सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विक्रम सम्वत २०७६ को अन्त्यतिर कोभिड १९ भन्ने रोग चीनमा देखा पर्यो। त्यहाँबाट सर्दै यो रोग संसारको धेरै देशमा फैलियो।
यो भाइरसको औषधि तथा खोप पत्ता नलागेको कारण र एक व्यक्ति बाट धेरैमा सर्यो। अहिले लाखौं मान्छेलाई यो रोग लागिसकेको छ र ४ लाखभन्दा बढी मान्छेको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारीको संज्ञा दिएको छ। यसबाट बच्न अरू देश जस्तै नेपालले पनि सबै जनालाई बाहिर नगई आ-आफ्नै घरमा बस्नुपर्ने नियम बनाएको छ। यसरी घरभित्रै बस्नुपर्ने अवस्थालाई लकडाउन भनिन्छ।
रोगलाई नियन्त्रण गर्न सरकारले कडा कानुनको व्यवस्था गरेको छ। त्यतिकै बाहिर हिँड्ने मानिसलाई सजाए तोकिएको छ। लकडाउन लागू भएको पनि २ महिनाभन्दा बढी भइसकेको छ। आपतकालीन अवस्थामा मात्र सम्बन्धित निकायलाई खबर गरी बाहिर निस्कन मिल्छ।
लकडाउन सुरू हुनुभन्दा अगाडि मानिसहरू आफ्नै धुनमा व्यस्त थिए। हाम्रो वातावरण तथा प्रकृतिको कसैलाई वास्ता नै थिएन। प्रतिस्पर्धा र विकासका नाममा चौबीसै घण्टा धुवाँ उत्पादन गर्ने, कलकारखाना निर्माण गर्ने, प्लास्टिकको अनावश्यक प्रयोग गर्ने, अत्याधिक जमिन उत्खनन गरि पेट्रोलियम पदार्थ निकाल्ने जस्ता कारणले गर्दा हाम्रो प्यारो पृथ्वीको तापक्रम बढिरहेको थियो। यसको बारेमा कसैलाई चासो नै थिएन।
हामी यति व्यस्त थियौं की आफ्नै परिवारसँग बोल्ने र सँगै खाने समय पनि निकाल्न गाह्रो थियो। लकडाउनले गर्दा हामी सबैको जीवनमा परिवर्तन आएको छ। मोटर गाडी, हवाईजहाज, उद्योगहरू बन्द भएकाले हामीले स्वच्छ हावामा सास फेर्न पाइरहेका छौं। हाम्रो वातावरण सफा हुनाले हामीले सुन्दर हिमाल तथा पहाड देख्न थालेका छौं। हामीले आफ्नो परिवारको मायाको महशुस गर्न पाएका छौं। लकडाउनले हाम्रो प्रकृतिको सुन्दरता फिर्ता ल्याएको छ।
अंग्रेजीमा 'टेकन फर ग्रयान्टेड' भनेको जस्तै जुन सुख सुविधा हामीले पाइरहेका थियौं, त्यसप्रति हामी कृतज्ञ नै थिएनौं। अहिले संसारको समाचार हेरेर जुन अभाव देखेका छौं त्यसले गर्दा भोक लाग्दा खान पाउनु, आफ्नो घरमा सुत्न पाउनु, गाडी चढेर विद्यालय जान पाउनु भनेको ठूलो कुरा रहेछ भनेर बुझ्न पाएका छौं।
विश्वमा लाखौं मान्छे कोभिड १९ बाट पीडित छन्। उपचार पाउन सकेका छैनन्। यस्तो अवस्थामा हामी आफ्नो परिवारसँग बस्न र बाँच्न पाउँदा कृतज्ञ हुनुपर्छ। यो रोगले हामीलाई जस्तोसुकै अवस्थामा पनि हिम्मत नहारिकन बहादुर भएर एक आपसमा सहयोगको भावना बढाएर धैर्य राख्दै अगाडि बढ्नुपर्छ भनेर सिकाएको छ।
अन्त्यमा, लकडाउनमा हामीलाई दु:ख र पीडा मात्रै होइन धेरै सकारात्मक कुरा पनि सिकाएको छ। यो रोगले न महिला वा पुरूष, न धनी वा गरिब, न जातजाति, न कुनै राष्ट्रियतालाई नै छुट्याउँछ। मेरो व्यक्तिगत जीवनमा अहिलेको अवस्थाले धेरै परिवर्तन ल्याएको छ। मेरा परिवार, गुरू अनि साथीहरू प्रति कृतज्ञ हुन सिकाएको छ।
सबैभन्दा महत्वपुर्ण कुरा, लकडाउन पछि पनि पृथ्वीको लामो आयुको लागि हामी सबै मानिस र अन्य प्राणी प्रकृतिसँग मिलेर अगाडि बढ्नुपर्छ। म यो लकडाउनलाई हामी सबै समान हौं भन्ने कुरा सिकाएकोमा धन्यवाद दिन चाहन्छु।
(सारा जोशी पुरी रातो बंगला स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)