सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले लकडाउनको कारण सारा संसार सुनसान छ। सडकमा प्रायः गाडी गुडेका छैनन्। हावा पनि सफा भएको छ। लकडाउनको कारण कोही खुसी छन् त कोही दुःखी। धेरैको काम रोकिएको छ। घरबाटै काम हुनेहरू काम गरिरहेका छन्। विद्यार्थीहरू घरमै बसेर कक्षामा पढे जसरी पढिरहेका छन्। तर यो अवसर थोरै विद्यार्थीले मात्रै पाएका छन्।
लकडाउनको सबैले आफ्नै तरिकाले फाइदा लिएका छन्। कोही विद्यार्थी कस्सिएर यही हो मौका भनेर पढेका छन् त कोही यस्तो आराम गर्ने र खेल्ने दिन कहिल्यै आउदैन भन्दै त्यही गरिरहेका छन्। म पनि यिनैमध्ये एक होला। मैले लकडाउनलाई राम्रो उपयोग गरेको छैन। अरू दिनझैं बिहान उठ्ने, उठेपछि खाने, केही समय पढ्ने अनि सुत्ने गर्छु।
मेरो पनि वैशाख महिनामा परीक्षा थियो। कोभिड-१९ भाइरसले गर्दा परीक्षा रोकिएको छ। दिनमा दुई-तीन घण्टा पढ्छु। मन नलाग्दा पढ्दिनँ पनि। परीक्षा हुने डरले लकडाउन खुल्ने समयतिर अलि धेरै पढाइमा ध्यान दिन्छु। तर लकडाउन बढेसँगै पढाइको गति पनि घट्छ। लकडाउन अझै बढ्छ म पछि पढ्छु भन्ने सोचमा र मेरा धेरैजसो साथीहरूमा छन्।
कोराेना भाइरसका कारण साथीहरूसँग भेटघाट नभए पनि कुराकानी भइराखेको छ। साथीहरू बीचमा कहिले परीक्षाको बारे कुराकानी हुन्छ भने कहिले लकडाउन बढ्छ होला भन्ने बारेमा हुन्छ। अहिले झन् एसइई परीक्षा नहुन सक्छ भन्ने हल्ला चलेको छ। त्यसैले, हाम्रो पनि परीक्षा हुँदैन होला भन्ने कुरा गर्छौं। कहिले यो फिल्म र त्यो सिरियल हेर्याे वा यस्तो खायौं भन्दै कुराकानी गर्छौं।
म फोनमा युट्युब चलाएर, टेलिभिजन हेरेर दिन बिताउँछु। टेलिभिजनमा धेरै हेर्ने भनेको भारतीय फिल्म, अरू देशको विभिन्न ठाउँ देखाउने, खान बनाउने वा खाने कार्यक्रम हो। यसमध्ये पनि भारतिय सिरियलमा तारक मेहता हेर्ने गर्छु।
यति बेला परिवारको सदस्य सबै घरमा छन्। परिवारसँग समय बिताउन पाएको छु। परिवारको सदस्य सबै सँगै हुँदा दिउँसोको खाजामा कहिलेकाहीँ नयाँ परिकार बनाएर खाने गर्छौं। म दिन बिताउन केही न केही उपाय खोज्छु। टेलिभिजन हेर्नु, कहिलेकाहीँ पढ्नु, फोन चलाउनु, सुत्नु वा बिहान बेलुका खुला आकाशमा पहिलाको भन्दा भिन्दै हावाको महशुस गरेर दिन बिताउनु मेरो दैनिकी हो।
लकडाउनको कारण मौसममा पनि परिवर्तन भएको देखिन्छ। आकाश पनि पहिलाभन्दा सफा छ। हावा पनि स्वच्छ भएको महशुस हुन्छ। साँझ घाम डुब्न लाग्दाको आकाश अति नै सुन्दर र पहिलेभन्दा भिन्न देखिन्छ। अहिले धेरै कुरा नराम्रो भए पनि एउटा कुरा चाहिँ राम्रो भएको छ। लकडाउनको कारणले प्रकृति पहिलाको भन्दा सफा र सुन्दर भएको छ।
नेपालमा भने अहिले कोरोनाको बिरामी बढ्दैछ। कोरोनाको औषधि अहिलेसम्म पत्ता लागेको छैन। विश्वका अति विकसित देशका नागरिकले कोरोनाको कारणले ज्यान गुमाइरहेका छन्। नेपाल सो देशहरू भन्दा पनि अविकसित देश हो। यहाँको स्वास्थ्य सेवाहरू राम्रा छैनन्। विकसित देशहरू जसरी नै नेपालमा कोरोना फैलियो भने यो भाइरसबाट बाँच्ने नागरिकको प्रतिशत थोरै हुनेछ।
अहिले नेपालमा पनि यो महामारीबाट मानिस मर्न थालेका छन्। कोरोनाको औषधि पत्ता नलागेको हुनाले यो बेला मानिसले आफ्नो ख्याल राम्रोसँग आफैँले राख्नु पर्छ।
कोरोना महामारी सकिएपछि धेरै कुराहरू बदलिन सक्छ। यसमा पनि मुख्यगरी व्यापार बदलिन्छ जस्तो लाग्छ। मानिसहरू सफासुग्घर भएर बस्नेछन्। वातावरण पनि सफा राख्ने छन्। लकडाउनको अवधिमा मानिसले जसरी केही नयाँ कुरा सिकेका छन् वा नयाँ केही कुरा पत्ता लगाउने कोशिस गरेका छन्। जसबाट केही नयाँ चिज र अनुभव गरेका छन् होला। यसरी नै यो महामारीपछि केही न केही नयाँ कुरा आउने छ।
(सुस्मा गुरूङ सेन्ट मेरिज सेकेण्डरी स्कुल, रामबजार, पोखरामा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)