सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मलाई सधैं स्कुल जान दिक्क लाग्थ्यो। सधैं एउटै काम। स्कुल गयो, आयो, होमवर्क गर्यो। कहिलेकाहीँ भगवानसँग भन्ने गर्थेँ- दुई महिना छुट्टी भए पनि हुन्थ्यो। केही नगरी घरमा बस्न पाए हुन्थ्यो।
आज संसारभर कोरोना रोग फैलिएर नेपालमा पनि लकडाउन भएको छ। धेरै दिन घरमा बस्दा कहिले बाहिर जाउँ जस्तो भइसक्यो। स्कुलको र साथीहरूको पनि याद आइसक्यो। यसरी घर बस्दा मलाई केही फाइदा र केही बेफाइदा भयो।
फाइदाः
१. मामुबाबासँग समय बिताउन पाउनु। किनकी मेरो मामुबाबाको शनिबार मात्र बिदा हुन्थ्यो। बाबामामुले म र दाइलाई यति धेरै समय दिएको याद नै छैन। मेरो अनलाइन क्लासको होमवर्क गर्न पनि बाबामामुसँग सोधेर सजिलो भएको छ।
२. बाबामामुसँग समाचार हेर्ने बानी सिकेको छु। यो बानी सधैं राख्ने प्रयास गर्नेछु।
३. दाइसँग गेम खेल्न पाएको छु। पहिले उसको साथीसँग खेल्थ्यो, अहिले साथी नभएकाले म सँग खेल्छ।
४. मैले चिया चाउचाउ र अण्डा बनाउन सिकेँ। मैले तरकारी काट्न पनि सिक्ने मौका पाएँ। मलाई अब भोक लाग्दा कसैको भर पर्न पर्दैन।
५. मैले पियानो बजाउन पनि सिकेँ। म धेरै खुसी छु।
६. इमेल गर्न र एक्सेल चलाउन सिकेँ।
बेफाइदाः
१. बिहान ढिलो उठ्छु र अलि अल्छी भएको छु।
२. रेस्टुरेन्टको खाना नखाएको र हलमा सिनेमा नहेरेको धेरै भयो।
३. साथीहरूसँग नभेटेको र स्कुलमा नखेलेको धेरै भयो।
४. आफन्तहरूसँग नभेटेको धेरै भयो।
५. बजार गएर सामान किन्न पाएको छैन।
मलाई पहिलेदेखि घर बस्न मन लाग्थ्यो। घरबाटै अनलाइन क्लास भएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। अनलाइन क्लास लिन पाएकोमा धेरै खुसी छु। यो मेरो नयाँ अनुभव हो। कम्प्युटरमा होमवर्क गर्न धेरै मन लाग्छ कापीमा भन्दा। साथीहरूलाई भने धेरै मिस गर्छु। तर अहिले बाहिर नजानु नै सबैलाई राम्रो हुन्छ।
आफूमात्र नभई परिवारलाई पनि कोरोना सर्ने हुनाले हामीले आफू पनि बाहिर जान हुँदैन र अरूलाई पनि सिकाउनु पर्छ।
(आयाम अधिकारी काष्ठमण्डप विद्यालय मण्डीखटार, काठमाडाैंमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)