सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो...'
मेरो गाउँ ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकास्थित पोकली भन्ने ठाउँमा पर्छ। म वर्षको एकपटक अन्तिम परीक्षा सकिएपछि आफ्नो गाउँ गएर रमाउँथेँ। यसपटक भने कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा अन्तिम परीक्षा सकिएपछि म प्यारो गाउँ पोकली गएर रमाउन सकिनँ।
पोहोर-परार गाउँमा गरेका कुराहरू सम्झेर समय बिताउने गरेकी छु। मलाई पोकली झरनामा हेरेर रमाएको, गाईबाख्रा चराउन छिमेकीहरू सँगसँगै वनपाखा डुलेको, कोइलीको कुहुकुहु सुन्दै ऐंसेलु र काफल टिपेर खाएको असाध्यै सम्झना आउँछ। त्यस्तै, पोकली खोलाबाट आएको कुलोमा साथीहरू र बाबासँग खोलाको दहमा पौडी खेलेको पनि सम्झिरहन्छु।
हजुरबुबा र हजुरआमाले माया गरेर दिएको कोदाेको रोटीसँगै नुनखुर्सानी र दही, भुटेको मकै र मोही खाएको पनि बिर्सेकी छैन। हजुरआमाले करेसाबारीमा रसायनिक मल र किटनाशक औषधि बिनै उत्पादन गरेको अर्ग्यानिक तरकारी, रायो र तोरीको सागबाट बनाएको गुन्द्रुकको अचार सम्झँदा आहिले पनि मुख भरी पानी आउँछ। हजुरबुबाले बिहानबेलुका भैंसी दुहेको, आफन्तहरूले ढिकी कुटेको र जातो पिसेको झल्झली याद आइरहन्छ।
मेसिनबाट कुटेर पोलिस गरिएका चामल, विषादी प्रयोग गरिएको तरकारीभन्दा गाउँमा ढिकीबाट कुटेको चामलको भात र गुन्द्रुकको तरकारी सम्झँदा अहिले पनि मलाई गाउँमा पुगेको भान हुन्छ। मेलापातमा गाउने गीत सुनेर नाचेको सम्झँदा अहिले पनि छमछमि नाचौं जस्तो लाग्छ। अर्को कुरा गाउँमा भैंसीको दूधबाट बनेको कुराउनी र चिउरा खाँदै हजुरबुबाले घर नजिकैको चौतारीको वरपीपलको हाँगामा हालेको पिङ भाइबहिनीसँग आलोपालो खेलेको, पालो मिचेको र कहिलेकाहीँ पालो नपाएर सानोतिनो झगडा गरेको अनि तुरून्तै मिलेको पनि मलाई धेरै सम्झना आउँछ।
गाउँमा भाइबहिनीसँग खुल्ला चौरमा दौडादौडी गरेको, गोठ र मतानमा लुकामारी खेलेको, भञ्ज्याङवारि माथिको जंगलमा हाँस्दै उफ्रँदै पाखा पखेरा चहारेको, लालीगुराँसको फूल कपालमा सिउरेर नक्कल पारेको पनि मलाई धेरै सम्झना आउँछ। अन्नबाली र फलफूलका बोटबिरूवाका फोटा मात्रै देखेकी, बोटबाटै टिपेर ताजा फलफूल र तरकारी टिपेर नखाएकी मलाई हजुरबुबाले हातको औंला समाउँदै बगैंचामा लगेर चिनाउँदा आफूलाई संसारकै भाग्यमानी ठानेर खुसीले चिच्याउँदै उफ्रेको पनि सम्झना आइनैरहन्छ।
कोरोना भाइरसका कारण मेरो प्यारो गाउँ पोकली पुगेर रमाउन नपाए पनि अगाडिका वर्षहरूमा बिताएका रमाइला दिन सम्झेर समय बिताइरहेकी छु। सहरको कोलाहाल, धुवाँधूलो ,महंगी र फोहोरमैला आदिबाट टाढा मेरो गाउँको स्वच्छ र सफा वातावरण, शुद्ध पानी, ताजा खानेकुरा र खुल्ला ठाँउ आदिको सम्झना नै मेरो लकडाउन बिताउने साथी बनेका छन्।
कहिलेकाहीँ मलाई गाउँको यति धेरै सम्झना आउँछ कि शब्दमा वर्णन गर्दा पनि मनमा आनन्द लागेर आखाँमा खुशीको आँसु आउँछ।
लकडाउनले गर्दा म पखेटा नभएको चराझैं भएकी छु। कोठा मै थुनिएकी छु। मोबाइल वा टिभीमा हराउने भएकी छु। बेलाबेला मलाई माधव प्रसाद घिमिरेको एउटा कविता याद आउँछः
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमाल चुली मुन्तिर पानी भर्ने पँधेरो।
सम्झन्छु म हिउँचुली आसुँको ढिका खसाली
यो विरानो मुलुकमा बस्दैन माया बसाली।
(एलिसा घिमिरे सैनिक आवासिय महाविद्यालय सल्लाघारी, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)