सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
धेरैलाई मार्ने कोरोना,
नमीठो सम्झना।
हे कोरोना, तिमी कस्तो प्राणी हौ? न त तिमी आँखाबाट देखिन्छौं, न त कसैलाई चिन्छौं। तिमी जिउभित्र पसी हाल्छाैं कि भन्ने डर भइरहन्छ।
तिमीले धेरैलाई मार्नुको कारण खोज्दैछु म। त्यसैले यो पत्र म तिमीलाई लेख्दैछु।
कोरोना अहिले तिमी विश्वभर फैलिसकेका छौ। तिमी कसरी फैलिन्छौ, कहाँबाट फैलिन्छौं यो कसैलाई पनि ज्ञात छैन। किन तिमी यस्तो गर्छौ?
अहिले तिमीले गर्दा धेरै मानिस घरमा बसिरहेका छन्। तिमी हावामा पाइन्छौ, पानीमा पाइन्छौ, जनावरमा पाइन्छौ, बोटबिरूवामा पाइन्छौ, माटोमा पाइन्छौ, समस्त संसारमा पाइन्छौ। अहिले तिम्रो डरले सबै मानिसहरू आफ्नो घरमा बसिरहेका छन्। बेरोजगारी बढिरहेको छ। मानिसहरू खान नपाएर भोकले मरिरहेका छन्।
हे कोरोना! तिमीले यति धेरै मानिसमा डर उत्पन्न गरेर के पायौ? तिमी आइसकेको छ महिना भइसकेको छ। तिम्रो कारण हालसम्म विश्वभर करिब चार लाख मानिस मरिसकेका छन्। तिमी यो संसारमा आएपछि संसारको सबै ठाउँमा भोकमरी फैलिएको छ। मानिसहरू घरमा गएर राहत मागिरहेका छन्। अब त विश्वमा चोरी डकैती हुने सम्भावना पनि छ।
मेरो एक प्रश्नको जवाफ देऊ कोरोना। तिमीले यसो गरेर के पायौ? तिम्राे काम अरूको ज्यान लिने मात्र हो? के उद्देश्यले तिमीले मानवजातिलाई पृथ्वीबाट हटाइरहेका छौ? आशा छ तिमी अवश्य नै मेरो पत्र पढ्ने छौ र यसको जवाफ छिटै दिनेछौ। अहिले म जिउँदै छु। त्यसैले तिमीलाई यो चिठी लेख्ने क्षमता आएको छ। तिमी पनि मलाई यस्तै पत्रमा लेखेर जवाफ देऊ। आफूचाहिँ त्यस पत्रमा बसेर नआऊ नत्र म पनि संक्रमित हुनेछु। मलाई जवाफ दियौ भने मैले सबैलाई यसको कारण बताउन सक्नेछु। अहिलेलाई यतिमै कलम बन्द गर्छु।
तिम्रो सर्वश्रेष्ठ शत्रु,
मानवजाति।
...
कोराेनाकाे जवाफ:
मेरो सर्वश्रेष्ठ शत्रु,
मानवजाति।
हिजो तिमीले पठाएको पत्र मैले पढेँ। तिम्रो त्यस पत्रमा मैले अनेकौं प्रश्नहरू देखेँ। हो, आज ती प्रश्नहरूको जवाफ यस पत्रमा लेख्न गइरहेको छु।
प्रकृतिले मानवजातिलाई सर्वश्रेष्ठ प्राणी बनाएको छ। तिमीहरूले पृथ्वीमा बस्ने जीवहरूको रक्षा गर्नुभन्दा तिनीहरूलाई आफ्नो दास बनाइरहेका छौ। कतिसम्म स्वार्थी हुनसकेको हौ तिमीहरू हँ? आफ्नो स्वार्थका लागि तिमीहरूले धर्ती मातालाई उजाडिरहेका छौ। आफ्नो बसाईको लागि तिमीले जनावरको बसाई उजाड गरिरहेका छौ। कति रूख, विरूवाहरू काटेर तिनिहरूको ज्यान लिइरहेका छौ। त्यति मात्र होइन प्रकृतिले जति फलफूल, तरकारी दिए पनि तिनीहरूलाई अन्य रसायनसँग मिसाएर उद्योगमा त्यसलाई मीठो तर स्वास्थ्यलाई हानी पुर्याउने खाना बनाउँछौ। उद्योगबाट निस्कने धुलो-धुँवाले हावालाई प्रदूषित पारिरहेको छौ।
तिमीहरू आफ्नो स्वार्थका लागि बोटविरूवा र जनावर मात्र नभएर मानिसलाई पनि मारिरहेका छौ। उद्योगधन्दामा बनाइने फास्ट फुडहरूले मानिसलाई विभिन्न रोग निम्त्याएको छ। तिमीहरूको यो दुर्दशा देखेर म तिमीहरूलाई तिमीहरूको गल्तीको महशुस दिलाउन आएको हुँ।
दिनभर अफिसमा काम गरेर राति मात्र तिमीहरू आफ्नो परिवारसँग समय बिताउन पाउँछौ। राति पनि घरबाट काम गर्छौ। मानिसहरू बीचको भावना देखेर म यहाँ आएको हुँ।
काममा व्यस्त हुने तिमीहरूलाई आफ्नो परिवारसँग घुम्न, समय बिताउने समय हुँदैन। कुनै चाडपर्व मनाउँदा पहिलापहिला मानिसहरू एकै ठाउँमा भेला भएर मनाउँथे। अब त इन्टरनेटको आविष्कार भएपछि कसैले पनि एउटै ठाउँ भेला भएर चाडपर्व मनाउँदैनन्। यसरी तिमीहरू बीचको भावना घट्दै गएको देखेर मैले यस्तो गरेको हुँ। तिमीहरूले तोकेका कति नेता आफ्नो जनतालाई पैसाको निम्ति बेच्न तयार रहन्छन्। पैसाले लोभिएका यी भ्रष्टाचारी नेताहरू आफ्नो देश बेच्न समेत तयार रहन्छन्। यही कारणले मलाई तिमीहरूको निर्दयी शरीरमा आउन बाध्य गराएका हुन्।
अहिले म आएपछि तिमीहरू आफ्ना जागिर छाडेर आ-आफ्ना परिवारसँग बसिरहेका छौ। मेरो डरले भए पनि तिमीहरूले आफ्नो काम नगरीकन परिवारसँग बस्न सिकिरहेका छौ। बिस्तारै तिमीहरू बीच भावना विकसित भइरहेको छ। अहिले म पृथ्वीमा आएपछि हावामा धुलो-धुँवा फालिन रोकिएको छ। प्रकृति विस्तारै सफा हुँदै गएको छ। तिमीहरू घरमा बसेपछि नेताहरूले जनतालाई राहत वितरण हुने भएकाले भ्रष्टाचार गर्न पाएका छैनन्। कति नेतालाई आफ्नो जनताको सेवा गर्ने भावना मनबाट आइरहेको छ।
सायद तिमीले आफ्नो सबै प्रश्नको उत्तर पायौ। म तिमीहरूलाई तिमीहरूको गल्तीको महशुस दिलाउन यहाँ आएको हुँ। यदि तिमीहरू अब पहिलेजस्तै स्वार्थी हुँदैनौं भने एकअर्का बीचको भावना गहिरो राख्यौ भने, म बिस्तारै यहाँबाट जानेछु। आजलाई यत्ति नै।
तिम्रो भावी शत्रु,
कोरोना भाइरस।जठ
(उद्धव ठाकुर बुढानीलकण्ठ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)