सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अनिमेष रिजाल हो। म धापासीस्थित अपी स्कुलमा कक्षा ७ मा पढ्छु। अहिलेको यस कोरोना भाइरस महामारीले गर्दा सरकारले देशैभर लकडाउन गरेको छ।
मलाई स्कुल जान मन लागिरहेको छ। शिक्षक र साथीहरूको याद पनि आइरहेको छ। तर के गर्ने? कोरोना भाइरसबाट लड्नका लागि पनि त हामीले सरकारको मद्दत गर्नुपर्छ र घरमै बसिराख्नु पर्छ। हामी कसैसँग सम्पर्कमा आउनु हुँदैन। सुरक्षित भएर घर भित्रै बस्नुपर्छ।
मेरो परीक्षा सकिएपछि हामी सबै घुम्न जाने योजनामा थियौं। कोरोना भाइरसले गर्दा जान पाएनौं। कहिलेकाहीँ त मलाई कोरोना भाइरसदेखि धेरै रिस उठ्छ। घुम्न जान नपाए पनि लकडाउनले हामी सबै परिवारलाई सँगै ल्याएको छ। हामी घुम्न नगए पनि घरमै एक अर्कासँग कुरा गर्छौं, खेल्छौं र एक अर्काको मद्दत गर्छौ।
म बहिनीसँग लुडो, फुटबल, भलिबलजस्ता खेलहरू खेल्छु। बहिनी पनि मसँग खेल्न पाउँदा धेरै रमाउँछे। मामु पनि मसँग भलिबल खेल्नुहुन्छ। हामी सधैं बेलुका भलिबल खेल्छौं र एक अर्कासँग रमाउछौं। हामीले लकडाउनको बेलामा परेका चाडहरू पनि सँगै मनायौं र रमाइलो गर्यौं।
अस्ति भर्खर हामी सबैजना मिलेर मातातीर्थ औंसी धुमधामसँग मनाएका थियौं। मैले त्यस दिन बिहान उठ्ने बित्तिकै एउटा ग्रिटिङ कार्ड बनाएँ र त्यसमा 'ह्याप्पी मदर्स डे' लेखेर मामुलाई दिएँ। मामु धेरै खुसी हुनुभयो। मैले उहाँलाई धेरै सघाएँ र खाना बनाउन पनि मद्दत गरेँ। एकछिन पछि हामीले मामुको मुख हेर्यौं। उहाँलाई मिठाई खुवायौं। हामीले रसबरी बनाएका थियौं। त्यो धेरै मीठो थियो। हामीले मामुलाई मातातीर्थ औंसीको दिन मात्र होइन सधैं मद्दत गर्नुपर्छ। उहाँलाई सम्मान दिनुपर्छ।
दिन बित्दै गयो र लकडाउनको समय थपिँदै गयो। मेरो बाबाको अफिसमा अति आवश्यक काम परेकाले बाबालाई अफिस जानु पर्ने भयो। बाबाको अफिस महेन्द्रनगरमा हो। त्यहाँ जानका लागि बाबासँग अरू दुईजना साथी पनि जानुभएको थियो। तर बाबाको गाडी चितवन नपुग्दै भयानक सडक दुर्घटनामा पर्यो। बाबाको दुवै हात भाँचियो र काठमाडाैं ल्याएर ग्रान्डी अस्पतालमा भर्ना गरियो। उहाँको एउटा हातको अपरेसन गरियो। चार दिन जति अस्पतालमा बसेपछि बाबालाई घर ल्याइयो। बाबाको दुवै हात चलाउन मिल्दैन। त्यसैले अहिले राम्रो हेरचाह गर्नुपरेको छ।
मेरो परीक्षा सकिएपछि हामी महेन्द्रनगर नै घुम्न जान लागेका थियौं। त्यहाँ सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लिङ्गा, नेपाल-भारत सीमा, दोधारा चाँदनीको लामो झोलुंगे पुल जस्ता ठाउँ घुम्ने योजना सखाप पारिदियो। अहिले त हामी घरबाट पनि बाहिर निस्केका छैनौं। कहिलेकाहीँ केही अत्यावश्यक सामान किन्नुपरे मात्रै बाहिर निस्कन्छौं।
म मेरो बाबाको पनि मद्दत गर्छु। बाबालाई औषधी खुवाउने, दाँत माझिदिने, टिभी लगाइदिने जस्ता काम गरेर सघाउँछु र यसले गर्दा मामुको काम पनि सजिलो भएको छ।
हिजोआज मेरो अनलाइन कक्षा पनि चलिरहेको छ। मैले गृहकार्यहरू पनि पाइरहेको छु। अनलाइन कक्षामा पढ्दा शिक्षकहरूको कुरा राम्रोसँग सुन्छु। गृहकार्य पनि समयमै सकाएर बुझाउँछु। म घरमै पनि किताबहरू पढ्ने, चित्र बनाउने जस्ता छुट्टै कामहरू पनि गर्छु। जति धेरै गृहकार्य र अरू काम गरे पनि मामुलाई सधैँ सघाउँछु।
यो लकडाउन अझैं कति थपिन्छ, अझै कति समयसम्म कुर्नुपर्छ भन्ने हामीलाई केही थाहा छैन। तर कोरोना पूर्ण रूपमा नियन्त्रण नभएसम्म घरमै सुरक्षित बस्नुपर्छ। हामीले आफूलाई, समाजलाई, परिवारलाई र देशलाई बचाउनुपर्छ। त्यसैले म आशा गर्छु कि हजुरहरू सबै घरमा बसिरहनुहुनेछ र आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहुनेछ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)