सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनबाट सुरू कोरोना भाइरस अहिले विश्वभर महामारीको रूपमा फैलिएको छ। यो भाइरस अहिलेसम्मको घातक भाइरसमा पर्छ।
यसबाट धेरै मानिस संक्रमित छन् र केहीकाे मृत्यु पनि भइसकेकाे छ। यसैकारण विश्वका सबै जसो देशमा लकडाउन छ। कुनै पनि स्कुल, कार्यालय, पसल तथा मानिस जम्मा हुने ठाँउ खुलेका छैनन्। जसका कारणले दिनदिनै कमाएर गुजारा गर्ने मानिस तथा हामी जस्ता विद्यार्थीलाई असर परेको छ।
धेरै मानिस त आ–आफ्नो गाँउ घर पनि गएका छन्। आफैं खेती गरेर खान थालेका छन्। तर यो पनि धेरै समय नचल्न सक्छ किनभने अफ्रिकाबाट भारतसम्म आइपुगेका सलह किराले बाली खान सक्छ। ३ देखि ४ करोड संख्या प्रतिवर्ग किलोमिटर हुने यो किरा नेपालमा प्रवेश गर्यो भने नेपालका बालिनाली ३-४ दिनभित्र सखाप पार्न सक्छ। हाल कोरोना र सलह किराको आतंकले जनजीवन त्रसित छ। हामी जस्ता विद्यार्थीको भविष्य पनि अन्यौल छ।
स्कुल नखुलेका कारण अहिले अनलाइन कक्षा भइरहेको छ। कक्षाकोठामा बसेर पढ्न अझै ३–४ महिना सम्भव छैन भनेर सर भन्नु हुन्छ। म पढ्ने स्कुलको ठूलो मैदानमा त हिँड्दा–हिँड्दै पनि शारीरिक व्यायाम हुन्थ्यो। अहिले भने हामी घरबाट बाहिर निस्कनसमेत डराउँछौं। स्कुलमा राम्रो र सन्तुलित भोजन पाइन्थ्यो। यति बेला घरमै बस्ने र मन लागेको बेला खाने गरेकाले म अहिले मोटाइसकेँ। स्कुलमा खेल्न पाइन्थ्यो तर अहिले घर बस्दाबस्दै दिक्क लागिसक्यो। त्यसमाथि मेरी सानी बहिनीले मलाई कुटेर हैरान पार्छे। कहिले स्कुल खुल्ला जस्तो भएको छ।
यो महामारीसँग बच्ने अहिलेसम्म कुनै औषधि बनेको छैन। त्यसैले, अति आवश्यक काम परे पनि मास्क र पन्जा लगाएर मात्रै बाहिर जाने गर्नुपर्छ। बाहिर गएर आएपछि र समयसमयमा २० सेकेन्डसम्म साबुनपानीले मिचीमिची हात धुनुपर्छ। यी साना सावधानी प्रयोग गरेमा यो भाइरसबाट बच्न सकिन्छ। यस्तो किसिमको महामारी विगतमा पनि आएको थियो भन्ने सुनिन्छ। यो महामारी पनि केही समयमा पक्कै हराउँछ। त्यति बेलासम्म हामी सुरक्षित रहनु पर्छ।
अहिले विभिन्न समाचारमा जेठ-२१ बाट स्कुल भर्ना खुल्ने कुरा पनि सुनिन्छ। मेरो स्कुलले भने कुनै त्यस्तो सूचना दिएको छैन। कोरोनाको डर कम भएपछि स्कुल खोल्दा राम्रो हुन्छ। मलाई पनि स्कुल कहिले जाऊँ जस्तो भएको छ तर स्कुल जस्तो भिडभाड हुने ठाउँमा कोरोनाको डर बढी हुन्छ।
आशा छ यो डर चाँडै हट्नेछ र हामी स्कुल नडराई जान सक्नेछौं।
(आर्यमोहन भट्टराई बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)