सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
गत हप्ता रूकुममा भएको पीडादायक घटनाले मेरो आङ नै सिरिंग भयो। नवराज विश्वकर्मा १९ वर्षीय केटा थिए, जसको प्रेम सत्र वर्षकी मल्ल थरकी केटीसँग भएको थियो। उनलाई के थाहा थियो र यो प्रेम नै एक दिन उनको मृत्युको कारण बन्नेछ।
उनको गल्ती के थियो? के दलित भएर जन्मिनु उनको गल्ती थियो? दलित भएर अर्कै जातकी केटीलाई मन पराउनु उनको गल्ती थियो? जात हेरेर माया गर्ने हो र?
उनलाई निर्दयतापूर्वक कुटपिट गरिएको र भेरी नदीमा डुबेर उनको मृत्यु भएको खबर सुनेपछि म स्तब्ध भएँ। आफू निःशब्द भएको महशुस गरेँ। हाम्रो समाजमा यस्तो अमानवीय घटना हुन सक्छ भन्ने मेरा लागि अकल्पनीय थियो र यो सुनेपछि के हामी एक्काइसौं शताब्दीमै बाँचिरहेका हौं त जस्तो लाग्यो।
चार अक्षरले बनेको 'भेदभाव' हाम्रो समाजमा व्याप्त छ। यो शब्द सुन्नेबित्तिकै हाम्रो समाजमा भइरहेका नकारात्मक कुराको याद आउँछ। हुन त आधुनिकीकरणले यस संसारको रूप नै फेरिदिएको छ, जहाँ जन्मले दिने पहिचानभन्दा कर्मको पहिचान महत्वपूर्ण हुन्छ भनिन्छ। हाम्रो बोल्ने, खाने, लुगा लगाउने आदि कुरामा ठूलो परिवर्तन आएको छ।
मीठो खाँदैमा र महँगो लाउँदैमा मात्र कोही पनि आधुनिक हुन सक्दैन। आधुनिक हुन त मानसिकतामा परिवर्तन आउनुपर्छ। हाम्रो सोचमा परिवर्तन आएपछि मात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ। नवराज विश्वकर्माका बारेमा पढेपछि मलाई अझै पनि हामो समाजको आधारभूत मानसिकतामा परिवर्तन नआएको जस्तो लाग्यो।
हरेक दिन हाम्रो समाजमा कोही न कोही भेदभावको सिकार भइरहेको हुन्छ। जातीय भेदभावको कारणले हजारौं आमाबुबाले आफ्नो सन्तान गुमाएका छन्। भेदभावकै कारण हामीले देउतासरह मान्ने आमाहरूका आँखाबाट आँशु बगेको छ। अब अझैं कति आमाबुबाले आफ्नो सन्तान गुमाउनुपर्ने हो यस भेदभावको लडाइँमा?
नवराज विश्वकर्माका बारेमा पढ्दै जाँदा मैले ढाका टोपी लगाएको र नेपालको झन्डा अंकित झोला बोकेको उनको तस्बिर देखेँ। त्यसपछि मलाई लाग्यो, सर्वप्रथम त हामी नेपाली हौं। हाम्रा पुर्खाले गर्दा चिनिने हामी नेपाली, विविधताका लागि चिनिने हामी नेपाली। विविधताका लागि विश्वभर प्रसिद्ध नेपालमा नेपाली छोराले भेदभावको कारणले आफ्नो ज्यान गुमाउनुपर्दा मलाई एकदमै दुःख लागेको छ। जातीय भेदभावको कारणले भएको यो पहिलो मृत्यु होइन। यस्ता घटना हामीले बारम्बार सुन्दै आएका छौं र हामी सबैलाई थाहा छ, यो अन्तिम घटना पनि हुने छैन।
म बल्ल सोह्र वर्षकी भएँ र मैले समाजमा हुने विभिन्न किसिमका भेदभावका बारेमा अझै धेरै कुरा थाहा पाउन बाँकी छ। तर मलाई गर्व छ कि मेरो परिवारमा जातभातलाई कहिल्यै महत्त्वपूर्ण मानिएको छैन। हामी सबै नेपाली हौं भनेर नै हुर्किएँ म तर केही कुराचाहिँ मैले पनि सुनेकी छु।
मानिसहरूले 'तिमी कुन जातका हौ?' भन्ने प्रश्न गरिरहेको मैले सुनेकी छु। 'तिम्रो नाक लामो छ त, बाहुन हौ?' भनेर सोधेको पनि सुनेकी छु। कसैलाई उसको जात सोध्नु किन जरूरी छ भन्ने कुरा भने मैले अहिलेसम्म बुझ्न सकेकी छैन।
आजकलका धेरै बालबालिका समाजको सकारात्मक पक्ष हेरेर हुर्केका छन्। समाजका नकारात्मक पक्ष हाम्रा लागि अपरिचित छन्। पत्रपत्रिकामा भेदभावका खबर त टन्नै पढ्न पाइन्छ तर त्यस्तो कसरी भयो? यस्तो पनि हुन्छ र? जस्ता प्रश्न हाम्रो मनमा जहिल्यै आइरहन्छन्। हामी आ-आफ्नै जीवनमा व्यस्त छौं र समाजका यस्ता नकारात्मक पक्ष त हामी धेरै बालबालिकाले देखेकै छैनौं। यसकारण बाल्यकालदेखि नै आमाबुवाले आफ्नो सन्तानलाई कहिल्यै पनि भेदभाव गर्नु हुँदैन भनेर व्यवाहारमा नै सिकाउनुपर्छ। विद्यालयमा पनि यो कुरामा विशेष ध्यान दिनुपर्छ। बालबालिकाले अरूको दुःख र संघर्ष बुझ्न सक्ने हुनुपर्छ र हामी सबै समान हौं भन्ने कुरा बुझ्नुपर्छ।
भेदभाव भन्ने विषय एकदमै बृहत छ। यसभित्र धेरै प्रकारका कुरा छन् र कति त बुझ्न असम्भव नै छ। तर मानसिकतामा परिवर्तन नआएसम्म भेदभाव भन्ने कुरा समाजमा अवस्थित भई नै रहन्छ। सबै जना समान हुन् भन्ने कुरा हरेक नेपालीले स्वीकार नगरेसम्म भेदभावको अस्तित्व हाम्रो समाजमा रहिरहन्छ। समान समाजका लागि अब कति नेपाली छोराछोरीले ज्यान गुमाउनुपर्ने हो त? भेदभावको लडाइँ अझै कति लड्नुपर्ने हो? यस्ता प्रश्न त कति छन् कति।
भेदभाव भन्ने कुरालाई हामीले नै जन्म दिएका हौं र यो हामीले नै अन्त्य गर्न सक्छौं। हामी बाहुन, नेवार र दलित होइनौं। हामी सबै नेपाली हौं र सबै अट्ने समाजको निर्माणमा हामी अग्रसर हुनुपर्छ।
(अविशा भट्ट रातो बङ्गला स्कुलकी एसइई परिक्षार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)