सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वव्यापी विस्तारित कोरोनाको संक्रमणको कारण नेपाल लकडाउनमा छ। विकसित मुलुक जस्तै चीन, भारत र अमेरिका लगायतमा कोरोनाका कारण मर्ने मानिसको संख्या धेरै नै छ।
छिमेकी देश चीन र भारतमा महामारी ठूलै रूपमा फैलिएको भए पनि नेपालमा भने त्यसको धेरै असर देखिएको छैन। तर पनि सजग रहन नेपाल सरकारले मुलुकभर लकडाउन गरेको छ।
हामी नेपालीले त्याे सजगता पहिलेबाटै अपनाएकाे हाे कि? हाम्रो संस्कृतिले नमस्कार गर्न सिकाएको छ, कतै गएर आउँदा हातखुट्टा धुन सिकाएको छ। त्यसैले नेपालले कम मानवीय क्षति बेहोरेको जस्ताे लाग्छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बेस भएकाले लकडाउनलाई यति लामो समयसम्म सबैले दुःखकष्टका साथ पालन गरेका छन्।
हरेक कुराको फाइदा-बेफाइदा दुवै हुन्छ। जसरी कालो बादलमा पनि सेतो चाँदीको घेरा हुन्छ, त्यसैगरी विद्यार्थीहरूलाई लकडाउनले फुर्सदको समय पनि प्रदान गरेको छ। यो अमूल्य समयलाई सदुपयोग गर्नु हामी सबैको बुद्धिमानीपन हो।
हाम्रो विद्यालयले भर्चुअल तथा अनलाइन कक्षा सुरू गरेको छ। मैले अनलाइन कक्षा बाबाले लिएको त देखेकी थिएँ तर आफैंले अनुभव गर्न पाएकी थिइनँ। मलाई अनलाइन कक्षामा कसरी पढ्ने तथा शिक्षकले कसरी पढाउनुहुन्छ र कक्षा कोठाजस्तै हुन्छ कि अझ रमाइलो हुन्छ होला भन्ने कौतुहलता थियो।
पहिलो दिन शिक्षकहरूले कक्षाकोठामा जस्तै रमाइलो गरी पढाउनुभयो। शिक्षकले पावरपोइन्ट प्रस्तुत गरेर सिकाउँदा अझ रमाइलो भयो। धेरै पछि साथीहरूलाई अनलाइनमार्फत भेट्दा रमाइला कुरा गरी बस्यौं। त्यसले गर्दा हामी प्रविधीमा रम्न रमाउन सिक्यौं। हाम्रो अनलाइन कक्षा माइक्रोसफ्ट टीममार्फत हुन्छ। पहिले 'युजरनेम' र 'पासवर्ड' टाइप गरी लग-इन गर्नुपर्छ भन्ने कुरा पनि जानियो।
रूटिनअनुसार विभिन्न विषयको पढाइ हुन्छ। हाम्रो विद्यालयले समयको सदुपयोग गर्न र घरमा पढ्ने वातावरण बनाउन अनलाइन कक्षा सुरू गरेको हो। कक्षाकोठामा जस्तै शिक्षकहरूले हाम्रो लागि सक्दो मिहेनत गर्नु भएको छ।
अनलाइन कक्षामा हाम्रा कतिपय साथीहरू छुटेका पनि छन्। उनीहरूको उपस्थिति भए अझ कति रमाइलो हुन्थ्यो होला। मेरो चाहना छ कि उनीहरू बस्ने ठाउँमा पनि इन्टरनेटको सुविधा भए हुन्थ्यो। मलाई यी सबै कुरा भयो भने निकै रमाइलो लाग्थ्यो। यस्ता कक्षाबाट रमाइला विषयका थप ज्ञान आर्जन गरी फाइदा लिनसके नियमित कक्षा प्रभावकारी र सजिलो हुन्छ भन्ने आशा गरेकी छु। इन्टरनेटबाट अझ बढी कुरा सिक्न सकिन्छ। सुरूमा यो कार्य गारो भएता पनि सजिलै साथीहरूसँग सोसल मिडियामार्फत सोध्न र भन्न सक्छौं।
यसैगरी लकडाउनमा पारिवारिक माया-ममता, फुलबारीको हेरचाह भएको छ। अहिले भान्छामा आमाले मात्र होइन, बुबाले, दाइले र मैले पनि धेरै प्रकारका खानेकुरा बनाउन सिकेका छौं। टिकटक बनाउने, नाच्ने, योग गर्ने, तरकारी खेती गर्दा बारीमा र कौसीमा बीउबिजन कसरी लगाउने आदि धेरै कुरा पनि सिकेका छौं।
यसो सम्झन्छु, विश्व त एउटा घरजस्तै पो रहेछ। यो समयमा धेरै कुरा गुमाएजस्तो लागे पनि धेरै कुरा पाएका पनि रहेछौं। आखिर यो समय सिक्न चाहनेका लागि सुनौलौ अवसर रहेछ।
(जिनियल पौडेल कक्षा बुढानिलकण्ठ स्कुल नारायणस्थान, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)