सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हिजाे विश्व वातावरण दिवस। यसपालि कोरोना भाइरसको महामारी कारणा हामी घरमै बस्न बाध्य भएका छौं। पोहोर त विद्यालयमा वातावरण दिवस धुमधामका साथ मनाएको रमाइलो सम्झना याद आइरहेको छ।
वातावरण भनेको पृथ्वी चारैतिर फैलिएको जल, थल, आकाश, वायु आदिलाई जनाउँछ। यसको हामी सबै मिलेर संरक्षण गर्नु पर्छ। हामी प्राणी जगतलाई गास, बास र कपासको आवश्यकता पूरा गर्न वातावरण चाहिन्छ। वातावरण प्रकृतिको वरदान हो। यसलाई हराभरा बनाई राख्नु पर्छ।
आजको यो बढ्दो जनसंख्यासँगै मानिसका हरेक आवश्यकता पूरा गर्न र देशको विकास गर्न विभिन्न कलकारखाना र उधोग धन्दाहरूले वातावरण विनास भइरहेको छ। दिगो विकासका लागि वातावारण विनास गर्न हुँदैन। यसको संरक्षण गर्दै अघि बढ्नु पर्छ। वन जंगलका रूखविरूवा जथाभावी फडानी गर्दा जंगलमा बस्ने प्राणी जगतमा असर पुग्छ। उनीहरूको बासस्थानको ह्रास हुन्छ।
जंगलमा बुढा, सुक्न लागेका रूखहरू छानेर ढाल्ने र खाली ठाउँमा पुनः अर्को विरूवा रोप्नु पर्छ। डाँडाकाँडामा वृक्षारोपन गरि हरियाली बढाउनु पर्छ। हाम्रो घर आँगनमा पनि थरिथरिका फलफुलका विरूवा लगाउनु पर्छ। म गत वर्षको वातावरण दिवस सम्झन चाहन्छु। मैले पोहोरको वातावरण दिवसमा विद्यालयमा इमिली, अम्बा र लालुपातेको विरूवा लिएर रोपेको थिएँ। कहिलेकाहीँ घरबाट कुहिने वस्तु तरकारी र फलफूलका बोक्रा जम्मा गरेर विद्यालयमा त्यसबाट प्रांगारिक मल बनाएर विरूवाहरूमा राख्थ्यौं। सिकेको शिक्षाले समाजमा गएर वातावरण संरक्षण गर्न सिकाउनु पर्छ भन्ने कुरा शिक्षकहरूले हामीलाई सिकाउनु भएको छ।
'स्वच्छ वायु, स्वस्थ जीवन' भन्ने नारालाई प्रभावकारी बनाउन र वातावरणको संरक्षण गर्न गराउन हामी विद्यार्थीको ठूलो भूमिका हुन्छ। दुषित हावा, नदी नाला र प्रदुषित वातावरणका कारण मानव जीवन, पशुपन्छी तथा बोटवृक्षलाई समेत नकारात्मक असर परिराखेको अवस्थामा हामी विद्यार्थीले यस सम्बन्धी विभिन्न पोस्ट पम्पिलेट र ब्यानर बनाएर जानकारी गराउँदै हिँड्नु पर्छ। हाम्रो विद्यालयमा प्रत्येक साल आउने वातावरण दिवसको दिन सहरका धेरै ठाउँ गएर हामीले विभिन्न चेतना मुलक जानकारी दिँदै आएका थियाैं।
वातावरणलाई स्वस्थ राखौं, पानीमा ढल नमिसाऊ, पानीलाई प्रदुषित नपारौं। पानी नै हाम्रो जीन्दगानी हो। आफ्नो टोल छिमेक सधैं सफा राखौं। जथाभावी फोहोर नफालौं जस्ता नारा ठूलो अक्षरमा लेखेर देखाउँदै हिँड्थ्यौं। पानीलाई मात्र नभएर वातावरणमा रहेका सबै चिजलाई संरक्षण गर्नु हाम्रो कर्तब्य हो भन्ने जानकारी सबैमा हुनु पर्छ। प्रदुषित वातावरण भयो भने जलवायु परिवर्तन हुन्छ जसको असरले हामीलाई विभिन्न खालका रोग लाग्न सक्छ। वातावरण स्वच्छ भएन भने मानिसको आयु कम हुन्छ। स्वास्थ्य नै हाम्रो अमुल्य धन हो त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्ने प्रण गर्नु पर्छ।
उद्याेगधन्दा कलकारखाना अनि गाडी चलेका छैनन्। अचेल हाम्रो वरपरको वातावरण सफा भएको छ। हामीले यो बन्दको समयमा अभिभावकसँग मिलेर वातावरण संरक्षणमा गर्नु पर्छ। यो बेलाको मेराे समय बिहान बेलुका अभिभावकसँगै स-साना विरूवाहरू लगाउने, पुरानो विरूवाहरूको गोडमेल र सिचाई गर्ने र दिउँसो अनाइन कक्षामा पढ्ने र विभिन्न सृजनात्मक काम गर्दै बितेको छ।
अन्तमा, हामी सबै मिलेर स्वच्छ समाज बनाउने अभियानमा जुटौं। गाउँ, सहर र समाजमा गएर सरसफाई सम्बन्धी उचित शिक्षा दिने, नांगा डाडापाखाहरूमा वृक्षारोपन गर्न र वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउनु पर्छ। सहर बजारका घरमा एक घर एक वृक्ष रोपण र फोहोरको उचित व्यवस्थापन गराउन अभियान चलाउनु पर्छ। वातावरणको उचित संरक्षण नगरेमा बाढी पहिरोको समस्या निम्तिन्छ। यसबाट कैयौं जनधनको क्षति हुन्छ। यी सबै कुरामा समयमा सचेत बन्नु पर्छ र वातावरण जोगाई राख्नु पर्छ।
आउनुहोस्, सबै मिलेर प्रकृतिलाई माया गरौं। यसलाई बचाऔं र हामी पनि बाँचौ।
(अभिनव के.सी वृहस्पति विद्यासदन नक्साल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)