सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
शैक्षिक कार्यतालिका अनुसार मेरो अन्तिम परीक्षा चैतको ७ गतेबाट सुरू हुने भनिएको थियो। मैले त्यसैअनुसार तयारी गरिरहेकी थिएँ। तर विद्यालयले फागुन महिनाको २७ बाट परीक्षा सुरू हुने सूचना दियो। यसकाे कारण सोध्दा कोराना भाइरसले गर्दा यस्तो निर्णय गरिएको थाहा भयो।
कोरोना भाइरस बारेमा त्यति बेलासम्म मैले सुनेकी थिइनँ। नयाँ तालिकाअनुसार नै मेरो परीक्षा सुरू भयो र चैत महिनाको २ गते सकियो। परीक्षा राम्रो भयो।
एक दिनपछि मेरो ममी हस्पिटल जानुभयो। उहाँ हस्पिटलमा नै बस्नुपर्ने भयो। भोलिपल्ट बाबा पनि हेटौंडाबाट आउनुभयो। बाबाममी दुवै हस्पिटल जानुभयो। हामी हजुरबुबा, हजुरआमा, बहिनी, दिदी र म मात्रै घर बस्यौं। भोलिपल्ट बिहान हामी दुई दिदिबहिनी भएर खेलिरहेका थियौं।
ठीक त्यही बेला हजुरआमाले हामी खेलिरहेको ठाउँमा आएर हाँस्दै भन्नुभयो, 'ए लौ! छोरीहरू खुसीको खबर आयो। तिमीहरूले त भाइ पायौ।'
यो कुरा गएको चैत ५ गते बिहानको करिब ११ बजेतिरको हो।
यो सुनेपछि हामीलाई एकदम खुसी लाग्यो। हाम्रो खुसीको सीमा रहेन। कति बेला हस्पिटल जाउँ र भाइलाई भेटौं जस्तो लाग्यो। अनि म र बहिनी मिलेर बाबालाई फोन गर्यौं। बाबासँग कुरा हुँदा बाबाले अहिले हस्पिटलमा कोरानाको कारणले बच्चाहरू आउन राम्रो नहुने हुनाले छिट्टै घरमा आउने बताउनुभयो।
हामी भर्खरै परीक्षा सकिएकाले नियमित रूपमा बहिनी र म रमाइलो गरी घरमा नै बस्यौं। तर पनि मन मानेन र अर्को दिन म र बहिनी भएर फेरि बाबालाई फोन गर्यौं। बाबाले पनि छोरीहरूलाई अत्यास लाग्याे होला भन्ने बुझेर होला, हामी सबैलाई ट्याक्सीमा राखेर ममी र बाबुलाई भेट्न लैजाने बताउनुभयो। नभन्दै अर्को दिन बाबाले एउटा ट्याक्सी लिएर घरमा लिन आउनुभयो। अनि हामी सबै हस्पिटलमा गयौं।
पहिलो पटक भाइलाई भेट्दा खुसीको सीमा रहेन। ममीसँग गएर एक छिन माया साटासाट गरेँ। ममीलाई देख्दा नरमाइलो पनि लाग्यो। उहाँ थप २ देखि ३ दिनमा घर आउने कुरा बताउनुभयो। करिब दुई घण्टापछि हामी त्यहाँबाट फर्कियौं। हामी अरू दिन जस्तै हजुरबुबा, हजुरआमा र दिदीसँगै बस्यौं र सधैं जस्तै खेल्न थाल्यौं। हामी भाइ कहिले घर आउँछ र उसँग खेल्ने कल्पना गर्दै बस्थ्यौं।
भोलिपल्ट खाना खाने बेला फेरि बाबाले फोन गरेर कारोनाका कारण हस्पिटल खाली गर्ने भएकाले आजै ममीलाई डिस्चार्ज गर्ने कुरा थाहा भयो। अब हामीले सोचेजस्तै भाइ छिट्टै घर आउने र उसँग खेल्ने कल्पनामा रमाउन थाल्यौं। यसपछि १–२ दिनमा ठूलो ममी, मामा, बाबाले ममी र भाइ लिएर घरमा आउनुभयो।
