सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनमा घरमा बसिरहँदा बाहिर घुमेका दिनहरू मनमा आउन थालेका छन्। ती दिन अझ गाढा भएर आउँछन्, जब अनलाइन कक्षाको लागि जुम अगाडि बस्छु।
कम्प्युटर स्क्रिनभरी साथीहरूका अनुहार देख्दा अचम्म लाग्न थालेको छन्। हामीसँगै हुन्थ्यौं, खेल्थ्यौं, कति बेस्सरी हास्थ्यौं। जुमले साथीहरूका अनुहारलाई जति अगाडि ल्याइदिए पनि न खेल्न पाइन्छ, न छुन।
लकडाउनका कारण हाम्रो अनलाइन कक्षा भइरहको छ। एक दिन कक्षा सकेर बिहानको खाना खाँदै गर्दा स्कुलको एउटा क्षणले कुत्कुति लगायो। ममीले किन हाँसेकी समेत भन्नुभयो।
त्यो गएको मंसिर ६ गतेको दिन थियो। प्रार्थना हुनुभन्दा अघि ट्वाइलेटभित्र छिरेका मेरा साथी कति बेरसम्म पनि बाहिर आएनन्। किन आएनन् भनेर भित्र छिरको त हल्का मेकअप भन्दै केटीहरू हाँसिरहेका थिए। कसैको हातमा लिपिस्टिक त कसेको हातमा आइलाइनर थियो। त्यो दिन हाम्रो विशेष थियो। त्यही भएर हामी अलि बढी उत्साहित थियौं।
कक्षा ८, ९ र १० का विद्यार्थीहरू शैक्षिक भ्रमण जादै थियौं। यस्तो भ्रमण हाम्रो स्कुलको क्यालेन्डर मै छ। विद्यार्थीहरूलाई शैक्षिक, धार्मिक, सांस्कृतिक स्थल तथा पुरातात्विक वस्तुको जानकारी गराउने उद्देश्यले यस्तो अवलोकन भ्रमण उपयोगी हुँदै आएको छ। त्यस दिन कक्षा ८ साथीहरू नुवाकोट, ९ कक्षाका लुम्बिनी र १० कक्षाका मौलाकालिका सिजीधाम लगिदै थियो।
म तिलौराकोट र लुम्बिनी जानेमा थिएँ। भ्रमण जाने कुराले मेरो मन प्रफुल्ल थियो। भ्रमण जाने दिन बिहान ५ बजे नै उठेँ। बिहानको नित्यकर्म सकेँ। स्कुल ड्रेस मै जानु पर्ने थियो। ममीले मेरो लागि खाना बनाइदिँदै गर्दा म कपडा लगाउन लागेँ।
साढे सातमा स्कुल पुग्नु पर्ने थियो। खाजा खाएर स्कुल गएँ। स्कुलमा साथीहरू जम्मा भइसकेका थिए। कक्षा १० र ८ का साथीहरू भने पहिले नै निस्किसकेका रहेछन्।
हाम्रो नियमित बिहानको प्रार्थना सुरू भयो। हाम्रो भ्रमणको बिदाई गर्न स्कुलका प्रधानाध्यापक लोकनाथ उपाध्यायसहित प्रदेश ५ का अन्य व्यक्तित्व उपस्थित हुनुहुन्थ्यो।
उहाँहरूले हाम्रो भ्रमणको शुभकामना दिँदै शैक्षिक भ्रमणको महत्वबारे बताउनुभयो। भ्रमणका बेला के-कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा उहाँहरूले भन्नुभयो।
प्रधानाध्यापकले हामीलाई भ्रमणमा जाँदा नचिनेको मान्छेले केही दिएमा नखाने, एक्लै नहिँड्ने, साथीहरूसँगै हिँड्ने, जे पायो त्यही नछुने, पोखरी पानी भएको ठाउँमा परैबाट हेर्ने जस्ता सुरक्षाका कुराहरू बताउनुभयो।
भ्रमण गर्ने ठाउँमा रहेको विभिन्न नियम पनि पालना गर्नुपर्छ भन्ने जानकारी गराउनुभयो। बसमा चढ्ने बेला केही कुरामा अलि दुःख लाग्यो। पहिलो कुरा हाम्रो भ्रमणमा कक्षा शिक्षक अर्जुन बस्याल सर हुनुहुदैनथ्यो। उहाँ भएको भए अझ रमाइलो हुन्थ्यो।
