सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम ऋचा काफ्ले हो। म बाबा, मामु, दिदी र भाइसँग हाल टोकियोमा बस्छु। अहिले म यहाँको जुनियर हाइस्कुलको प्रथम वर्ष अर्थात् कक्षा ७ मा पढ्छु।
म जापानमा जन्मिएर हुर्किएकी हुँ। तर पनि धेरै पटक नेपाल गएकी छु। मलाई नेपाल जान, आफन्त भेट्न साह्रै मनपर्छ। सधैं छोटो समयका लागि जाने भएकाले नेपालसम्बन्धी त्यति धेरै थाहा पाएकी थिइनँ।
नेपाल र नेपाली रहनसहन, संस्कृति, परम्परा, भूगोल तथा आफन्तहरू सबै कुराका बारेमा राम्रो जानकारी प्राप्त होस् भन्ने उद्देश्यले बाबामामुले मलाई गत वर्ष नेपाल पठाउनुभयो। मामु र भाइसँग साउन महिनामा नेपाल गई म घर नजिकको स्कुलमा कक्षा ६ मा भर्ना भएँ। आठ महिनासम्म पढेँ र कक्षा ६ को अन्तिम परीक्षा सकेर अहिले जापान फर्केकी छु।
कोरोना भाइरसको प्रकोपले गर्दा अहिले हाम्रो स्कुल बन्द छ र म घरमा नै बसेर पढ्दैछु।
नेपालमा पढ्दा मैले धेरै कुरा सिक्ने मौका पाएकी छु। विदेशमा बस्ने मेरो उमेरका धेरै नेपाली साथीहरूलाई मैले गरेजस्तै नेपालमा गएर धेरै कुरा सिक्न मन लागेको होला। मेरो नेपालमा पढ्दाको अनुभव यहाँ लेखेकी छु।
जापानमा हुँदा बाबामामुले मलाई नेपाली पढ्न र लेख्न सिकाउन धेरै प्रयास गर्नुभयो। तर म सधैं आफ्नो स्कुलको पढाइमा मात्र व्यस्त हुने हुनाले नेपाली पढ्न सकेकी थिइनँ। अंग्रेजी भने स्कुलको समयपछि घर नजिकको ट्युसन सेन्टर (जसलाई जापानमा कुमोन भनिन्छ) मा गएर अलिअलि पढ्न जान्ने भएकी थिएँ। तर अंग्रेजी माध्यमबाट नै लेखपढ गर्न सक्ने भने भएकी थिइनँ।
त्यसैले, नेपालमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुल भर्ना भएपछिका सुरूका दिनमा भाषाका कारणले मलाई निकै गाह्रो भएको थियो। भर्खरै क, ख बाट नेपाली पढ्न सुरू गरेकी हुनाले कक्षा ६ को नेपाली विषय त झनै गाह्रो लाग्थ्यो। पढाएका कुराहरू केही पनि बुझ्दिन थिएँ। तर स्कुलका सरम्याडमहरू, साथीहरू र परिवारको सहयोग र प्रोत्साहनले विस्तारै अंग्रेजी र नेपाली दुवै बुझ्न सक्ने हुँदै गएँ।
केही हप्तापछि नै आएको 'टर्म' परीक्षामा पनि सामेल भएँ। नतिजा जे जस्तो आए पनि मैले नेपाली, अंग्रेजीमा लेखेका प्रश्नहरू बुझेर केहीको उत्तर लेख्न सक्ने हुनु नै मेरा लागि ठूलो उपलब्धि थियो। बाबामामुलाई पनि मैले नेपाली पढ्न लेख्न सक्ने भएको हेर्ने ठूलो रहर थियो। थोरै समयमा नै मैले उहाँहरूको त्यो इच्छाई पूरा गर्न सकेँ।
स्कुल र गाउँघरका गरी नेपालमा मेरा धेरै नयाँ साथी बने। मन मिल्ने साथीहरू सँगै भएर बेलाबेला घुम्न जाने, एकअर्काकाे घरमा भेटघाट गर्ने, विभिन्न परिकार पकाएर खाने, आदि गरेर रमाइलो गर्न थाल्यौं। पिकनिक जाने, बजार घुम्न जाने र छुट्टीको समयमा भेला भएर खेल्ने पनि गर्यौं। मलाई नेपालका साथीहरूको स्वभाव, विद्यार्थी जीवन तथा मित्रताको भावनाका बारेमा सबै कुरा जान्ने सुवर्ण अवसर मिल्यो।