त्यसपछि त घरमा झन निकै रमाइलो भयो। खासमा परीक्षा सकिएपछि घुम्न जाने भन्ने कुराको योजना गरिएको थियो। तर भाइ भएपछि घुम्न जाने कुरा सम्भव भएन। ठिक्क त्यही बेला कोरोना रोग लाग्नबाट जोगाउन सरकारले लकडाउनको बिदा गर्न थाल्यो। अनि घुम्न जाने कुरा झन सम्भव भएन।
अब त्यसपछिका लकडाउन दिनहरूमा दैनिकी कसरी बिताएको छु भन्ने बारेमा लेखेकी छु। जब लकडाउनका दिनहरू सुरू भए, म परीक्षाको बेला भन्दा बिहान अलि ढिलो उठन थालेँ। प्रायः बिहान ७ बजेतिर उठेर नियमित रूपमा बाथरूम जाने, हात मुख धुने, ब्रस गर्ने, कपडा फेर्ने, कपाल कोर्ने र बाबाले तयार गरिदिनु भएको खाजा खाने गर्छु। कहिलेकाहीँ बाबालाई खाजा बनाउन सहयोग पनि गर्छु। खाजा खानु अगाडि पानी खान्छु। त्यसपछि करिब ३० मिनेट जति ब्याडमिन्टन र स्किपिङ खेल्छु। अनि बिहानको खाना बनाउन ममीबाबालाई सहयोग पनि गर्छु।
खासगरी मैले आलु काट्न, लसुन छोडाउन, प्याज काट्न, भाँडा माझ्न, तरकारी काट्न, रोटी बेल्न, चुलो र डाइनिङ टेबल सफा गर्न र अन्य आवश्यक काममा सघाउँछु। खाना खाएर एक घण्टा जति भाइसँग खेल्छु र केही समय मोबाइल हेर्छु। मोबाइल हेर्दा ज्ञान बढ्ने कुराहरू जस्तैः नेपाली र हिन्दी फिल्म, कथा, विज्ञान सम्बन्धी जानकारी, चित्र कोर्ने तरिका आदि हेर्ने गरेकी छु।
कहिलेकाहीँ मोबाइलबाट पियानो बजाउने तरिका सिकेर बजाउने अभ्यास पनि गर्छु। यति गर्दा दिउँसोको खाजा खाने समय हुन्छ। खाजा पनि बाबाममीले तयार गर्नु हुन्छ। मैले केही सहयोग मात्र गर्छु। खाजा खाएपछि किताबहरू पढने, लेख्ने काम पनि गर्छु। जब साँझ अलि घाम कम हुन्छ, म घरको कम्पाउण्डभित्र आँगनमा साइकल चलाउने, बहिनी र घरका अन्य साथीसँग लुकीडुम खेल खेल्ने गर्छु। अनि साँझको खाना खाने बेला हुन्छ। सबै परिवारका सदस्यसँग बसेर खाना खाएर समयमै सुत्छु।
लकडाउनको बेला गरेको अर्को अनौठो अनुभव भनेको केही दिनको स्कुलको अनलाइन कक्षा हो। स्कुलबाट वैशाख १४ गतेतिर एक्कासि बाबाको फोनमा सरले फोन गर्नुभयो र मेरो रिजल्ट भएको जानकारी दिँदै राम्रो नम्बर ल्याएर कक्षा ४ उत्तीर्ण भएको जानकारी दिनुभएछ। तुरून्तै बाबाले मलाई बोलाएर भन्नुभयो। म निकै खुसी भएँ। साथै वैशाख १६ गतेबाट अनलाइन कक्षा संचालन गर्ने सूचना पनि बाबाले बताउनुभयो।