अर्को कुरा, साथीहरूलाई दुई बसमा बाँडेर राखियो। केही मिल्ने साथी अर्को बसमा बस्नु पर्र्यो जसले गर्दा केही मिस गरे जस्तो लाग्यो। हामी यात्रामा निस्किँदा साढे ९ भइसकेको थियो।
हामीले बसमा निकै रमाइलो गर्यौं। साथीहरूले एकपछि अर्को गर्दै गीत सुरू गरे। दोहोरी पनि चल्यो। बस मै नाच्यौं। सरहरूलाई पनि नचायौं। फोटो र भिडिओ पनि खिच्यौं। साथीहरूले चाउचाउ, कुरकुरे, लेजका प्याकेट फोर्न थाले। सुन्तला र स्याउ चपाउन सुरू भयो।
तिरौलाकोट पुग्न करिब २ घण्टा लाग्यो। हामीले पानीचराबाट अवलोकन सुरू गर्यौं जुन तिलौराकोटभन्दा वरै थियो। त्यहाँको खोलामा पानीचराहरू निकै रमाइरहेका थिए। हामी जमिनमा खेलेजस्तै उनीहरू पानीमा खेलिरहेका थिए।
पानीचरा निकै अचम्मका हुँदारहेछन्। यिनीहरू मौसमअनुसार बसाइसराई सर्छन् रे। विज्ञान पढाउने सरले यस बारेमा जानकारी दिनुभयो। उहाँले हामीलाई ‘हाइड्रा’ पनि देखाउनुभयो। यो कुरा हामीले बयोलोजी विषयमा पढेका थियौं। त्यहाँ घुम्ने अन्य ठाउँ खासै थिएनन्। त्यहाँ ठूलो पार्क पनि थियो। हामीले पार्कमा गएर फोटो खिच्यौं। झन्डै आधा घण्टा त्यही बितायौं।
हामी त्यहाँबाट तिलौराकोट मै रहेको गौतमबुद्धको भत्किएको घरमा गयौं। त्यहाँ अन्य विद्यालयका विद्यार्थीहरू पनि आएका थिए। गौतम बुद्ध बसेको घरको इँटाहरूको चिनो मात्र थिए। त्यो देखेर पुरानो इतिहासको कुरा याद आयो।
तिलौराकोट भनेको सिद्धार्थ गौतम बुद्ध युवाअवस्था बिताएको ठाउँ हो। हामीले पढेअनुसार उनले त्यहाँ २९ वर्ष बिताएका थिए। हामीले त्यहाँकाे सानो संग्रहालय पनि घुम्यौं। त्यो संग्रहालयमा उत्खननबाट निस्केका विभिन्न वस्तु राखिएको थियो। संग्रहालयमा गौतम बुद्धका पुराना मूर्तिका फोटा, तामा, पेन्टिङ जस्ता सामग्री राखिएका थिए।
संग्रालय छेउ अर्को एक घर थियो। त्यस घरको कोठाभित्र गौतमबुद्धका पेन्टिङ थिए। मलाई ती सामग्रीहरू देखेर निकै रमाइलो लाग्यो। मैले ती सामग्रीसँग फोटो खिच्न के लागेकी थिएँ, त्यहाँको गार्ड दाइले हामीलाई गाली गर्नुभयो। भित्र फोटो खिच्न मनाइरहेछ। संग्रहालय घुमेर बाहिर निस्केर पछि केहीबेर आराम गर्यौं। त्यहाँ हामीले पकौडा र चिया खायौं।
हाम्रो भ्रमणको अर्को ठाउँ लुम्बिनी थियो। हामी संग्रहालयको भ्रमणपछि लुम्बिनीको लागि निस्कियौं। तिलौराकोट लुम्बिनीबाट २४ किलोमिटरको फरकमा छन्। लुम्बिनी पुग्दै गर्दा स्थानीयले खेतबारीमा काम गरेको देखिन्थ्यो। खेतबारीमा काम गरेको देखेर मनमा खुसी लाग्यो।
