सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामी अहिले संसारभर महामारीको रूपमा फैलिएको कोरोन भाइरस संक्रमणबाट जोगिन लकडाउनमा आफ्नो घरभित्र बसिरहेका छौं। यसरी घरभित्रै बस्न थालेको पनि दुई महिनाभन्दा बढी भइसक्यो।
लकडाउन सुरू हुँदा हाम्रो परीक्षा चलिरहेको थियो। दुई विषयको परीक्षा बाँकी हुँदै लकडाउन सुरू भयाे। अहिले स्कुल बन्द भएको पनि दुई महिनाभन्दा बढी भइसक्यो।
पहिले सधैं स्कुल जानु पर्दा कहिले स्कुल बिदा होला भन्ने लाग्थ्यो। स्कुल जान नपर्दा, पढ्न नपर्ने कुराले सारै खुसी र मज्जा लाग्थ्यो। अहिले त कहिले स्कुल खुल्ला र पढ्न जाऔं, साथीहरूलाई भेटेर जिस्किँदै ठट्टा गर्दै ठूलो स्वरले हाँसेर कुरा गरौँ जस्तो भएको छ। यो कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन कुनै औषधि नभएको र घरभित्रै बस्नुपर्ने भएकाले पनि म अनि हामी सबै अहिले घरभित्रै छौँ।
यसरी लामो समय घरमा मात्रै बस्दा सारै दिक्क लाग्न थालिसक्यो। कति त्यही टेलिभिजन हेर्ने? कहिले बाहिर घुम्न जान पाइएला, कहिले सहर, बजार, मल, पार्कहरूमा घुम्न, रमाइलो गर्न पाइएला जस्तो लागिसक्यो। घरमा एकनासले बस्दाबस्दा मेरो अनुहार पनि खिस्रिक्क भइसकेको थियो। खाने सुत्ने त्यही टेलिभिजन हेर्ने। लामो समय सधैं एउटै कुरा दोहोरिँदा वाक्क लागिसकेको थियो। के गर्ने? कसो गर्ने? जस्तो हुन थालेको थियो।
पछि मेरो अवस्था र मैले सारै दिक्क मानिरहेको देखेर मलाई मामुले आफूसँगै बिहान घरको सरसफाई गर्न, ओछ्यान मिलाउन, लुगाहरू पट्याएर राख्न सिकाउन थाल्नुभयो। पहिले कहिले केही नगरेकाले सुरूमा केही अप्ठ्यारो र गाह्रो लागे पनि बिस्तारै मामुले सिकाउनु भएको सिक्दै गएँ।
रमाइलो पनि लाग्न थाल्यो। नयाँ काम गर्न मज्जा पनि आयो। अब त म आफैँ बिहान भ्याकुम लगाएर घर सफा गर्छु। ओछ्यान मिलाउने, यताउता छरिएका लुगा पट्याएर राख्छु। त्यस्तै, मामुले मलाई बिस्तारै खाना बनाउन, चिया पकाउन, रोटी बनाउन समेत सिकाउन थाल्नुभएको छ। अब अहिले म चिया बनाउन सक्ने भएकी छु। त्यस्तै, दादाले रोटी बनाउँदा म दादालाई रोटी बेलेर सहयोग गर्छु। दिउँसो मामुसँग लुगा धुने, धोएको लुगा सुकाउने, सुकेको लुगा उठाएर ल्याई पट्याएर राख्ने जस्ता काम समेत गर्न थालेकी छु।
यसरी, पहिले केही अप्ठ्यारो, गारो जस्तो भए पनि अहिले मामुबाबा र दादासँग घरको काम गर्न रमाइलो लाग्ने भएको छ। त्यसरी काम गर्दा मेरा दिनहरू पनि रमाइलोसँग मज्जाले बितिरहेका छन्। त्यस्तै, अहिले स्कुलले अनलाइन कक्षा पनि संचालन गरिरहेको छ।