आठ महिना नेपाल बस्दा विभिन्न चाडपर्व आए। तिनका बारेमा पनि राम्ररी जान्ने मौका पाएँ। तीज, दसैं, तिहार, छठ, माघे सङ्क्रान्ति, सरस्वती पूजा, फागु पूर्णिमा जस्ता चाडपर्वहरू मनाउन पाएँ। हुन त हामी विदेशमा बसे पनि बाबामामुले हाम्रा नेपाली मौलिक संस्कृति तथा चाडपर्वहरूका बारेमा हामीलाई सधैँ सिकाइरहनु भएको थियो। त्यसैले, अलिअलि थाहा पाइरहेको भए पनि नेपालमा गएपछि प्रत्यक्षरूपमा सामेल हुन पाउँदा अझ प्रस्ट बुझ्ने अवसर पाएँ।
यसै अवधिमा मैले सत्यनारायण पूजा, स्वस्थानी पूजा, रूद्री, पास्नी, व्रतबन्ध, विवाह, पुराण तथा पितृ संस्कार प्रत्यक्ष हेर्न पाएँ। चाडपर्वमा भेला भएका सबै आफन्तहरू चिन्न थालेँ। पारिवारिक स्नेह तथा नेपाली समाजमा हुने पारस्परिक सहयोगका बारेमा राम्ररी बुझ्न पाएँ। यो मेरा लागि ठूलो उपलब्धि हो।
म जस्ता विदेशमा बसेका नेपालीका लागि सरस्वती पूजा विशेष महत्वको हुँदो रहेछ। स्कुल कम्पाउन्ड भित्रै सरस्वती देवीको मूर्ति स्थापना गरिँदो रहेछ। अनि सबै साथीहरू अत्यन्त खुसी भएर पूजा गर्दा रहेछन्। सिनियर दिदीहरूले हामीलाई निधारमा रातो टीका लगाई दिएर बुनियाँ र फलफूलका प्रसाद खानदिनु हुँदो रहेछ। साथीहरूसँग धेरै फोटा खिचेर रमाइलो गरेको त्यो दिन सम्झँदै आनन्द आउँछ।
नेपाल बसाइक्रममा वृहत् संयुक्त परिवारको माया कस्तो हुन्छ भन्ने कुरा पनि अनुभव गर्न पाएँ। घर, मावल अनि थुप्रै आफन्तहरूका माझमा रहँदा धेरै रमाइलो हुँदो रहेछ। हामी विदेशमा रहँदा हाम्रा आफन्तहरूबाट टाढा हुनाले उहाँहरूको मायाबाट सधैँ बञ्चित हुनु परेको हुन्छ। तर मेरो यो पटकको नेपाल बसाइले मेरो चाहनालाई पूरा गरेको छ। सबै आफन्तसँग प्रत्यक्ष घुलमिल हुन पाएँ। अहिले जापान आएपछि पनि इन्टरनेट अनलाइनमार्फत सबै जनासँग नियमित सम्पर्कमा रहेर कुरा गर्न सक्ने भएकी छु।
अब म नेपाल र जापानका स्कुलको पढाइको भिन्नताका बारेमा केही चर्चा गर्छु। जापानमा एलिमेन्टरी स्कुल (कक्षा १ बाट कक्षा ६ सम्म), जुनियर हाइस्कुल (कक्षा ७ बाट कक्षा ९ सम्म) र हाइस्कुल (कक्षा १० बाट कक्षा १२ सम्म) भिन्नाभिन्नै ठाउँका स्कुलमा गएर पढ्नु पर्छ। तर नेपालमा भने कक्षा १ बाट कक्षा १२ सम्मै एकै स्कुलमा पढ्न पाइँदो रहेछ।
जापानमा प्राथमिक स्कुलका किताबका हरेक पेजमा विभिन्न खालका रंगीन चित्रहरू धेरै हुन्छन् र अक्षरहरू थोरै हुने गर्छन्। तर नेपालका किताबहरूमा चित्र थोरै र अक्षरहरू धेरै हुँदा रहेछन्। एकै पेजमा धेरै वाक्यहरू लेखेको हुनाले महत्वपूर्ण बुँदा के-के हुन् भनी पत्ता लगाउन मलाई गाह्रो परेको थियो।
जापानमा हामीले विज्ञानका प्रत्येक पाठमा सैद्धान्तिक ज्ञानसँग सम्बन्धित व्यवहारिक ज्ञान पनि हासिल गर्नु पर्छ। जस्तै कक्षा ४ को विज्ञानमा विद्युत के हो भन्ने बारेमा पढ्दा हामीले ब्याट्रीबाट चल्ने सानो खेलौना कारका विभिन्न भागहरू आफैंले जोडेर चलाउनु परेको थियो। तर नेपालको स्कुलमा कक्षा ६ मा पढ्दा पनि विज्ञान प्रयोगशालामा नियमित जानु परेन।
जापानमा शारीरिक व्यायाम, संगीत, प्रविधि तथा गृह विज्ञान जस्ता विषयहरू हरेक वर्ष पढ्नु पर्छ। यी सबै विषयको पढाइमा प्रयोगात्मक तरिकाले सिकाइन्छ। सबै विद्यार्थीहरू कुनै न कुनै क्लबमा संलग्न हुने गर्छन्। तर नेपालमा भने यी कुरामा फरक पाएँ।
