सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'लाग्दछ मलाइ रमाइलो मेरै पाखा पखेरो
हिमाल चुली मुन्तिर पानी भर्ने पँधेरो।'
धेरै नभए पनि मैले आफ्ना बाल्यकालका केही वर्ष मेरै गाउँकै पाखापखेरा, पँधेरा, स्कुल र ठूलो चौरको सेरोफेरोमा बिताएकी छु। मेरो गाउँ पहाडै पहाडले घेरिएको पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा नं १ खरेहामा छ।
चारैतिर हरिया वनजंगल, बिहानीको झुल्के घाममा घर अगाडिबाट सुसाउँदै बग्ने मोदी र काली नदी, चिरबिराउँदै घरको छानोमा आएर बस्ने चरी सम्झँदा गाउँघर र मेरो बाल्यकालको निकै याद आउछ। ती वनमा ढकमक्क फूलेका लालीगुराँस, खेतमा सुनजस्तै झुलेका धानका बाला र तोरीमा भुलेका भमराको सम्झनाले भर्खरै त्यहाँ पुगेर रमाएजस्तो लाग्छ।
हजुरबुवाले भाँचेर दिएको त्यो ऊखुको लाँक्रो सम्झँदा अझै पनि मेरो मुख रसाउँछ। सानो बेला हजुरआमाले दाउराको आगोमा कसौंडीमा पकाएको भात र कालो माटाे दलेको कराइमा पकाएको आलु र घिरौंलाको तरकारी देख्दा मैले 'त्यस्तो कालो भाँडामा पकाएको त खान्न' भनी हजुरआमालाई दुःख दिन्थेँ रे।
अहिले साना बच्चाहरू चोर-पुलिस, लुकामारी खेलेको देख्दा म पनि गाउँघरमा साथीहरूसँग खेलेको र हारेपछि रोएर बसेको सम्झन्छु। मलाई अहिले पनि त्यही चार-पाँच वर्षको उमेरमा छु जस्तो लाग्छ। गाउँघरमा साथीहरूसँग तितेपाती पिँधेर अचार, गड्याैंलाले निकालेको माटाको भात अनि बोकेझारलाई तरकारी बनाएर भाँडाकुटी खेलेको कहिले पो बिर्सिन सकुँला र?
एकपटकको कुरा हो, दसैंको माहोल थियो। म त्यति बेला सानै थिएँ। ठूलो पिङ खेल्छु भनेर जिद्दी गरेर खेलेको बेला लडेर ठूलाे दुर्घटना बचेछु। अहिले त्यो घटना सम्झँदा मेरो आङ नै सिरिंग हुन्छ। हजुरबुवाको बुई चढेर गाउँ डुल्न मलाई निकै रमाइलो लाग्थ्यो। म बुई चढ्न धेरै जिद्दी गर्थेँ।
लिचीको रूखमा चढेर काँचो अमिलो लिची मुख बिगार्दै खाएको र पात टिपेर 'हेर त मसँग कति धेरै पैसा छ' भनेर साथीलाई जिस्काएको सम्झँदा ती दिनहरू पटकपटक फर्केर आइदिए हुन्थ्यो जस्तो लाग्छ। गाउँघरमा व्यापार मेला हुँदा हामी सबै साथीहरू बुबाआमासँग चिटिक्क परेर जान्थ्यौं। मेलामा रमाइलो गर्थ्याैं र फर्किने बेला हात हातमा फिरफिरे नचाउँदै सबभन्दा पहिले घरमा आइपुग्थ्यौं।
आफ्ना हजुरबुवा र हजुरआमाको न्यानो काखामा रमाउने र बारीका पाखामा धित मरून्जेल घुम्ने अभिलाषा अझै पूरा भएको छैन। भनिन्छ नि, बगेको खोला फर्किँदैन। यस्तै भनेझैं ती रमाइला दिनहरू मेरो जीवनमा कहिल्यै फर्केर आउने छैनन्। तर सम्झना मेरो जीवनभर नै रहिरहनेछ।
आयूषा पौडेल सिद्धार्थ वनस्थली इन्ष्टिच्युटमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]