सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सृष्टि घिमिरे हो। म सेन्ट मेरिज हाई स्कुल, ललितपुरमा पढ्छु। मलाई बिदाको समयमा घुम्न, कार्टुन हेर्न, घर परिवारसँग बस्न, कुराकानी गर्न र तपोवन जान मनपर्छ। जब मेरो विद्यालयको अन्तिम परीक्षा सकियो, त्यसपछि बिदाको समयमा रमाइला रमाइला ठाउँ जस्तै काठमाडौंको फन पार्क, हुपिल्यान्ड, ककनी, नगरकोट, शिवपुरी, ओशो तपोबन, घुम्न जान मन पर्छ।
मैले कलंकी ठूलो बाबाको घर जान, बाबा, आमा र दिदीलाई अनुरोध गरिरहेको थिए। मेरो दिदी अहिले दश कक्षामा पढिरहनु भएको छ। उहाँको एसइई परीक्षा पनि नजिकिदै रहेको हुनाले दिदीको एसइई सकिएपछि बाबाले सबै परिवार सँगसँगै घुम्न जाउँला भन्नु भएको थियो। मेरो दिदीले त मामा घर गोर्खा पनि जाउँला भनिरहनु भएको थियो। म दिदीको एसइई कहिले सकिन्छ र सबै परिवार घुम्न जाउँला भनेर दिन गनेर बसिरहेको थिए।
जब कोरोना र लकडाउनले गर्दा दिदीको एसइई पनि रोकियो, मलाई नरमाइलो लाग्यो। झन् कोरोना भाइरस र यसको बारेमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, समाचार र घरमा हुने कुराले मलाई झन् डर र चिन्ता लाग्न थाल्यो। मैले पहिला पहिला रमाएर गर्ने काम पनि अब गाह्रो लाग्न थाल्यो। मेराे घुम्न जाने सबै काम रोकिए। त्यसपछि दिदिसँग रिस उठ्न थाल्यो। बाबासँग पनि बोल्न मन लागेन, ममीले पकाएको खानेकुरा पनि मीठो लागेन। मलाई लाग्थ्यो कि लकडाउन र यति लामो बिदा के गरेर बिताउने होला? अब स्कुल कहिले जान पाउने होला?
पहिला पहिला त लकडाउन भनेको के रहेछ भनेरै थाहा थिएन। जब टेलिभिजन, रेडियो र समाचार हेर्न र सुन्न थाले, मलाई यसको बारेमा अलिअलि थाहा भयो। हामी सबै घरमा बस्न थालेपछि बाबा र दिदीले हाम्रो घरमा भएका राम्रा राम्रा कथाका किताबबाट कथा भन्न थाल्नु भयो। हामी सबै परिवार बसेर सँगै खाना, खाजा खाने, टेलिभिजन हेर्ने अनि लुडो, क्यारमबोर्ड खेलेर समय बितायौं।
दिदीले मलाई कथा भन्न, चित्र कोर्न, रंग भर्ने, नाच्न, मुसो बिरालो खेल, तातो आलु खेल सिकाउनु भयो। मैले ममीसँग किचनमा तरकारी काट्न, भाँडा सफा गर्न र तरकारी विरूवामा पानी राख्न सिकेँ। अब मलाई घरमा सबैसँग बस्दा रमाइलो लाग्न थाल्यो। दिदी र म मिलेर हाम्रो कोठा सफा गर्ने, सामान, बेड, दराज, किताब रयाक मिलाउने र कोठा सजाउने काम पनि गर्यौं। साँझ कौसीमा गएर बुढानिलकण्ठ, स्वयम्भुनाथ अनि शिवपुरि जंगल, हरिया रूख हेर्न थाल्यौं।
केही समयपछि मेरो स्कुलबाट अनलाइन पढाई पनि सुरू भयो। अब भने मलाई साथीहरूको, शिक्षकशिक्षिका र स्कुलको सम्झना आउन लाग्यो। मैले कम्प्युटरमा पनि होमेवर्क गरेर इमेलमा पठाउन थाले। फेसबुक पनि खोल्न जाने। युट्युब र थ्रीडी आईको कक्षा त झन् रमाइलो लाग्यो। कहिले कहिले गार्हाे होमवर्क गर्नु पर्दा भने बाबाममी र दिदीलाई सिकाई दिन भन्छु। उहाँहरूले मलाई सिकाइदिनु हुन्छ।
यो बेला हामीले उजेली अनि डोल्पा डकुमेन्ट्री हेर्याैं। तीन वटा फिल्म 'कोहलपुर एक्सप्रेस', 'भोला' र 'चक एन्ड डस्टर' सबै परिवार बसेर हेर्यौं। योबाट मैले धेरै कुरा सिकेँ र रमाइलो पनि भयो। फिल्म हलमा गएर हेरेको जस्तो रमाइलो भने भएन। बाबाले भन्नु भएको अब लकडाउन खुलेपछि हलमा गएर फिल्म हेर्नु पर्छ अनि रमाइलो हुन्छ रे।
लकडाउनमा मेरो दिदीले स्टोरी टाइम इन नेपाल र बाल कोशेलीमा बालबालिकाहरूका लागि दुइटा कथा सुनाउनु भयो। दिदीले कथा सुनाएपछि मलाई पनि कथा भन्न र सुनाउन मन लाग्यो। मैले पनि बाल कोशेली युट्युबमा एउटा बाल कथा सुनाएँ। मेरो कथाको नाम 'आँखा छोपी' थियो। मैले कथा सुनाएपछि मेरो दिदीले फेसबुकमा पनि राखिदिनुभयो। त्यसपछि त सबैले लाइक सेयर र कमेन्ट गर्नुभयो। कति जनाले त फोन गरेर धन्यवाद पनि दिनुभयो। अब मलाई फेरि अर्को कथा सुनाउन पनि मन लागिरहेको छ।
लकडाउनले गर्दा अझै छिटै स्कुल खुल्ने जस्तो छैन। अहिले त म घरमा परिवारसँग बसेर आनन्दसँग रमाएर स्कुलको पढाइ गर्दैछु। अरू थप कुरा पनि ममी, बाबा र दिदीसँग सिकिरहेकी छु। मलाई यो पनि थाहा छ कि कोरोना भाइरस रोगसँग हामी सबैले सतर्क हुनुपर्छ।
लकडाउन पनि अब बिस्तारै खुकुलो हुँदै जान्छ र खुल्छ रे। कोरोना भाइरस नि एक दिन हराएर जान्छ रे। हामी फेरि पहिले जसरी नै सबै काम गर्न थाल्छौं। म मेरो साथी र शिक्षकहरूसँगै विद्यालयमा भेट्न पाउँछु। अनि हामी कोरोना भाइरस र लकडाउनको समय के कसरी बितायौ, के कस्ता अनुभव गर्यौं भनेर सथीहरूसँग एक आपसमा कुरा सुन्न र सुनाउन पर्खिरहेका छौं।
(सृष्टि घिमिरे सेन्ट मेरिज हाई स्कुल, जावलाखेल कक्षा तीनमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)