सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
देश भनेको नक्सा मात्र हैन, महाशय!
भूगोल हो
भूगोलमा चलमलाउने धड्कन हो
महामारीको ओखती हो
देश, आँसुका गहिरा नदी पुछिदिने हत्केला हो
अभाव र उत्पीडनका ठूल्ठूला भारी बोक्दा
थाप्लामा तिमीले छापेको नक्साभन्दा लामो खाल्टा परेका
श्रमजीवीको पसिना हो
नांगो पैतालाले पृथ्वी बोकेर उभिँदा
खान नपाएर
कहिल्यै नउठ्ने गरी कीर्तिपुरको बाटोमा लडेका
सूर्यबहादुर, एउटा सिंगो देश हो
देश, कहर पर्दा गरिने उपचार हो
अभर पर्दा गरिने उपकार हो
मर्नुअघि मागिने एक घुड्की पानी हो
तिम्रा व्यवहारको चिनाजानी हो
परदेशले लघारेका र देशले वास्ता नगरेका
कलेँटी परेका ओंठ हो।
देश शितल निवास मात्रै होइन
देश बालुवाटार मात्रै होइन
देश सिंहदरबार मात्रै होइन
त्यसैले, नक्सा मात्र देश हैन, महाशय!
तिम्रो जन्मोत्सवमा काटिने केक होइन
तिम्रो परिभाषाले
सुकिलालाई मात्रै देश भनेको छ
काठमाडौँलाई मात्रै देश मानेको छ
पिसिआर परीक्षण अभावमा छटपटिएको
नरैनापूर पनि देश हो
मायादेवी पनि देश हो
दुल्लु पनि देश हो
एक पटक ऐन ९५ मास्क लगाएर
तिमीले बनाएका क्वारेन्टिनमा जाउँ
देश त्यहाँ देखिने छ
देश त्यहीँ भेटिने छ।
भोकमरीमा अन्नको दाना हो देश
अलपत्र परदेशी दाजुभाइको छाना हो देश
महामारीमा औषधीको चाना हो देश
भूगोलसहितको सुखी र स्वर्णिम पाना हो देश
शितल निवासको गलैँचा फेरेर
देशको मुहार फेरिदैन
बालुवाटारमा कार्पेट बेर्दैमा
करोड दुख बौरिँदैन
त्यसैले सक्छौ भने लिम्पियाको बार बदल
तिम्रो समाजवादको धार बदल।
(श्रेया पौडेल सेन्ट जेभियर्स स्कुल, जाउलाखेल ललितपुरमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)