सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
वर्तमान समयमा कोरोनाको नाम नसुनेको व्यक्ति पक्कै कोही छैनन् होला। यो चीनको वुहान सहरबाट सुरूवात भएर तीव्र गतिमा फैलिएकाे घातक रोग हो। यो रोग श्वास प्रश्वासको माध्यमबाट फैलने भएकाले सामूहिक मेलमिलाप यसका लागि हानिकारक हुन्छ।
काेराेनाकाे प्रतिरोधात्मक औषधि हालसम्म पनि उप्लब्ध नहुँदा सामूहिक मेलमिलाप नगर्नु नै उचित मानिएको छ। यसकारण विभिन्न देशमा सरकारको आदेश बमोजिम मानिसको हुल तथा भेला जम्मा हुने स्थलहरू बन्द गरिएका छन्। झन् संक्रमणको त्रासले व्यर्थ डुल्न पनि निषेध गरिएको छ।
यो सब लकडाउन र महामारीको बीचमा वायु प्रदूषणमा न्यूनीकरण भइरहेको कतिपय मानिसलाई थाहा छैन होला। लकडाउन र महामारी अगाडि सहर धूलोधुवाँले भरिएकाे थियो। प्रदूषणको मात्रा पनि धेरै थियो। तर अहिलेको स्थिति हेरौं वायु मण्डल धुवाँ निकाल्ने हवाइजहाजबाट मुक्त छ। सडक धुवाँ निकाल्ने मोटरबाट मुक्त छ। झन् वायु प्रदूषणको मुख्य कारक तत्व कलकारखाना पनि संचालनमा छैनन्। यी सब कारणले गर्दा वायु प्रदूषणमा न्यूनीकरण देखिएको हो।
वायु प्रदूषण न्यूनीकरण हाम्रो देशमा मात्र नभई विश्वभर देखिएको छ। कार्बन उत्सर्जन गर्ने अग्र स्थानमा पर्ने देशहरू कोरोनाबाट ग्रसित भएका कारण वायु मण्डलमा कार्बनको मात्रामा कमी आएको छ। विज्ञहरूको जानकारी अनुसार पृथ्वीलाई हानिकारक किरणबाट बचाउने ओजन सतहमा परेको प्वाल पनि तीव्र गतिमा पुरिरहेको छ। अस्पतालहरूले जनाएअनुसार वायु प्रदूषणबाट लाग्ने रोगका रोगीहरूको मात्रामा तुलनात्मक रूपमा कमी आएको छ।
माथि उल्लेखित परिवर्तन मानवलाई मात्र नभई पृथ्वी र पृथ्वीमा आस्रित सबै प्राणी र वनस्पतिका लागि महामारी बीचको खुसीको खबर मान्न सकिन्छ। लकडाउन वायु प्रदूषणको नजरबाट हेर्दा सकारात्मक नै मान्न सकिन्छ। झन् अहिले त काठमाडाैंमा वर्षा भएर आकाश झनै सफा भएको सबैले देखेकै होलान्। रमाइलो अनुभव पनि गरिरहेका होलान्।
(प्रथित पुजारा बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)