सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
२०७६ चैत महिना सुरू हुनै लागेको थियो। जाडो सकिएर वसन्त ॠतुको आगमन भइसकेको थियो। रूख विरूवाहरूमा नयाँ पालुवासँगै नयाँ उत्साह र अर्को कक्षामा जाने खुसी पलाउँदै थियो।
म कक्षा नौको अन्तिम परीक्षाको तयारीमा थिए। कक्षामा सरहरूले परीक्षालाई केन्द्रित गरेर पठनपाठन गर्नु भएको थियो। अचानक साधारण दिन चर्या खल्बल्याउँदै एउटा भयावह भाइरस चीनबाट उत्पन्न भयो।
चीनको वुहान सहरबाट सुरू यो महामारी विश्वमा फैलिँदै गयो। यो सरूवा रोगले धेरैको ज्यान पनि लिँदै गयो। तब सबै मानिसले यो रोग कति खतरनाक रहेछ भन्ने थाहा पाए। विभिन्न देशमा फैलिसकेको कोरोनाले दैनिक हजारौं मानिसको ज्यान लिन थाल्यो। युरोपतिर त लासको थुप्रो लगेको समाचारले साह्रै भयवित बनायो।
मेरो कक्षा ९ को अन्तिम परीक्षा चैत १२ गतेबाट थियो। हाम्रो देशमा पनि यो भाइरस अछुत रहेन। त्यसैले परीक्षा अचानक फाल्गुन २९ बाट नै सुरू हुने निर्णय भयो। यति बेलासम्म संसारका विकसित देशमा कोरोना धेरै मानिसमा फैलिसकेको थियो। चीनबाट आएका एक नेपालीलाई पनि यो संक्रमण देखिएर निको भइसकेको थियो। डर, त्रास सँगसँगै हामीले परीक्षा दियौं। चैत ५ गते हाम्रो परीक्षा सम्पन्न भयो र बिदा भयो।
एउटा भाइरसले समयलाई आफ्नो वंशमा पार्यो। घर मै बसेर मैले कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्नेबारे विभिन्न प्रसारण पत्रपत्रिकाबाट सिक्न पाएँ। आफ्नो हात साबुनपानीले धुने वा अल्कोहल मिसाइएको स्यनिटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी बढाउने गरेमा यो रोग सर्न नसक्ने रहेछ। हामीले भिडभाड नगर्ने र सरसफाइमा ध्यान दिने हो भने घरमै बस्दा हुने रहेछ भन्ने जानकारीले ढुक्क बनायो। डराउनुभन्दा सावधानी अपनाउनु मुख्य कुरा रहेछ।
स्कुल बिदा भएपछि म र मेरो बहिनी घर बाहिर ननिस्किकन घरमै बस्यौं। बेलुका समाचार हेर्दा कोरोना संसारको वस बाहिर गइसकेको समाचार आउँथ्यो। यसैक्रममा हाम्रो छिमेकी मुलुक भारतमा पनि फैलिन थालेको समाचार आयो। चैत १० गते नेपालमा एक जना युवती जो बाहिर देशबाट आएकी थिइन्, उनलाई संक्रमण पुष्टि भयो। त्यही दिन राति ८ बजे सरकारले नेपालमा चैत ११ गतेदेखि लकडाउन हुने निर्णय गर्यो।
बाबा दिल्लीबाट बागडुग्रा हुँदै बिर्तामोड घरमा आइपुग्नु भएको थियो। लकडाउनले उतै बस्नु पर्ने भयो। मामुको अफिस पनि बन्द भएकाले बहिनी, मामु र म काठमाडौंमा रह्यौ। घर बाहिर जान नमिल्ने कोहीसँग भेटघाट नहुने हुँदा कोरोनाको डर चाहिँ कम हुँदै थियो। जबसम्म हामी बाहिर जाँदैनौ तबसम्म कोरोन हाम्रोमा आउँदैन भन्ने सिद्धान्तलाई पलना गर्दै घरमा बस्न थाल्यो। एक-दुई दिन गर्दै दिन बित्दै जाँदै थियो, तर दिन बित्दै जाँदा कोरोनाको असर दैनिक ज्यालादारीमा काम गरी गुजारा गर्ने मानिसमा देखियो। मानिसहरू खान नपाएर भोकभोकै पर्दा, बस्ने ठाउँ नभएर खुला आकाशमुनि चिसो भुइँमा बसेको, १५ दिन लगाएर घर पुगेको समाचारमा देख्दा मन्न साह्रै दुख्यो। के गर्नु हाम्रो वशको कुरा थिएन।
हामी घरभित्र थुनिएपछि मामुले केही गर्नुपर्छ भन्नुभयो। त्यस बीचमा मैले आफैं नृत्य गर्न थाले। मैले बहिनीलाई पनि नृत्य सिकाएर केही नृत्य युट्युब च्यानल बनाएर त्यसमा राखेको छु। कोरोना भाइरसको कारण हाम्रो दैनिकी सामान्य त भएन तर यसले हामीलाई केही कुरा सिक्ने मौका मिल्यो। केही सकारात्मक कुरा सिक्ने मौका पाइयो। आफू स्वयमसँग समय बिताउन सिकायो। परिवारसँग धेरै समय बिताउन पाइएको छ। बाहिरतिर गएर खाने जंक फुडभन्दा घरमै खाना बनाएर खान सिकाएको छ।
हरेक परिस्थिति हाम्रो चाहनाअनुसार नचल्ने रहेछ। त्यसैले जस्तो परिस्थिति आउँछ त्यसै गरी आफ्नो मनोबल उच्च बनाएर चल्नु पर्ने रहेछ। जस्तोसुकै परिस्थितिलाई सजिलो बनाएर जीवनलाई सन्तुलनमा राख्नु पर्ने रहेछ। समय नभएर चाहेको काम गर्न पाएको छैन भने त्यो काम पूरा गर्ने समय मिलेको छ। फुर्सदलाई सदुपयोग गर्न सकिन्छ भन्ने कुरा सिकाएको छ। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो मनोबल उच्च बनाउनु पर्ने रहेछ। साथै, आफूभित्र शान्ति र धैर्यता राख्नु पर्ने रहेछ।
मानिसको स्वास्थको लागि उपयोग गर्नुपर्छ भन्ने पाठ सिक्न पाइयो। यो समय मैले घरको सरसफाइको काम सँगै मामुसँग खाना पकाउन सिक्ने मौका पाएँ। सबै जना मिलेर घरको छतमा विभिन्न खेल लुडो, गट्टी, बल जस्ता खेलहरू खेलेर दिनलाई रमाइलोसँग समाप्त गर्छौं।
(अन्तरा घिमिरे कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)