सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार, म सदिक्षा पौडेल। केएमसी स्कुल बुद्धनगरमा कक्षा ६ मा अध्ययन गर्दैछु।
हाम्रो कक्षा ५ को अन्तिम परीक्षा सकिएको पनि साढे दुई महिना बितिसकेको छ। परीक्षा सकिएलगत्तै गएको चैत ११ देखि विश्वमा फैलिएको कोराना भाइरसका कारण अन्य मुलुकमा झैं हाम्रो देशमा पनि लकडाउन भयो। सबै बजार, उद्योग, यातायातका साधन, विद्यालय साथै अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक अन्य सरकारी तथा निजी कार्यालयहरू समेत बन्द भए।
यसरी भएको लकडाउन र कोरोना भाइरसको त्रासका कारण करिब साढे दुई महिनादेखि म विद्यालय जान पाएकी छैन। मेरो घर वरपरका साथीहरूसँग समेत खेल्न पाएकी छैन।
अन्तिम परीक्षा सकिएपछि लामो बिदामा म र मेरो दिदी अरू वर्षहरूझैं यस वर्ष पनि मेरो घर पोखरा र मामाघर स्याङ्जा जाने कुरा गरिरहेका थियौं। यसरी घुम्न जाने र घर, मामाघर सबैलाई भेटघाट गर्न पाउने कुराले म बहुत खुसी भइरहेकी थिएँ। तर हामी जान नपाउँदै एक्कासि लकडाउन भइहाल्यो। हाम्राे स्याङजा, पोखरा जाने रहर यतिकै भयो।
लकडाउनका कारण कतै घुम्न जान नपाउँदा र स्कुलसमेत जान नपाउँदा सुरूका केही दिन त मलाई निकै 'बाेर' लाग्यो। तर पनि म मेरी प्यारी बहिनीसँग खेलेर समय बिताउदै आएँ।
अहिले त जुमबाट मेरो पढाई पनि नियमित रूपमा भइरहेको छ। अनलाइन कक्षामा आफ्नो पढाई हुँदा मलाई धेरै खुसी लागेको छ। घरैमा बसेर समेत धेरै कुरा सिक्न पाएकी छु। मैलै सर र म्याडमहरूले गर्न दिनुभएको गृहकार्य समयमा बुझाउँछु। नपढाएका पाठसमेत इन्टरनेटमा हेरेर गर्छु। अहिले त मेरो कक्षाका किताबहरू पनि सबै आइसकेका छन् जसले गर्दा ती किताब हेरेर समय सजिलै बिताउँछु। बिदाका सुरूका दिनमा टिभी र कम्प्युटरमा समय बिताए पनि अहिले कुनै कुनै समयमा मात्र टिभी, कम्प्युटर र मोबाइल हेर्छु।
लकडाउनको लामो बिदामा बाबा, ममी र बहिनीसँग बस्न पाएकी छ। अरू बेलामा बाबाममी अफिस जाने हुँदा त्यति समय दिन भ्याउनु हुन्नथ्यो। यस समयमा बाबाममी पनि कहिले कहिले मात्र अफिस जानाले उहाँहरूसँग समय बिताउने प्रशस्त समय पाएँ। उहाँहरूबाट धेरै कुरा सिक्ने मौका पाएँ। मैले ममीबाट किचनको काम जस्तैः चिया बनाउने, खाजा, खाना बनाउने सिकेँ भने कोठा मिलाउन घर सफा गर्न सिकेँ। ती काम मैले निरन्तर गर्दै ममीलाई सहयोग पुर्याइरहेकी छु।
बिहान बेलुका भगवानको पूजा पनि गर्छु। त्यसैगरी, मेरो बाबासँग ब्याडमिन्टन, भलिबल लगायत खेल खेल्छु। समयसमयमा मेरी बहिनीसँग पनि खेल्छु र रमाउँछु।
लकडाउनमा फुर्सदको सदुपयोग गर्दै मैले अनलाइनमा पढ्न पाइने विभिन्न एप्स खोजेँ। आफूलाई आवश्यक पर्ने एप्स प्रयोग गरी विभिन्न कुरा सिक्दैछु। यस्ता एप्सका बारेमा मैले मेरा साथी र भाइबहिनीलाई समेत जानकारी गराएकी छु। जसबाट मलाई र उनीहरूलाई समेत फाइदा पुगिरहेको छ। त्यसैले, म अरूलाई समेत यसै अनावश्यक काममा समय खेर नफाली समयको सदुपयोग गरौं र केही न केही सिक्ने कोशिस गरौं भन्न चाहन्छु।
संसारभर फैलिरहेको कोरोना भाइरसका कारण विश्वमा धेरै मानिसको मृत्यु भइसकेको छ। कयौं बिरामी परिरहेका छन्। नेपालमा पनि १३ जनाको मृत्यु भइसकेको छ। तीन हजारभन्दा बढी संक्रमित भएका छन् जसले गर्दा कतै हामीलाई पनि कोरोना भाइरस लाग्ने त होइन भनेर डर लागिरहेको छ।
कोरोना भाइरसको औषधि र खोप छिट्टै पत्ता लागोस्, कि कोरोना भाइरस छिट्टै संसारबाट हराएर जाओस् भनेर भगवानसँग प्रार्थना गरिरहेकी छु। याे भाइरसको छिट्टै अन्त्य होस् र हामी विद्यार्थीलाई पनि ढुक्कसँग स्कुल जाने वातावरण बनोस्।
अन्त्यमा म भन्न चाहन्छु, 'घरमै बसौं र कोरोना संंक्रमण हुनबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊँ। कोरोना विरूद्धको लडाईंमा सबै एकजुट भएर लागौं। गरिब र दुःखीको सेवा गरौं। सामाजिक दुरी कायम गरौं। लकडाउनको पूर्ण पालना गरौं।'
(सदिक्षा पौडेल केएमसी स्कुल, बुद्धनगर काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)