जापानका कक्षा कोठामा हरेक विद्यार्थीका लागि छुट्टाछुट्टै डेस्क र कुर्सी हुन्छन्। विद्यार्थीहरूले आफ्नो डेस्क र कुर्सीलाई सजिलै सारेर समूह बनाएर बस्न सक्छन्। प्रायजसो सबै विषयको पढाइमा ४-५ जना विद्यार्थीहरूको स-साना समूह बनाइन्छ र छलफल गराइन्छ। यसरी छलफल गरेर आएको निचोडलाई सबै टिमले पालैपालो बताउने गर्छन्। साथीहरूसँग टिम बनाएर विभिन्न प्रकारका प्रोजेक्ट वर्क पनि गर्नुपर्छ। नेपालमा यस्तो सामूहिक छलफल त्यति हुँदो रहेनछ। त्यहाँ शिक्षकले प्रश्न सोधेका बेलामा उठेर जवाफ दिने मात्र रहेछ।
मैले नेपाल र जापानका स्कुलका परीक्षामा पनि फरक पाएँ। जापानका प्राथमिक स्कुलमा विद्यार्थीले परीक्षाका लागि भनेर तयार गर्नु पर्दैन। किताबका हरेक पाठ पढिसकेपछि नियमित कक्षामा नै सो पाठसम्बन्धी टेस्ट हुन्छ। ठीक, बेठीक छुट्याउने, खाली ठाउँ भर्ने वा १-२ वाक्यका साना उत्तर लेख्नु पर्ने खालका प्रश्नहरू मात्र हुन्छन्। रंगीन चित्र सहितका प्रश्नपत्रमा नै पेन्सिलले उत्तर लेख्नुपर्छ। तर नेपालमा त परीक्षाका लागि भनेर थप पढ्नु पर्दो रहेछ।
परीक्षाको रूटिन हुँदो रहेछ र परीक्षाकै लागि मात्र भनेर स्कुल जानु पर्दो रहेछ। एक दिनमा एक वा दुई विषयको परीक्षा हुँदो रहेछ। परीक्षामा लामा लामा उत्तर लेख्नु पर्ने प्रश्न पनि सोधिदो रहेछ। नेपालका स्कुलमा प्राथमिक तहका विद्यार्थीले पनि कुन विषयको परीक्षामा कति अंक पाएको भनेर मार्कसीट पाउँदा रहेछन्। जापानमा चाहिँ कुन विषयमा कति अंक ल्याएको भन्ने मार्कसीट हुँदैन। प्रत्येक विषयमा जान्नु पर्ने विभिन्न पक्षका बारेमा पूर्ण जानेको, जानेको अथवा अझै मेहनत गर्नुपर्ने भनेर चिन्ह लगाइएको हुन्छ। साथै परीक्षामा प्रथम, द्वितीय वा कुन स्थान हासिल गरेको भनेर उल्लेख पनि गरिँदैन।
सारांशमा भन्नु पर्दा जापानका स्कुलमा भाषा, गणित, विज्ञान, संगीत तथा प्रविधिका विषयको पढाइ र सिकाइको व्यवहारिक पक्षलाई जोड दिएको छ। नेपालमा अंग्रेजी र गणितका सैद्धान्तिक ज्ञानलाई बढी प्राथमिकता दिएको जस्तो लाग्छ। जे जस्तो भए पनि हामी विदेशमा बसेका नेपालीहरूका लागि नेपाली भाषा, समाज, इतिहास, भूगोल, संस्कृति आदिको ज्ञान अति आवश्यक हुन्छ। मैले आठ महिना मात्र भए पनि नेपालको स्कुलमा पढेर धेरै नयाँ साथी बनाएको छु। मलाई पृथ्वीनारायण शाहको इतिहासका बारेमा, कोसी, गण्डकी र कर्णाली नदीका बारेमा तथा हिमाल, पहाड र तराईका बारेमा पनि थाहा भएको छ।
नेपालका धेरै रमाइला चाडपर्वका बारेमा राम्ररी थाहा पाएँ। त्यसैले म जस्तै उमेरका वा मभन्दा कम उमेरका विदेशमा बस्ने नेपाली भाइबहिनीहरूलाई पनि नेपाल गएर कम्तीमा एक वर्ष पढ्न सुझाव दिन चाहन्छु।
(ऋचा काफ्ले इनरूवा, सुनसरी। हाल – टोकियो, जापान)
नाेटः मैले यो लेखका धरै भागहरू नेपालीमा र कतैकतै जापानी र अंग्रेजीमा पनि लेखेको हुँ। बाबामामुले यसको भाषा सुधारमा सहयोग गर्नु भएको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)