैलाई यसरी बस्न गाह्रो पनि भएको छ।
(कृतिका पोख्रेल सेन्ट जेवियर्स स्कुल देवनिया, झापामा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)