सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बाबाले विदेशबाट फोन गर्दा सधैं सम्झाउने शब्द थियो, 'बाबु बाहिर निस्कदा ध्यान दिनु है। मास्क लगाउनु, हातमा पन्जा लगाउनु, सरसफाइमा राम्रो ध्यान दिनु। अनि तातो पानी बढी खानु है। दिदीलाई पनि तै भन है।'
'हस' भन्दिएँ। तर बाबालाई राम्रोसँग थाहा थियो कि मलाई तातो पानी मन पर्दैन।
म र दिदी कहिले जाँच सकिन्छ र मामा घर जान पाउँला भन्ने मात्र सोचिरहेका हुन्थ्यौं। पहिलेभन्दा केही अगाडि परीक्षा हुनेवाला थियो। हामी तयारीमा जुट्याैं। फाल्गुन २७ देखि जाँच सुरू भएर चैत ५ गते सकिएको थियो। हाम्रो खुसीको सीमा थिएन। मामा घर जाने बिदा पनि लामो मिलेको थियो। तर ममीको छुट्टी ५ दिन पछाडि मात्र मिल्ने भयो। एक्लै जान सक्ने कुरा थिएन। ममीले मेरो बिदा मिलेपछि मात्र जाने कुरा गर्नुभयाे। म रोकिनेवाला थिइनँ। मोबाइल निकालेर मामा घरको बुवालाई फोन लगाएँ। बुवाले पनि ममीसँगै आउनु भनेपछि म बेस्सरी रोएँ।
बुवाले ममीलाई फोन देऊ भन्नुभयाे। बुवाले 'भोलि शनिबार छ चितवनबाट हेटौंडासम्म नातिनातिनालाई ल्याइदे, म हेटौंडासम्म लिन आउँछु भन्नु' भयाे। अलिकति आशा पलायो। फेरि विदेश बस्ने मेरो बाबालाई पनि सोध्नुभयो। म रोएको कुरा बाबालाई बताएपछि बाबाले मान्नुभयो।
हामी ममीलाई छाडेर मामाघर जाने भयौं। मलाई थाहा थियो नाति आउँछ भनेपछि आमाले मेरो लागि घिउ जम्मा गरेर राख्नु भएको छ। बजारमा बस्ने मलाई गाउँको घिउ सारै मन पर्छ। हामी दिदीभाइ खुसी भए पनि ममी दुखी हुनुभएको थियो। एक्लै बस्नु परेकाले।
दिदी र म ममीको पछिपछि लाग्यौं। हेटौंडामा बुवा आएर बस्नु भएको थियो। ममीलाई चुप्पा गरेर चाँडै आउनु है भन्दै बिदा गरेँ। बुवासँगै मामाघर गयौं, पाँच दिनपछि ममी आउने आशामा। मामाघरमा केही चिजको कमी थिएन हामीलाई। तर ममीकाे काखमा मात्र निदाउने म बेलुका भएसी साह्रै याद आउन थाल्यो। हामी आएको दुई दिनपछि लकडाउन भयो।
वीरगञ्ज थियो हाम्रो मामा घर। एक महिना बित्यो ममी आउन सक्नु भएन। म बेस्सरी रोएँ। बुवाले ममीलाई ल्याउन अनेक कोशिस गर्नुभयाे। अनि एम्बुलेन्सको सहारामा एक महिनापछि ममी आउनु भयाे। ममी आएको नि २० दिन पुग्यो। वीरगञ्जमा कोरोना फैलदै थियो। हामी गाउँमा भएकाले त्यति डर थिएन। तर बच्चाहरूको खेल्नमा मात्र ध्यान भयो, पढाईमा मन गएन भनेर ममी चिन्तिन हुन थाल्नु भयाे। विदेशबाट बाबाले पनि अब घर जाऊ भन्न थाल्नुभयाे। हामी त मामाघरमै रमाइरहेका थियौं।
तर बाबाको साथी पुलिस अंकलले हामीलाई पुर्याइदिने कुरा भयो। वैशाख २९ गते दिदी, म र ममी चितवनतिर लाग्यौं। आउन त सजिलै आयौं तर यता आएपछि दुःख भए। बेलुका सबै गाउँले जम्मा भए। हामीलाई वीरगञ्जबाट कोरोना बोकेर गाउँमा फैलाउन ल्याएको आरोप लाग्यो। पुलिस बोलाइयो। हामी डरायौं। ममी पनि रूनु भयो।
बाबा विदेश हुनुहुन्थ्यो। वरिपरि आफन्त कोही छैनन। भएका पनि कोरोना सर्छ भनेर आएनन्। ममीले धेरैलाई फोन गर्नु भयाे। कसैले सहयोग गरेनन्। हामी एक्ला भयौं। त्यो मात्र होइन समाजले हामीलाई ठूलै अपराधी घोषणा गरिदियो।
भाग्यवस् उता मामाघर तिरकै हवलदार अंकल हुनुहुँदो रहेछ। हामीलाई आफ्नो घर भित्र बस्ने वातावरण मिलाइ दिनुभयाे। अहिले हामी ममी, म र दिदी केही दिनदेखि घर भित्र कोरोना फैलाउन आएका अपराधी भएर बसेका छौं। आज चेक जाँच गरियो। हामी तिनै जनालाई कोरोना छैन। तर पनि २० दिनसम्म बाहिर निस्कन मनाइ गरिएको छ।
त्यति मात्र होइन यो समाजका मान्छेले हामीलाई अहिले पनि अपराधी कै नजरले हेरिरहेका छ्न्। घरमा सामान सकिँदै गएको छ। तर पैसा दिँदा पनि कसैले ल्याइदिने आँट गरेका छैनन्। हामी एक्ला भएका छौं र पनि बाँच्नु छ। आफू अपराधी नभएको प्रमाण दिनु छ समाजलाई। फेरि स्कुल जानु छ। पढेर ठूलो बन्नु छ।
हे कोरोना! अब कति दिन हामी कोरोना सार्न आएका अपराधी बनेर बस्ने?
(कृष्ण सुवेदी अर्किड बोर्डिङ स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)