सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म २०७६ सालकाे एसइई परीक्षार्थी। कोभिड-१९ का कारण परीक्षा स्थगित गर्ने निर्णय जाँच सुरू हुनुभन्दा अघिल्लो दिन बेलुका मात्रै गरियो।
सुरूमा त एक महिनापछि परीक्षा होला कि भन्ने आशा थियो। विद्यालयले पनि चैत १५ गतेबाट नै अनालाइन कक्षा चलाउन सुरू गरेको थियो। कक्षा हालसम्म पनि निरन्तर रूपमा चलिरहेको छ। नेपालमा कोरोनाको प्रकोप बढ्दै गएकाले दुई महिना बितिसक्दा पनि परीक्षाको विषयमा कुनै निर्णय आएको छैन। अन्य कक्षाको पढाई पनि अनलाइन कक्षाबाट चल्ने भन्ने व्यापक चर्चाको विषय बनेको छ।
मलाई लाग्छ, देशलाई प्रगतिको क्षितिजमा धकेल्न चाहने हो, नयाँ शीराबाट देशको मुहारमा चमक थप्ने हो भने शिक्षारूपी वृक्षलाई निरन्तर मलजल गर्नै पर्छ। त्यसको मतलब स्वास्थ्यको ख्याल गर्न पर्दैन भनेकी होइन। शिक्षातिर पनि ध्यान अवश्य दिनुपर्छ।
वैज्ञानिक र व्यवसायिक शिक्षासँगै प्रविधिमैत्री शिक्षाको कुरा हामीले पहिलेदेखि नगरेको होइन। तर आज रहरभन्दा पनि बाध्यता बनेको छ प्रविधिमैत्री शिक्षा। सबै नेपालीको घरघरमा इन्टरनेटको सुविधा नहोला। डाटा लिएर पनि अनलाइन कक्षामा उपस्थित हुने पहुच सबैसँग नहोला। त्यसका बाबजुद चलनमा रहेका प्रविधि जस्तै रेडियो, टेलिभिजन, केवल नेटवर्क, टेलिफोन आदिबाट पनि शिक्षा आर्जन गर्न आवश्यक छ।
कक्षा ९ र १० का लागि कक्षामै पढाएको जस्तो विभिन्न पाठका भिडियो शैक्षिक जनशक्ति विकास केन्द्रद्वारा युट्युबमा उपलब्ध छन्। यी सबै प्रविधि उपभोग गर्न नपाएका विद्यार्थीले शिक्षा लिन पाउने अधिकार गुमाउन पर्ने हो त?
अवश्य पनि कोही पनि आफ्नो पढ्न पाउने अधिकारबाट बन्चित हुनु हुँदैन। आज सिंगो विश्व महामारीबाट प्रभावित छ। कयौं देशमा अनलाइन शिक्षाको सुरूवात गरिसकिएको छ। बिडम्बना, नेपालमा अनलाइन शिक्षाका लागि पूर्वाधार र सक्षम जनशक्ति छैन। पूर्वाधार र जनशक्ति छोटो समयमै विकास गर्न तर्फ ध्यान दिने हो कि? कोशिस गरे अवश्य सफल भइनेछ।
मेरो विचारमा म जस्ता लाखौं विद्यार्थीको शिक्षाका लागि सरकार र जनता सबै अगाडि बढ्नै पर्छ। नत्र हाम्रा सपना तुहिने छन्। म जस्ता सहरमा बस्ने र प्रविधिको पहुँच भएकाले त अनलाइन कक्षा पढ्न पाउँदा पक्कै पनि मुहारमा मुस्कान छाउला। त्याे नभएका र विकट ठाउँमा बस्ने मेरा साथीहरूको मुहारमा क्रन्दन छाउने छ। त्यसैले, सरकार र सम्पूर्ण सम्बन्धित निकायलाई मेरो अनुरोध छ, हाम्रो शैक्षिक सत्रमा पनि पढाइलाई निरन्तरता दिन पाउने सपना चाँडै साकार गरियोस्।
(विभूषी तिमिल्सिना मदरल्याण्ड माबि, पोखरामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)