सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक, र लिम्पियाधुरा समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको करिब ८/९ महिना भइसक्यो। यति मात्र नभई भारतले नेपालको अनुमति नै नलिई लिपुलेक हुँदै मानसरोवर जाने सडक पनि उद्घाटन गरिसक्यो। यसकारण नेपालमा भारतको सो कदमको हरेक तहबाट व्यापक विरोध भइरहेको छ।
भारतले कालापानी, लिपुलेक, र लिम्पियाधुरा आफ्नो भएको दाबी गर्दै आएको छ। नेपाल सरकारसँग ती भू–भागहरू आफ्नो भएको धेरै प्रमाण छन्। यति हुँदाहुँदै पनि भारतले वार्ता गर्न इच्छा देखाएको छैन। सायद आफूसँग कुनै ठोस प्रमाण नभएर होला भारत वार्ता गर्न इच्छुक नदेखिएको र मौन बसेको छ।
सन १८१६ को सुगौली सन्धिका अनुसार महाकाली नदीको पूर्वतर्फको भू–भाग नेपाल र पश्चिमतर्फ भारत हो भन्ने कुरा स्पष्ट नै छ। सन् १९६९ मा नेपाल सरकारले भारतलाई लिपुलेकमा भारतीय सेनाको अस्थायी ब्यारेक स्थापना गर्न अनुमति दिएको थियो। त्यो बेलादेखि अहिलेसम्म त्यो ठाउँमा भारतका सेना तैनाथ छन्। तर बिडम्बना हाम्रो नेपाली सेनाको भने उपस्थिति पनि छैन। हालै नेपाल सरकारले शसस्त्र प्रहरीको एउटा टुकडी पठाएको छ।
छिमेकी देशबीच सिमाना सम्बन्धी विवाद हुनु स्वभाविक हो। भारतको सिमाना अरू देशसँग पनि जोडिएको छ। ती छिमेकी मुलुकसँग पनि भारतको सीमा सम्बन्धी विवाद रहिआएको छ। हालैका दिनमा भारत र बंगलादेशबीच सिमाना विवाद वार्तामार्फत समाधान भएको पनि उदाहरण छ।
नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भए पनि भारतले पहिल्यैदेखि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ। भारतले नेपालका हरेका आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ। कालापानी त एक उदाहरण मात्र हो, भारतले नेपालका अन्य धेरै क्षेत्रका भू–भाग अतिक्रमण गरेको छ। सीमा मिचेको छ र रातारात सीमा स्तम्भ सारेको समाचार पनि हामी पढ्दै र हेर्दै आएका छौं।
नेपाल सरकारले भर्खरै कालापानी, लिपुलेक, र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजानिक गरेको छ। तर नक्सा सार्वजानिक गर्दैमा हाम्रो खोसिएको भू–भाग फिर्ता आउँदैन। बरू दुवै देशका सीमा विज्ञ र विशेषज्ञहरू बसेर आ–आफ्ना प्रमाण केलाएर, छलफल गरी यस विवादलाई हल गर्नु पर्छ। छिमेकी राष्ट्रसँग सधैं मधुर सम्बन्ध कायम राख्नु पर्छ। झै–झगडाबाट हैन, वार्ताको माध्यमबाट समस्या समाधान गरून्।
(तपन कणेल पाठशाला नेपाल फाउन्डेसन बागडोल, ललितपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)