सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म १५ वर्षीय विद्यार्थी हुँ। मैले पूर्ण तयारी गरेर पनि एसइई परीक्षा दिन नपाएको ७० दिन पुगिसक्यो। मेरा आमाबुवा, विद्यालय तथा गुरू गुरूआमाको मलाई भविष्यमा ठूलो मान्छे बनाउने सपना बोकेर १२ वर्ष स्कुलमा बितायौं। यहाँ सिकेका ज्ञान र सीपलाई एसइई परीक्षामार्फत प्रस्फुटन गरी अघि बढ्नुपर्ने हो। तर आज आफ्नै घरमा बन्दीजस्तै बसिरहेको छु। बाहिरी संसार नदेखेको धेरै भयो। मेरा आमाबुवालाई मेरो उत्तिकै चिन्ता छ।
एसइईसँग हामीजस्ता कयौं विद्यार्थीको भविष्य जोडिएको हुन्छ। धेरै मिहेनेत गरेर उत्पादन गरेको चिज पाक्ने बेलामा खान नपाउँदा जस्तो पीडा हुन्छ, त्यस्तै पीडा म लगायत मसँगै एसइई दिने सम्पूर्ण साथीलाई भइरहेको होला। आजभन्दा भोलि, भोलिभन्दा पर्सि निकै रफ्तारमा बढिरहेको कोरोना भाइरसको भय र त्रासले हामी विद्यार्थीहरूको पढ्ने-लेख्ने मनोबललाई कमजोर बनाएको अनुभूति भएको छ। हाम्रो मनमा अनेकन कुराहरू तरङ्गित भइरहन्छन्। मनोवैज्ञानिक रूपमा विक्षिप्त भए पनि स्वास्थ्य नै ठूलो हो भन्ने मनन गरी भोलिको सुनौलो बिहानीको प्रतीक्षामा बसिरहेका छौं।
यस्तो परिस्थितिमा न त सरकार जवाफदेही देखिन्छ न त विद्यालय। मेरो विद्यालयले हाम्राे मनोभावना बुझेर यस्तो परिस्थितिमा पनि अनलाइनमार्फत कक्षा सञ्चालन गरि हाम्रो पठनपाठनलाई निरन्तरता दिनुको साथै हामीलाई हौसला र प्रेरणा दिइरहेको छ। यही हौसला र प्रेरणाले हामी मनोवैज्ञानिक रूपमा सबल भई आफ्नो पठनपाठन अगाडि बढाउने आत्मबल प्राप्त गरिरहेका छौं।
हामीलाई यहाँसम्म ल्याउने मेरो प्यारो भ्याली पब्लिक विद्यालय तथा आदरणीय गुरूगुरूआमाहरू प्रति कृतज्ञ छु। मेरो देशका विकट ठाउँमा मजस्ता लाखौं साथीहरू मैले पाएको सुविधाबाट बञ्चित छन्। यो मेरा ती मित्रहरूको दोष होइन। उनीहरू पनि यही देशका भविष्यका कर्णधार हुन।
उनीहरूको भविष्य निर्माण गर्न सम्बन्धित निकायको पनि महत्वपूर्ण भूमिका हुन्छ। अतः ती विद्यार्थीहरूको मनोभावनालाई बुझी उनीहरूको भविष्य निर्माणको लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण होओस् भन्ने अनुरोध गर्छु। मजस्ता परीक्षा दिन नपाएर घरमा बन्दीको रूपमा रहेका लाखौं मित्रहरूलाई यो विषम परिस्थितिलाई मनन गरी उच्च मनोबल बनाई आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गर्छु।
(इंगित अधिकारी भ्याली पब्लिक विद्यालय, सुन्दर बस्ती काठमाडौंमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)