सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अन्धविश्वास भनेको अन्ध र विश्वास दुई शब्द मिलेर बनेको शब्द हो। अन्धो बनेर विश्वास गर्नु अथवा कुनै विषयमा गहिरो अध्ययन नगरी/नबुझी विश्वास गर्नु नै अन्धविश्वास हो।
अन्धविश्वास सामाजिक विकृति पनि हो। मानिसले धर्म, संस्कृति र परम्पराका नाममा विभिन्न राम्रा–नराम्रा पक्षहरूमा विश्वास राख्छन्। अहिलेको एक्काइसौं शताब्दीमा पनि विभिन्न ठाउँमा अन्धविश्वासले फरकफरक रूपमा आफ्नो उपस्थिति जनाइ राखेको हुन्छ। अन्धविश्वास तथा कुरीतिहरू सहरमा भन्दा गाउँघरतिर बढी पाइन्छ।
बोक्सा–बोक्सीको आरोप, धामीझाँक्री, बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथा, बाँधा प्रथा, महिला हिंसा, आदि सामाजिक विकृति हुन्। यस्ता सामाजिक विकृतिका पछाडि कुनै न कुनै रूपमा अन्धविश्वासले काम गरेको हुन्छ। समाजमा आर्थिक आधारमा वर्गविभेद, छुवाछुत र जातीय विभेद लगायतका कुसंस्कार हाम्रो समाजमा अझै रहेका छन्।
अन्धविश्वासका कारण आफ्नी छोरी महिनावारी नहुँदै जल खानु पर्छ (विवाह गरिदिनु पर्छ) भन्ने विश्वास, छोरी अर्काको घर जाने जात हो भन्दै शिक्षाबाट उनलाई वञ्चित गराउने चलन, आफ्नो स्वास्थ्य नै बिग्रिने गरी विभिन्न किसिमका व्रत बस्ने बानी, औषधि खानु हुँदैन भन्ने विश्वास आदिले गर्दा हाम्रो समाजलाई अघि बढ्न अबरोध गरेको छ।
अन्धविश्वासलाई पुष्टि गर्नका लागि कुनै कारण नै छैन। यो त एउटा मानसिक कमजोरी मात्र हो। यो सोचाइमा भर पर्ने कुरा हो। हामीले चाहेको खण्डमा यसबाट निकास पाउन सक्छौं। अन्धविश्वासलाई कसरी हटाउन सकिन्छ भन्ने कुराको ज्वलन्त नमुना म पढ्ने बुढानीलकण्ठ विद्यालय हुन सक्छ। यसको स्थापना सन् १९७२ मा भएको थियो। विद्यालयमा सतहत्तर जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गर्छन्। यहाँ देशको विभिन्न भूगोलबाट अनेक जातजाति, मूल्य–मान्यता र धर्म–संस्कृति मान्ने विद्यार्थी आउँछन्। विद्यालयले विद्यार्थी छनौट गर्ने छुट्टै प्रक्रिया छ।
मूलतः यहाँ पूरा पैसा तिर्ने र पूर्ण छात्रवृत्तिमा पढ्न पाउने गरी विद्यार्थीले भर्ना पाउँछन्। विद्यालयमा भर्ना हुनका लागि विद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको योग्यता सूचीमा आउनु पर्छ। उक्त परीक्षामा हिमाल, पहाड र तराईमा बस्ने विद्यार्थीले जातपातको भेदभाव बिना समान अवसर पाउँछन्। प्रवेश परीक्षामा विद्यार्थीलाई जात–भात, धनी–गरिब, भौगोलिक बासस्थान लगायतका कारण कुनै विभेद गरिँदैन।
हाम्रो विद्यालयले यो कुराको ख्याल गरी विद्यालय स्थापनाकालदेखि नै थरको सट्टा रोल नम्बरलाई प्रयोगमा ल्याएको छ। यसको कारण पनि यहाँ धेरै विद्यार्थीलाई आफू सानो वा ठूलो लाग्दैन। हाम्रो विद्यालयमा सबै जना एकै ठाउँमा बसी खाना खान्छौं। एउटै भवनमा सुत्छौं र कसैलाई 'तँ यो जातको मानिस, मलाई न छो' भनी जातीय भेदभाव गर्दैनौं। सबै जना मिलिजुली बस्छौं।