उनीहरूको उत्पादनले नै हाम्रो भान्सा चलेको छ। हामीले पढ्ने किताबको ज्ञान र किसानको सीपलाई मिलाउन सक्ने हो भने राम्रो उत्पादन हुन्छ जस्तो लाग्छ। त्यो ठाउँ विकसित र पर्यटकीय क्षेत्र भए पनि मैले विद्यालयहरू भने देखिनँ। त्यहाँ शिक्षाको कमी छ कि जस्तो लाग्यो किनभने घरको सटरमा विद्यार्थीहरू पढिरहेका थिए। कतै त्यो ठाउँ बत्तिको अँध्यारो भनेजस्तै त छैन? भन्ने मनमा शंका लागिरहेको छ।
बुटबल मै बस्ने भए पनि मेरो यो लुम्बिनीको पहिलो भ्रमण थियो। त्यसैले पनि त्यहाँको बारेमा सुनेको कुरासँग मैले मेरा आँखा दाजिरहेकी थिएँ। हामीहरू गेटबाट लुम्बिनी भित्र छिर्यौं। हिँड्दै, वरिपरि हेर्दै गर्यौं। त्यहाँ छिर्दै गर्दा एउटा कुरा भने नरमाइलो लाग्यो। कचौरा लिएर माग्दै हिँडेकाहरूले मेरो आँखा तान्यो।
गरिबी उनीहरूको बाध्यता होला तर भ्रमणमा गएका जो कोहीलाई यो दृष्यले पक्कै ‘डिस्टर्ब’ गर्छ। उनीहरूलाई हामीले केही सहयोग पनि गर्यौं। हामीसँग भएको खानेकुरा दियौं। मलाई त्यहाँका मन्दिरहरू देख्दा मनमा आनन्द लाग्यो। विभिन्न डिजाइनमा मन्दिर, गुम्बा बनाइएका रहेछन्। बुद्धका मूर्तिहरु, स्तुपा, खुला चउर देख्दा मन शान्त भयो। गौतम बुद्धबारे पढेका पहिलेका कुराहरू मनभरी आए।
केहीबेरको घुमाईपछि एक शान्त चउरमा गएर बस्यौं। हामीसँग रोटी, मकै, चाउचाउ जस्ता खानेकुरा थिए। खाजा खाँदै गर्दा एउटी आमा काखमा सानो छोरी बोकेर आइन्।
‘मलाई केही खाने कुरा दिनुन,’ ती आमाले भनिन्। हामीले आफ्नो भागबाट केही खाना उहाँलाई दियौं।
हामीले त्यहाँ केही बेर रमाइलो पनि गर्यौं। फोटो खिच्यौं। टिकटक बनायौं। त्यहाँ घुम्न आएका विदेशीहरूले लुम्बिनीको निकै तारिफ गरिरहेका थिए।
‘इट्स द प्लेस अफ गौतम बुद्ध,’ एक जना विदेशीले भन्दै थिए, ‘इट्स भेरी पिसफुल प्लेस।’
विदेशीको यस्तो कुरा सन्दा आफ्नो देशप्रति गर्व महशुस हुँदो रहेछ।
लुम्बिनीको मुख्य आकर्षण भनेको मायादेवी मन्दिर हो। हामी जुत्ता खाेलेर मन्दिर भित्र गयौं। पुराना वस्तुहरू रहेछन्। त्यहाँ बोल्न पाइँदैनथ्यो। फोटो खिच्न पनि नपाइने रहेछ। हेर्नेको लाइन लामो थियो। त्यहाँ गौतम बुद्धका भत्केको मूर्तिहरू थिए। पैसा चढाएपछि मनको इच्छा पूरा हुन्छ भन्ने भनाई रहेछ। त्यहाँ नेपाली पैसादेखि डलरहरू देखिन्थे।
बुद्ध जन्मेको थलोमा मायादेवी मन्दिर छ। मन्दिरसँगै एउटा पोखरी छ। अशोक स्तम्भ छ। यो बुद्ध जन्मस्थलको प्रमाण हो रे। पोखरीको छेउमा भने दियो बलिरहेको थियो। त्यो दियो कहिल्यै पनि निभ्दैन रे। हामी त्यहाँबाट बाहिर निस्कने तरखर तिर लाग्यौं। झन्डै २० मिनेटसम्म लाइन लागेर हिँड्दै बाहिर निस्कियौं।
त्यहाँका अन्य ठाउँमा पनि घुम्ने इच्छा थियो तर हामीसँग समय थिएन। एक दिनको भ्रमण भएकाले मनको इच्छालाई मन मै राखेर घर फर्कियौं।
अहिले लकडाउनमा घर बस्दा ती दिन मनमा आइरहेका छन्।
(सुरूची पौडेल न्यू होराइजन माध्यमिक विद्यालय, बुटवल कालिकानगरमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)