सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो घर कर्णाली प्रदेशको राजधानी सुर्खेत हो। केही दिनयता भारतबाट दिनहुँ हजारौं व्यक्ति कर्णाली प्रवेश गरिरहेका छन्। कर्णालीका पहाडी र हिमाली जिल्लाबाट प्रत्येक वर्ष हजारौं मान्छे कामको खोजीमा भारतमा जाने गर्छन्।
अहिलेको कोरोना भाइरसले गर्दा फैलिएको महामारीलाई नियन्त्रण गर्न विश्वव्यापी लकडाउन गरिएको छ। यसका कारण रोजगारी खोज्दै भारत पुगेका धेरै नेपाली जागिर छोड्न बाध्य छन्। आफ्नो परिवारबाट टाढा रहेर अर्काको देशमा दुःखकष्ट सहेर परिश्रम गर्न गएका यी मानिस रोगले ल्याएको खतरा सहन नसकिने थियो। त्यसैले यी आ-आफ्ना घरतिर लाग्न लागे। तर घर जान खोजे पनि घर पुग्नु उनीहरूका लागि धेरै कठिन छ। भारतमा पनि लकडाउन भएका कारण धेरै दिनसम्म हिँडेर यिनीहरूले नेपाल-भारत नाका पुगेका हुन्। अब नाका काटेर पनि गर्मीको मौसममा १४ दिनसम्म क्वारेन्टाइनमा बसेर मात्र उनीहरू आफ्नो घर जान पाउनेछन्।
हामी हाम्रो देशको अर्थतन्त्रको कुरा गरौं। हाम्रो देशको अर्थतन्त्र भारतमाथि धेरै निर्भर छ। हामी भारतबाट धेरै कुरा आयात गर्छौं तर निकै कम कुरा मात्र निर्यात गर्छौं। यो कुरा २०७२ सालको नाकाबन्दीबाट पनि हामीलाई थाहा भएको हो। अझ अहिले नेपाल र भारतबीच सीमा विवाद भइरहेकाले महामारीकाे बीच अवस्था अझ गम्भिर हुन सक्छ। त्यसैले नेपाल अब आत्मनिर्भर हुनुपर्छ।
हाम्रो देशमा स्रोतसाधनको कमी छैन। अब विदेशमा कार्यरत नेपाली कामदार फर्कंदा हामीलाई मानव स्रोतको पनि कुनै कमी हुने छैन। यी स्रोतहरूको हामीले व्यवस्थित उपयोग गर्न सक्यौं भने हामी हाम्रो आयातलाई कम गरी आफ्नो खुट्टामा उभिन सक्छौं। नेपाल एक कृषिप्रधान देश हो। हामीले नेपालको विकासको कुरा गर्दा कृषिको विकासबारे कुरा छुटाउनु हुँदैन। हामीले अहिले विदेशबाट आएका नेपालीहरूको सीपलाई प्रयोगमा ल्याउने र कृषिको आधुनिनीकरण गर्नुपर्छ।
अहिले भारतमा धेरै नोक्सान गरिरहेको सलह नामक किराबाट पनि हाम्रो देशको कृषिलाई धेरै खतरा छ। त्यसले हाम्रो देशमा आएर बालीनाली नोक्सान गर्न सक्छ। त्यसैले हामीले त्यसको लागि पनि तयारी गर्नुपर्छ। कोराना भाइरसको महामारीले विश्वभर धेरै धनजनको नाश गरेको छ। लकडाउनले गर्दा धेरैको रोजगारी गुमेको छ भने धेरैले राम्रोसँग खान पाइरहेका छैनन्। हामीले यसका अरू पक्ष पनि हेर्नुपर्छ। भनिन्छ, 'हरेक बादलमा चाँदिको घेरा हुन्छ।'
यसको अर्थ हो, खोज्यो भने दुःख, आपतविपतमा पनि सकारात्मक कुरा पाउन सकिन्छ। यसो भनेर मैले महामारी भएर राम्रो भयो भन्न खोजेको होइन। तर यसले हामीलाई धेरै कुरा सिकाएको छ। यसले हामी यस्ता महामारीका विरूद्ध लड्न के-के कारण तयार छैनौं भन्ने कुरा सिकाएको छ। हामीलाई भविष्यको लागि तयार बनाएको छ।
वर्षभरी अरूको देशमा मिहेनत गरेर नेपालमा रेमिट्यान्स पठाउने नागरिकलाई दुःख परेका बेला कसैले वास्ता नगर्दा मानिसको बानीव्यवहार पनि देखाएको छ। सरकार र अरू निकायहरूलाई भविष्यमा उनीहरूलाई कसरी उद्धार र सहयोग गर्ने भन्ने पनि सिकाएको छ। सबभन्दा महत्वपूर्ण कुरा यसले हामीलाई आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा सिकाएको छ। विदेशबाट आएका कामदारलाई कृषि क्षेत्रमा लगाएर हामीले उनीहरूलाई रोजगरी दिन सक्छौं जसले गर्दा उनीहरू फेरि विदेश जान नपरोस्। यसरी हामीले कृषिको माध्यमबाट देशको विकास गर्न सक्छौं।
(सार्थक बोहरा बुढानिलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)