नेपालका दुर्गम पहाडी जिल्ला जहाँ छाउपडी प्रथा, झुमा प्रथा जस्ता अन्धविश्वास मौलाएका छन् त्यहाँबाट पनि यस विद्यालयमा अध्ययन गर्न विद्यार्थी आएका छन्। तर हाम्रो विद्यालयमा यस्ता प्रकारका प्रथा मानिँदैनन्। परिवारको एक जना मात्र सदस्य शिक्षित भयो भने पनि पूरै परिवारलाई अन्धविश्वासबाट मुक्त गराउन सक्छ। यदि एउटा गाउँमा केही शिक्षित व्यक्ति भए भने पनि पूरै गाउँलाई नै अन्धविश्वासबाट मुक्ति दिलाउन सक्छन्।
समाजमा सदियौंदेखि जरा गाडेर बसेका कुरीति, कुप्रथा तथा अन्धविश्वासलाई एउटै प्रयासले उन्मूलन गर्न सकिँदैन तर प्रयास गर्दै गएमा एक दिन अवश्य यस्ता प्रथा हटाउन सकिन्छ। केही समय अगाडि नेपालको सुदूरपश्चिममा छाउपडी गोठलाई प्रहरी र गाउँका केही अगुवा मिलेर नष्ट गरिदिए। तर त्यस क्षेत्रका बासिन्दाले यसको विरोध गरे। महिनावारीको समयमा परिवारका सदस्यसँग बस्दा पाप लाग्ने अन्धविश्वास मान्छेमा छ।
हालै पश्चिम रूकुमको घटना पनि यस्तै अन्धविश्वासको उदाहरण हो भनिन्छ। एक जना विश्वकर्मा थरका केटा र मल्ल थरकी केटीबीच माया प्रेम भई विवाहसम्मको कुरा हुन्छ। विवाहका लागि केटा साथी लिएर केटीको घर जान्छ। केटी पक्षकाले उनीहरूलाई लखेट्ने क्रममा ६ जना केटाहरूको भेरी नदीमा मृत्यु हुन्छ।
मिडियाहरूमा आउँछ 'जातका कारण छ जना कलिला केटाहरूको हत्या भयो।'
यो विषय अनुसन्धानको विषय भएको हुँदा यथार्थ के हो भन्न सकिने अवस्था छैन। तर बाहिर सुन्दा भने जातजातिका कारण उत्पन्न अन्धविश्वासले गर्दा ज्यान गुमाएको बुझिन्छ। यदि यस्तो हो भने यो जघन्य अपराध हो।
संविधान र कानुनका ठेलीका पन्नापन्नामा कोरिएका काला अक्षरका लहरले मात्र अन्धविश्वास र कुरीतिलाई पूर्ण रूपमा निर्मूल पार्न सकिँदैन। हाम्रो देशको दुरदराजमा बस्ने अशिक्षित नागरिकको यस्ता संविधान र कानूनका ठेलीसम्म न त पहुँच नै हुन्छ न त उनीहरूले यसको सही तरिकाले व्याख्या नै गर्न सक्छन्। यसका लागि कार्यान्वयन पक्ष सबल हुनु पर्छ। नेपालको संविधानमा छुवाछुतलाई सामाजिक अपराधको रूपमा व्याख्या गरिएको छ। यसका लागि विभिन्न कानून निर्माण गरेर लागू गर्ने पनि व्यवस्था छ।
शिक्षा नै अन्धविश्वास नियन्त्रण गर्ने गतिलो अस्त्र बन्न सक्छ। सानै कक्षादेखि अन्धविश्वास र कुरीतिलाई सामाजिक अपराधको रूपमा व्याख्या गर्दै जानु पर्ने खाँचो छ। विश्वले विज्ञानको सहायताले प्रविधिमा निकै लामो फड्को मारिसकेको यस अवस्थामा हामी भने दुई सय वर्ष अगाडिको सोच लिएर हिँडेका छौं।
शिक्षित व्यक्तिले अन्धविश्वासका कार्यलाई रोक्न सक्छ र अन्धविश्वास मान्ने व्यक्तिलाई निरूत्साहित गर्न सक्छ। अन्धविश्वासको रूख तब ढल्छ जब सबै जना शिक्षित हुन्छन्। शिक्षा र ज्ञानको ज्योतिले क्रमिक रूपमै अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानु पर्छ। यस कुरामा हामी विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहन्छ।
(क्षितिजबाबु आचार्य बुढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)