सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले विश्वभर कोरोनाको माहामरीले त्रास फैलाएको छ। धेरैजसो मानिसहरू आत्तिएका छन्। यस्तो डरलाग्दो स्थितिमा हामी सबै एकजुट भएर यो भाइरसँग लड्ने समय हो। यस्तो स्थितिमा हाम्रो छिमेकी मुलुकले भने हाम्रो सिमाना मिचेको खबर हामी सुनिरहेका छौं।
पहिला नेपाल अहिलेको नेपालभन्दा निकै ठूलो थियो। पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको हाम्रो देशले भारतमा शासन गरिरहेको बेलायतको त्यति बेलाको इस्ट इन्डिया कम्पनीसँगको सुगौली सन्धिमा करिब १ लाख ५ हजार वर्ग किलोमिटर भू-भाग गुमाएको थियो। वीर गोर्खालीले मिहेनेत गरी जोडेर त्यति पारेको यो देशको करिब ५८ प्रतिशत भू-भाग मात्रै अहिले हामीसँग छ। सुगौली सन्धीमा गुमाएको भू-भाग भारतमा गाभिएको छ।
भौगोलिक क्षेत्रफलमा भारतभन्दा २२ गुणा सानो भए पनि नेपाल कहिल्यै कोही पराई शासित नभई सधैं एक स्वतन्त्र मुलुक रहँदै आएको छ। हाम्रो देशको विभिन्न सिमानामा अझै भारतले मिचेको खबर हामीले सुन्दा हामीलाई दुःखी तुल्यायो। अहिले भारतले नेपालको लिम्पियाधुरा, लिपुलेख र कालापानी आफ्नै भू-भाग भन्दै यी तीन ठाँउलाई आफ्नो नक्सामा समेत छापिसकेको छ। यी भू-भाग नेपालकै हुन्। ४ मार्च, १८१६ मा इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिअनुसार लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालकै भू-भाग रहेको प्रस्टै छ। तर पनि किन भारत अझै बुझ्दैन यी भू-भागहरू नेपालकै हुन् भनेर?
नेपालको भू-भाग हुँदाहुँदै पनि भारतले यी ठाउँलाई आफ्नो भनेर अफ्नाे नक्सामा छापेको छ। अझ यति मात्रै नभएर भारतले लिपुलेख पासमा आफ्नै सडक निर्माण गरेर त्यो सडक उद्घाटन समेत गरिसकेको थियाे। गौरवका कुरा गर्दा त हामी वीर गोर्खालीका सन्तान हौ भन्छौं तर यदि हामीले कालापानी, लिपुलेख र लिम्पियाधुरा समेत बचाउन सकेनौं भने के हामी वीर गोर्खालीका सन्तान भन्न लायक रहन्छौं? सुगौली सन्धिमा नै त करिब ४२ प्रतिशत गोर्खालीले जोडेको भू-भाग गुमाइसक्यौं। के अझै हामी हाम्रो भू-भाग गुमाउन चाहन्छौं र?
मेरो विचारमा हामी नेपाली एकजुट भएर भारतलाई हाम्रो देशको सिमाना मिच्न दिनु हुँदैन। त्यतिकै त सानो भू-भाग भएको हाम्रो देश, झनै सानो हुन त दिनु नै हुँदैन। हामी वीर गोर्खालीका सन्तान हौं। जसरी हाम्रा पुर्खाले आफ्नो अन्तिम साससम्मै देशको लागि लडिरहे र आफ्नो देशलाई अरू देशले शासन गर्नबाट रोकिरहे, त्यसरी नै हामीले भारतबाट आफ्नो भू-भाग बचाउनु पर्छ।
यी भू-भागलाई देशको नक्सामा छापेर मात्रै हुँदैन। यी भू-भाग हाम्रै हो भनेर र त्यहाँ नेपालको झन्डा गाडेर मात्र हुँदैन। यसको लागि त हामीले भारतलाई र सम्पूर्ण विश्वलाई यी भू-भाग हाम्रै हुन् भनेर प्रमाणित गर्नुपर्छ। भारतले आफ्नो मान्दैमा यी भू-भाग भारतको हुन सक्दैन भनेर हामीले भारतलाई बुझाउनु पर्छ।
सन् १९६२ सालमा जब भारत र चीनबीच युद्ध भएको थियो, त्यति बेलादेखि नै भारतीय सेना नेपाली भू-भागमा आएर बसेका छन् तर नेपाली भू-भागमा भारतीय सेना बस्दैमा नेपाली भू-भाग भारतीय बन्दैन। अहिले भारत नेपालसँग मात्रै प्रमाण माग्दै छ। यदि यी भू-भाग भारतको नै हो भने भारतले पनि भारतकै भएको प्रमाणित गर्ने केही प्रमाण ल्याउन सक्नुपर्छ। त्यसको लागि नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्नुपर्छ तर उसलाई चोट पुग्ने गरी लाञ्छना लगाउनु हुँदैन।
यो जतिसुकै चुनौतीपूर्ण काम भए पनि नेपाली आमा र वीर गोर्खालीका सन्तान भई आफ्नो देशको रक्षा गरेर हामीले उहाँहरू प्रतिका हाम्रो कर्तव्य पूरा गर्नु पर्छ। अब राष्ट्रप्रेमी बन्ने कि राष्ट्रघाती बन्ने कुरा त हाम्रै हातमा छ।
एक पटक सोच्नुस् त। हामी वीर गोर्खाली र नेपाल आमाका सन्तान्। के हामीले उहाँहरू प्रतिको आफ्नो कर्तव्य पूरा गर्नु पर्दैन? के वीर गोर्खालीले त्यति दुःख गरेर जोडेको भू-भाग हामीले बचाउनु पर्दैन? साथै आफ्नो भू-भाग अरूलाई दिएर के हामीले नेपाल आमालाई खुसी पार्छौं? आफ्नो स्वाभिमान र माटो जोगाउन हामी सबै नेपाली एक भएर लाग्यौं भने ढिलोचाँडो हामीले हाम्रो भूमि भारतबाट फिर्ता पाउन सक्छौं।
(तेजश्वी श्रेष्ठ बुढानिलकन्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]