अनलाइन कक्षा प्रत्येक दिन बिहान ८ बजेबाट सुरू भएर दिउँसो २ बजेसम्म हुन्छ। त्यसको लागि ह्वाट्सएप र जुमको एप मोबाइल र कम्युटरमा सेट गर्नुपर्ने कुरा सरले बाबालाई बताउनुभएछ। सो अनुसार बाबाले स्कुलको सरसँग सम्पर्क गरेर ह्वाट्सएप र जुमको एप मोबाइल र कम्युटरमा सेटिङ गरी अनलाइन कक्षाको लागि एप चलाउने तरिका सिक्न सहयोग गर्नुभयो।
त्यसपछि ह्वाट्सएपमा अनलाइन कक्षाको दैनिक कक्षा तालिका र कक्षा लिँदा पालन गर्नुपर्ने सामान्य नियम बारेमा खबर आयो। सो कुरा पनि बाबाले सुनाउनुभयो। हाम्रो कक्षा १६ गते बिहानबाट सुरू भयो। बहिनी र म खाजा खाएर एक एक वटा ल्यापटपमा जुमको प्रोग्राम खोलेर कक्षा तालिका अनुसार पढ्न थाल्यौं।
सुरू कक्षामा मिससरहरूले कसरी कक्षा संचालन हुन्छ भन्ने कुरा बताउनुभयो। अनि विभिन्न पिरियडमा परिचयात्मक कक्षा भयो। हामीलाई मिस सरहरूले किताबको पाठ्यक्रम अनुसार नै पढाउनुभएको थियो। हामीलाई कक्षाकार्य र गृहकार्य पनि दिनुभएको थियो। यसरी कक्षा लिँदा नयाँ अनुभव र रमाइलो पनि भयो।
बेलाबेलामा इन्टरनेट नजोडिँदा भने ज्यादै नरमाइलो भयो। तर ४० मिनेट पछि त जुम आफैं बन्द हुने रहेछ। फेरि इन्टरनेट जोडेर हेर्दा त आफ्नो कक्षा सकिएर मिससरहरू अर्कै कक्षामा गइसकेको हुने र अनि तिम्रो कक्षा यो होइन भनेर भन्नुहुन्थ्यो। यसरी कहिलेकाहीँ त कक्षा तालिका अनुसारको सरमिसहरूको कक्षा नै हराउने जस्तो हुने रहेछ। प्रत्येक मिससरहरूको आइडी र पासवर्ड गल्ती भयो भने यस्तो धेरै हुने रहेछ।
अनलाइन कक्षामा सबै साथीहरू देखिनु भएन। पछि साथीहरूसँग सोद्धा कोही गाउँ गएको र कोही घरमा ल्यापटप/मोबाइल नभएर वा भए पनि चलाउन जान्ने मान्छे घरमा नभएर अनलाइन कक्षामा जोडिनुभएन भन्ने थाहा लाग्यो। अनुमति नलिई कक्षा चलाएको भनेर नगरपालिकाले तेस्रो दिन नै कक्षा बन्द गरिदियो।
गाउँमा घर जाने साथीहरूले यसकाे रमाइलो अनुभव लिन पाउनुभएन। एउटा कुरा मलाई के भन्न मन लाग्यो भने यस्तो कक्षा लिन बानी नपरेकाले दिनभरी एकोहोरो कक्षा लिँदा मनमा दबाब भने भएको अनुभव भयो। यसरी यो लकडाउनको अवधिमा मलाई अनलाइन कक्षाको नयाँ अनुभव भयो।
अन्तमा, हामी सबैले लकडाउनको बेला विभिन्न प्रकारको घरमा गर्ने काम सिक्नुपर्ने र रमाइलो गरेर परिवारसँग बस्यो भने लकडाउनको समयलाई सदुपयोग गर्न सजिलो हुने रहेछ भन्ने लाग्यो। स्कुलमा सिकेको मात्रैले हामी अगाडि बढ्न सकिँदैन। घरमा पनि राम्रोसँग गर्यो भने धेरै सिक्न सकिन्छ।
(आज्ञा शर्मा पोख्रेल शिशु निकेतन अंग्रेजी माध्यामिक विद्यालय, पोखरामा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)