सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
समाज भन्ने बित्तिकै मानिसहरूको एउटा समूह वा स्वरूप भन्ने बुझिन्छ। मानव जीवन एउटा समाजमा नै जन्मन्छ, हुर्कन्छ र समाजमै उसले मृत्युवरण गर्छ। तसर्थ, विभिन्न धर्म, संस्कृति, भाषा, भेषभुषा र रितिरिवाज अनि परम्परालाई सँगाल्दै खुसीमा खुसी र दुःखमा दुखी हुँदै मिलेर बसेको मानिसहरूको समूह नै वास्तविक अर्थमा समाज हो। विभिन्न समूह मिलेर समाज र समाज समाज मिलेर राष्ट्रको निर्माण भएको हुन्छ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक राष्ट्र हो। यहाँ १२३ भन्दा बढी भाषा बोलिन्छन् भने विभिन्न जातजातिका र धर्म संस्कृतिका मानिसहरू बस्छन्। नेपाली समाजमा विविधता भए पनि त्यस विविधताका बीचमा एकता छ। देशभरको वातावरण भने समान छैन। केही ठाउँमा सामाजिक विकृति र विसंगतिहरू अहिले पनि रहेका छन्।
आजको यस विश्वव्यापीकरणमा पनि विभिन्न धर्म जातीय छुवाछुतका नाममा हाम्रै देशभित्र विभिन्न किसिमका घटनाहरू भइरहेका देखिन्छन्, सुनिन्छन्। केही दिनअघि मात्रै रूकुममा घटेको घटना पनि यसको एउटा ज्वलन्त उदाहरण हो। हामीहरूको चेतनाको स्तर निकै पछाडि परेको महशुस हुन्छ।
आज विश्वका विकसित देशहरूका मानिस चन्द्रमाको यात्राका बारे कुरा गर्दैछन्। उनीहरू मानवनिर्मित विभिन्न उपकरणबाट मिनेटभरमै सम्पूर्ण विश्वको जानकारी लिन सक्छन्। नेपालमा भने विभिन्न शोषण र अन्याय अहिलेसमेत छ। कहिले एउटै समाजमा मिलेर बसेका विभिन्न समूहलाई जातको नाममा द्वन्द्वमा पुर्याउने त कहिले उनीहरू बीचको एकता र मैत्रीपूर्ण वातावरणलाई खल्बलाउने जस्ता क्रियाकलाप भएका देखिन्छन्।
हुन त नेपाली समाजमा असल बुद्धिजिवी, विद्वान्, साहित्यकार, कलाकार, नेताहरू पनि छन् तर समाजलाई परिवर्तन गर्न सक्ने व्यक्ति भने कमै मात्र देखिएका छन्।
रूकुमको घटना जस्ता कैयौं अन्य घटना नभएका होइनन् तर सबै घटना सार्वजनिक भएका हुँदैनन्। यति मात्र होइन नेपाली समाजमा हुर्की बढेका नेपालीहरूले अन्य विकसित मुलुकमा विकास देखे पनि आफ्नो देशमा सामाजिक परिवर्तन ल्याउन सकेका छैनन्।
वास्तवमा भन्ने हो भने नेपाली समाज कतिसम्म पछाडि र कुप्रथामा रूमलिएको छ भन्ने वास्तविक चित्रहरू रूकुमको घटना जस्ता कैयौं घटनाहरूले गरेका छन्। त्यसैले किताबमा मात्र परिवर्तनका कुरा नगरेर समाजमा नै परिवर्तन ल्याउन सबै सचेत हुनु जरूरी छ। यसो गर्न सकियो भने मात्र सुन्दर, स्वच्छ र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ।
(अश्लेषा पाण्डे बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)