सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सभ्यता निरौला हो। मेरो घर विराटनगर पिपल चौक वडा नं ४ मा पर्छ। परिवारमा हामी ४ जना छौं- बाबामामु, म र सानो बुनु।
म कक्षा ४ मा सेन्ट मेरिज स्कुलमा पढ्छु। मलाई मेरो स्कुल धेरै मन पर्छ। मेरो बुनु यही नजिकैको किड्स वोर्लड बोर्डिङ स्कुलमा पढ्छिन् जुन मेरो पनि स्कुल थियो कक्षा १ सम्म। स्कुलको अन्तिम दिन हामी सबैलाई म्यामले क्लासमा आएर घरमा बस्नु, बहिर ननिस्किनु साबुनपानीले हात धुनु भनेपछि छुट्टी भयो भनेर सुनाउनुभयो। हामी सबैलाई खुसी लाग्यो। सफारीमा हामी साथीहरूको समूह गीत गाउँदै फर्कियौं।
घर आएपछि सधैं जस्तो साबुनपानीले हात धोएर भित्र छिरे र छुट्टीको खबर मामुलाई सुनाएँ। भोलिदेखि बुनु र म जे गर्दा नि साबुनले मिचीमिची २० सेकेन्डसम्म हात धुन थाल्यौं। त्यसमाथि स्यानिटाइजर नि लगाउथ्याैं। यसो गर्दा मजा आइरहेको थियो। सबै जनाले कोरोनाको मात्रै गफ गर्नुहुन्थ्यो। टिभीबाट पनि कोरोनाको मात्र समाचार आएकाले डर पनि लागेको थियो।
फोन गर्दा पनि कोरोना भाइरस बारेमा धेरै भनेको सुन्दासुन्दा लकडाउन भएको एक हप्ताभित्र मलाई अलिअलि कुरा थाहा भयो। जस्तै पटकपटक हात धोए, मास्क लगाए, घर बाहिर ननिस्किए यो कोरोना भाइरसले छुँदैन रहेछ। यति गर्दा हामी सुरक्षित हुने रहेछौं।
लकडाउन हुनुभन्दा अगाडि म उठेर दूध खाएपछि पढ्थेँ र ९ बजे स्कुल जान्थेँ। आएर हात मुख धोएर खाजा खाएपछि होमवर्क गर्थेँ। बुनु उठेपछि बुनुसँग खेल्थे र बेलुका खाएपछि सुत्थेँ। पहिले शनिबार आउने बितिकै हामी स-परिवार घुम्न फन पार्क मामाघर र चादबेला जान्थ्यौं। सामान किन्न जान्थ्याैं तर अहिले कहीँ जान पाएको छैन।
आजभोलि हामी सबै जना घरमा योग गर्छौं। मामुबाबा हामीसँग खेल्नुहुन्छ। कहिलेकाहीँ म र बुनु टिकटक पनि बनाउँछौं। हामी लुडो खेल्छौं। अहिले हामी बाबासँग धेरै समय बिताउन सक्छाैं किनकी लकडाउनले गर्दा बाबा घरमै हुनुहुन्छ। अहिले मेरो अनलाइन क्लास पनि सुरू भएको छ। म अनलाइन क्लास पढ्दा मामु बुनुलाई पढाउनुहुन्छ। साँझ परेपछि छतमा गएर चिसो हावाको मजा लिन्छौं।
मेरा साथीहरू पनि आफ्नो घरको छतमा आउने भएकाले हामी छतबाटै गफ गर्छाैं। अहिले मेरो रूटिन सबै फेरिएको छ। लकडाउनमा मैले मामुबाट धेरै काम गर्न सिकेँ। अहिले मलाई रोटी बेल्न आउँछ, टमाटरको अचार बनाउन आउँछ। मैले युट्युब हेरेर ओरियो बिस्कुटबाट आइसक्रिम बनाउन पनि जानेँ। मामुलाई काममा पनि सहयोग गर्छु।
आजभोलि लकडाउन भएर आफ्नो परिवारसँग रमाइलो गरी बिताइरहेकी छु। लकडाउन अगाडि मेरा साथीहरू पनि हाम्रो घरमा खेल्न आउँथे। हामी सँगै बसेर काम गर्थ्याैं। लकडाउन लामो भएकाले म स्कुल, मेरा साथी र अरू धेरै जनालाई मिस गर्छु। अहिले संसार चुनौतीको समयमा गइरहेको छ।
तपाईंहरू पनि म जस्तै घरैमा बस्नु होस् र समाचारमा भनेको कुरा मान्नु होस् भन्न चाहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)