आहा! अनलाइन कक्षामा पढ्न पनि खुबै रमाइलो हुँदो रहेछ। म आइप्याडमा हेरेर अनलाइन कक्षामा पढ्छु। सुरूसुरूमा केही अप्ठ्यारो जस्तो लागे पनि अहिले पढ्न रमाइलो भइरहेको छ। ठ्याक्क शिक्षक र साथीहरूको अनुहार नदेखिए पनि स्कुलको कक्षाकोठामा पढेको जस्तो लाग्छ।
ओहो! अनलाइन कक्षामा कुनै कुनै बेलामा त खुबै रमाइलो हुन्छ। पढिरहेको समयमा कुनै साथीले आफ्नो माइक अन गरेरै आफ्नो मामुसँग खानेकुरा मागेको, गीत गाएको समेत सुनिन्छ। त्यस्तै, शिक्षकले पढाएर नाम लिएर प्रश्न सोध्दा, अनलाइनमा भए पनि चुप लगेर बस्ने र कोहीकोही त अफलाइन हुने समेत गर्छन्। त्यो देख्दा पहिले स्कुलमा शिक्षकले पाठ सोध्दा अगाडिको साथीको छेको लगाएर आफ्नो टाउको निहुराएर लुकेको सम्झन्छु। यो कुरा बाबामामु र दादालाई सुनाएर हामी खुब हाँस्छौ। मलाई अनलाइन कक्षामा पढ्न बाबा र दादाले सहयोग गर्नुहुन्छ। प्रविधिको विकासले अहिलेको यस्तो परिस्थितिमा समेत हामी सजिलै आफ्नो स्कुलको कक्षा कोठामा शिक्षकसँग सबै साथीसँग बसेर पढेजस्तो लाग्छ।
दिनको एकपटक साँझ नाच्छु। मामुबाबालाई पनि नचाउँछु। त्यस्तै, नाचेको, अभिनय गरेको भिडियो खिचेर टिकटकमा सेयर गर्छु। टिकटकमा अहिले मेरो फलोअर्स चार हजारभन्दा बढी छन्।
पहिले पहिले प्रायः खाना खाने र राती सुत्ने बेलामा मात्रै परिवारका सबै सदस्यसँगै हुनेमा अहिले हामी सधैं साथै हुन्छौँ। सबै मिलेर घरको काम गर्छौँ। घरमा सबै मिलेर रमाइलो गर्छौँ। पहिले बाहिर घुम्न, फिल्म हेर्न, पिकनिक गएर रमाइलो गरेको भन्दा अहिले आफ्नो परिवारको सदस्य मात्रै बसेर गरेको रमाइलो झनै मजाको हुँदो रहेछ।
केही दिनअगाडि मात्रै दादाको जन्मदिन परेको थियो। त्यो दिन हामीले घरमा केक बनाएर तीन-चारथरी खानेकुरा बनाएर खुब रमाइलोसँग नाचेर- गाएर मनाएका थियौं।
यसरी नै अहिलेको लकडाउनमा मेरा दिन रमाइलोसँग बितिरहेका छन्। सुरूका दिन दिक्क लाग्दो भए पनि अहिले खुबै रमाइलो छ। पहिले जस्तै, अहिले मलाई फुर्सद छैन भन्दा पनि हुने भइसक्यो।
कोराना भाइरसको महामारीमा मैले धेरै तितामिठा अनुभव संगाल्ने मौका पाएँ। आफ्नो परिवारमा झनै आत्मियता बढेको देखेँ। त्यस्तै, मानिसहरूमा मृत्युको डर कति हुँदो रहेछ भन्ने कुरा समेत महशुस गरेँ। आफ्नो जन्मभूमिको माया मारेर हिँडेकाहरू समेत मृत्युको डरले स्वदेश फर्केको देखियो। मानिसले जेसुकै भने पनि, गरे पनि आफ्नो देश, आफ्नो जन्मभूमि आफ्नै हुन्छ भन्ने महत्वपूर्ण पाठ सिकायो।
धन्यवाद कोरोना! तिमीले आफ्नो देश चिनाएकोमा।
(सम्राज्ञी खत्री भ्याली भ्यू स्कुल पुरानो बानेश्वर, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)