सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम भियना पौडेल हो। अहिले म जेनेभामा बस्छु। मेरो बाबा जेनेभामा रहेको नेपालको स्थायी नियोगमा काम गर्नुहुन्छ। मेरो मामु पनि सरकारी सेवामा हुनुहुन्छ। हाल बिदामा जेनेभामै हुनुहुन्छ।
मेरो भाइ यही फ्रबुअरी १० मा जन्मेको हो। मेरो भाइको नाम भेनिस पौडेल हो। भाइ जन्मिँदा बाबा र म मात्र थियौ। नेपालबाट हजुरबुबा-हजुरआमा आइपुग्नु भएको थिएन। हामीलाई सजिलै भयो। हस्पिटलको नर्स डाक्टरहरूले एकदमै सहयोग गर्नुभयो। भाइलाई हस्पिटलबाट घर ल्याएको दिन नेपालबाट मेरो मामाघरको हजुरबुबा हजुरआमा पनि आउनुभयो। अनि हामीलाई एकदम सजिलो भयो।
हजुरबुबा हजुरआमा मलाई स्कुल पुर्याउन जानुहुन्थ्यो र जेनेभा वरिपरि घुमघाम गर्नुहुन्थ्यो। त्यही बेला जेनेभामा पनि चीनबाट आएको कोरोना भाइरस देखियो र हामी घरभित्रै बस्न बाध्य भयौं।
म यहाँ तीन कक्षामा फ्रेन्च स्कुलमा पढ्छु। सोमबार, मंगलबार, बिहीबार र शुक्रबार फ्रेन्च स्कुल जान्छु। बुधबार भने अंग्रेजी स्कुल जान्छु। म रमाईरमाई स्कुल गइरहेकी थिए, त्यही बेला कोरोना आइहाल्यो। मार्च १५ देखि मेरो दुवै स्कुल बन्द भए। जेनेभामा लकडाउन भयो खानेकुरा किन्न मात्र हामी बाहिर गयौं। अरू बेला घरमै बस्यौं।
समयसमयमा हामीलाई फ्रेञ्च स्कुलले गृहकार्य पठाइदिने गर्थ्यो। त्यस्तै, अंग्रेजी स्कुल भने जुममार्फत घरमै बसेर अनलाइन कक्षा हुन्थ्यो। मे ११ पछि भने मेरो फ्रेञ्च स्कुल सुरू भएको छ। दुई महिनापछि स्कुल जान पाउँदा र साथी भेट्दा म एकदम खुसी भएँ। अंग्रेजी स्कुल १० जुनबाट सुरू हुने भनेको छ। हाल यहाँ कोरोना पनि घट्दै गइरहेको छ। बिस्तारै हामी पनि घर बाहिर निस्कन थालेका छौं।
यहाँ गर्मी सुरू भएकाले सबैतिर हरियाली छ। एकदम रमाइलो वातावरण छ। यहाँका पार्कमा बालबालिकालाई पनि खेल्न पिङ, स्लाइडिङ्ग पनि राखिदिएकाले मलाई धेरै मन पर्छ।
यहाँ धेरै ठूलो जनेभा लेक छ। धेरै सुन्दर छ। सबै मान्छे यो ताल किनारमा जान मन पराउँछन्। मलाई पनि बाबाले बिदाको दिन कहिले पार्क त कहिले तालको छेउ लैजानुहुन्छ। मलाई पौडी खेल्न पनि एकदम मन पर्छ। यहाँ सबैतिर सफा छ। मानिसहरू बिस्तारै बोल्ने र सबैलाई नजिक आउँने बित्तिकै फ्रेञ्च भाषामा नमस्कार गर्छन्। बुढाबुढी पनि एक्लै हिँडेको देख्दा भने यहाँ हाम्रोमा जस्तो परिवारको कम महत्व भएकाे होकी भन्ने लाग्छ।
कोरोनाले गर्दा हजुरबुबा हजुरआमालाई पनि धेरै गाह्रो भयो। उमेर धेरै भएकाले बाहिर निस्कन घुमघाम गर्न पाउनु भएन। अहिले विस्तारै कहिलेकाहीँ थम्ले पार्क जानुहुन्छ। अहिले आमाबुवा थम्ले पार्क, जेनेभा लेक, फ्लावर कलक पनि जानुहुन्छ। चेस पार्क पनि जानुहुन्छ।
मेरो भाइ अहिले चार महिनाको भयो। म भाइसँग खेल्छु। भाइ हाँस्न थालेको छ। मसँग धेरै रमाउँछ। मैले गीत गाउँछु र भाइ हाँस्छ। म भाइको राम्रो ख्याल गर्छु। मैले कोरोनाको बिदालाई धेरै सदुपयोग गर्न पाएँ। मलाई ड्रइङ्ग गर्न धेरै मन पर्छ। त्यस्तै, यस समयमा चिया बनाउन सिकेँ। ममीलाई पनि भान्छामा सहयोग गरेँ। कोरोनाले गर्दा बाबामामुसँग सँगै बस्न पाएकोले खुसी भएँ।
मलाई मेरो जन्मदिन रमाइलोसँग मनाउन पाउछु कि पाउँदिन भन्ने चिन्ता लागिरहेको थियो। जेठ २४ मा जन्मदिन भएकाले र कोरोना पनि कम भएकाले धेरै पछि रमाइलो गर्न पाएँ।
मेरो हजुरबुवा हजुरआमा अहिले कोरोनाका कारण नेपाल जान पाउनु भएको छैन। कहिले नेपाल जान पाइन्छ भनेर कुरिरहनु भएको छ। यहाँ त कोरोना घट्यो तर नेपालमा कोरोना एकदम बढिरहेको छ। त्यसैले, मलाई एकदम चिन्ता लागेको छ। कोरोनाबाट बच्नका लागि बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ, भिडभाडमा जानु हुँदैन। साथै, बाहिर निक्लिँदा मास्क लगाउनु पर्छ।
अर्को वर्षसम्म विश्वबाट कोरोना हराउने छ। हामी सबै जना सजिलै स्कुल जान पाउनेछौं र बाहिर घुम्न जान पनि पाउनेछौं।
म यहाँ छु तर मलाई नेपालको धेरै माया लाग्छ। म अर्को वर्ष नेपाल जान्छु मलाई विश्वास छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)